
शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा १२ को परीक्षा दिएका विद्यार्थी नतिजाको पर्खाइमा छन्। २१ वैशाखदेखि २ जेठसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९५ हजार ९०८ नियमित र १ लाख १५ हजार ६१७ आंशिक गरी ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी थिए। अक्सर, विद्यालय शिक्षाको अन्तिम खुड्किलो पार गरी उच्च शिक्षाको ढोका प्रवेश गर्ने बेला विद्यार्थीलाई अब कुन विषय पढ्ने? कहाँ पढ्ने? भन्ने प्रश्नले सताउने गरेको छ। अभिभावक पनि यी प्रश्नले पिरोलिने गरेका छन्।
अहिलेको चरणमा अधिकांश विद्यार्थी आफ्नो रुचि, क्षमता, पारिवारिक अपेक्षा, रोजगारीका सम्भावना तथा आर्थिक अवस्था जस्ता पक्षको मूल्याङ्कन गर्दै सही निर्णय लिन संघर्षरत छन्। यो अवस्था स्वाभाविक भए तापनि समयमै सोच्न र योजना बनाउन सकिएन भने भविष्यमा अन्योल, निराशा र हतारो निर्णयको जोखिम बढ्न सक्छ।
प्रयोगशील समय
गत वैशाख–जेठमा सम्पन्न कक्षा १२ को राष्ट्रिय परीक्षाको नतिजा आउन अझै केही दिन बाँकी छ। परीक्षा र नतिजा बीचको झण्डै तीन महिनाको यो अन्तराल केवल नतिजा पर्खेर बिताउने समय हो त? कि जीवन निर्माणको आधार तय गर्ने अवसर? सामान्यतः फुर्सदको समय जस्तो देखिने यो अवधि वास्तवमा आत्मचिन्तन, योजना निर्माण र व्यक्तिगत विकासको सुनौलो मौका हो। यदि विवेकपूर्ण ढंगले यसलाई सदुपयोग गर्न सकियो भने विद्यार्थीले आफ्नो रुचि, क्षमता र सम्भाव्य अध्ययन वा करिअरको स्पष्ट खाका तयार गर्न सक्छन्।
यो प्रतीक्षाको समयलाई सीप विकास, पढ्ने बानीको सुदृढीकरण, करिअर अनुसन्धान र लक्ष्य निर्धारण, भाषा तथा प्रविधि सीपमा लगानी, सामाजिक संलग्नता र योगदान जस्ता उत्पादक र प्रेरणादायी बनाउने केही कार्यहरूमा उपयोग गर्नुपर्छ। यस्ता गतिविधिले नतिजापछि हुने अन्योललाई मात्र घटाउँदैनन्, भविष्यप्रति आत्मविश्वासको निर्माण पनि गर्छन्।
आत्ममूल्यांकन र आत्मचिन्तन
कक्षा १२ को परीक्षा सकिएपछि विद्यार्थीका लागि पहिलो र अत्यन्त महत्वपूर्ण कदम हो आत्ममूल्यांकन। यसले केवल परीक्षाको नतिजा अनुमान गर्न होइन, सम्पूर्ण अध्ययन यात्राका सफलता र चुनौतीको गहिरो समीक्षा गर्न मद्दत गर्छ। आफू कुन विषयमा आत्मविश्वासपूर्वक प्रस्तुत भएँ? कुन विषयमा डर, अन्योल वा कमजोरी महसुस भयो? समय व्यवस्थापन, तयारी शैली, नोट लेख्ने तरिका र अभ्यास विधि कत्तिको प्रभावकारी थियो? यस्ता प्रश्नहरूको स्पष्ट उत्तर खोज्नु अत्यावश्यक हुन्छ।
तर आत्ममूल्यांकन भनेको केवल अंकको लेखाजोखा होइन। यो त आफूभित्रका क्षमता, रुचि र सुधारका क्षेत्रहरू पहिचान गर्ने अवसर हो। धेरै विद्यार्थी कमजोरी स्वीकार गर्न हिचकिचाउँछन्, तर आत्ममूल्यांकनले ती पक्षहरूलाई स्वाभाविक रूपमा स्वीकृति दिन र सुधारका उपायहरू खोज्न उत्प्रेरित गर्छ।
यस क्रममा विद्यार्थीले आफ्नै अनुभवको समीक्षा गर्दै यस्ता म कुन विषयप्रति बढी केन्द्रित थिएँ? मेरो पढाइ बुझाइमा आधारित थियो कि केवल रटानमा? परीक्षामा कुन प्रकारका प्रश्नहरूमा चुनौती अनुभव गरें? तयारी रणनीतिमा के सुधार गर्न सकिन्छ? जस्ता प्रश्नहरूमाथि विचार गर्नुपर्छ। यी उत्तरहरूले भविष्यको अध्ययनको दिशा निर्धारण गर्न मद्दत गर्छन्। कुन विषय रोज्ने, कस्तो तयारी शैली अपनाउने र कुन सीपहरू आवश्यक छन् भन्नेबारे स्पष्टता ल्याउँछन्। उच्च शिक्षा तथा दीर्घकालीन करिअरको योजना बनाउँदा यस्ता आत्मचिन्तनहरूले एक मजबूत आधार तयार गर्छन्। परीक्षा सकिएपछि खाली समयको रूपमा नभई, सिकाइको मूल्यवान् अवधिका रूपमा आत्ममूल्यांकन गर्ने बानी बसाल्न अत्यावश्यक छ।
रुचि र क्षमताको पहिचान
वास्तविक सफलता तब सम्भव हुन्छ, जब रुचि र क्षमता एउटै दिशामा अगाडि बढ्छन्। कक्षा १२ पछिको यही समय हो, जब विद्यार्थीले अन्तरमनमा जागेका चाहना र व्यवहारमा देखिएका कौशलतालाई चिन्न सक्ने अवसर पाउँछन्। कुनै पनि विषय वा करिअर रोज्नुअघि यी दुई पक्षको स्पष्ट पहिचान अत्यावश्यक हुन्छ। तर, हाम्रो समाजमा विषय चयन गर्दा प्रचलन, छरछिमेकको प्रभाव वा अभिभावकको दबाब हावी हुने प्रवृत्ति छ जसले पछि पछुतो, निराशा वा लक्ष्यविहीनताको अवस्था निम्त्याउन सक्छ। विद्यार्थीले केही व्यावहारिक संकेतहरूबाट आफ्ना रुचि र क्षमता बुझ्न सक्छन्:
- जैविक विज्ञान, औषधोपचार वा वातावरणप्रति रुचि हुनेले स्वास्थ्य, नर्सिङ, फार्मेसी, बायोटेक्नोलोजी जस्ता क्षेत्र रोज्न उत्तम हुन्छ।
- गणित, तर्कशक्ति वा प्रविधिमैत्री सोच हुनेका लागि इन्जिनियरिङ, डाटा साइन्स, कृत्रिम बुद्धिमत्ता आदि उपयुक्त विकल्प हुन्।
- समाज, मनोविज्ञान वा संस्कृति बुझ्न चाहनेले मानविकी, समाजकार्य, सञ्चार वा कानून जस्ता क्षेत्रमा अवसर देख्न सक्छन्।
- व्यावसायिक सोच र नेतृत्व क्षमतायुक्त विद्यार्थीले व्यवस्थापन, उद्यमशीलता, पर्यटन वा होटल म्यानेजमेन्ट रोज्न सक्छन्।
- सीप–केन्द्रित सोच भएका विद्यार्थीले प्राविधिक शिक्षा वा अल्पकालीन तालिम मार्फत छिटो आत्मनिर्भर बन्न सक्ने बाटो अपनाउन सक्छन्।
यसरी रुचि र क्षमताको पहिचानले केवल विषय चयनमा मात्र होइन, भविष्यको रणनीति निर्माणमा समेत मार्गदर्शन गर्छ। कक्षा १२ पछिको समयलाई नतिजा प्रतीक्षा मात्र नभई स्वयंलाई बुझ्ने, विवेकपूर्ण निर्णय लिने र व्यक्तिगत लक्ष्य स्पष्ट पार्ने अवसरको रूपमा लिनु आवश्यक छ।
करिअर योजना र अध्ययन अनुसन्धान
कक्षा १२ पछि विद्यार्थीका लागि यो समय अन्डरग्र्याजुएट प्रोग्राम अध्ययन र करिअरको दिशाबारे गम्भीरतापूर्वक सोच्ने तथा अनुसन्धान गर्ने अत्यन्त उपयुक्त अवसर हो। विभिन्न विश्वविद्यालय, कलेज तथा कार्यक्रमबारे खोजी गर्ने यही समय हो। विद्यार्थीले विभिन्न शैक्षिक प्रदर्शनी, करिअर गाइड कार्यक्रम, अनलाइन काउन्सिलिङ प्लेटफर्महरू, युट्युब च्यानलहरू तथा विश्वविद्यालय/कलेजका आधिकारिक वेबसाइटहरूबाट जानकारी संकलन गर्न सक्छन्।
उदाहरणका लागि कसैले कम्प्युटर साइन्समा रुचि राख्छ भने नेपालका कलेजहरूसँगै अन्य मुलुकका विश्वविद्यालयहरूको तुलनात्मक अध्ययन गर्नुपर्छ। कुन संस्थाले व्यावहारिक अभ्यास, अनुसन्धानको अवसर, अन्तर्राष्ट्रिय एक्स्पोजर तथा रोजगारीको सम्भावना दिन्छ भन्नेबारेमा स्पष्ट जानकारी लिनु आवश्यक छ। कसैले हस्पिटालिटी म्यानेजमेन्ट वा टुरिज्म जस्ता प्रायोगिक क्षेत्र रोज्ने हो भने– स्विट्जरल्याण्ड, थाइल्याण्ड वा अस्ट्रेलिया जस्ता देशमा उपलब्ध कार्यक्रमहरूको अध्ययन गर्नु उपयुक्त हुन्छ। यस्ता कार्यक्रमहरूले इन्टर्नसिप, भाषा सीप र विविध संस्कृतिसँग प्रत्यक्ष अनुभवको अवसर समेत प्रदान गर्छन्।
निर्णय अनुमानमा होइन, तथ्यमूलक र सुसूचित हुनुपर्छ। कुन विषय कुन विश्वविद्यालय वा कलेजमा पढ्दा दीर्घकालीन उपलब्धि प्राप्त गर्न सकिन्छ? त्यो मूल्यांकन विद्यार्थीको रुचि, क्षमता, आर्थिक अवस्था, रोजगारीको सम्भावना, सामाजिक योगदानका अवसरहरू हेरेर गरिनुपर्छ। विद्यार्थीले आफ्ना अभिभावक, शिक्षक, करिअर काउन्सिलर तथा विभिन्न शैक्षिक विज्ञहरूसँग छलफल गर्दै, अध्ययन अनुसन्धान मार्फत करिअर योजना तय गर्ने समय यही हो।
सीप विकासको सुनौलो अवसर
आजको युग सीप र दक्षताको युग हो। शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त छैन; त्यसलाई उपयोगी बनाउने व्यावहारिक सीपहरू अनिवार्य बन्दै गएका छन्। कक्षा १२ पछिको यो अन्तराल विद्यार्थीका लागि सीप विकास गर्ने सुनौलो अवसर हो, जसले भविष्यको अध्ययन, रोजगारी तथा उद्यमशीलताका लागि दृढ आधार तयार पार्न सहयोग गर्छ।
विद्यार्थीले यस अवधिमा रुचि र व्यवहारमा उपयोगी हुने विभिन्न सीप सिक्न सक्छन्:
- कम्प्युटर तथा डिजिटल सीप: एमएस अफिस, फोटोशप, क्यान्वा, भिडियो एडिटिङ, कोडिङ, डिजिटल मार्केटिङ आदि सीपहरू आज मात्र होइन, दीर्घकालीन करिअर निर्माणमा पनि अत्यन्त उपयोगी छन्। उदाहरणका लागि, एडोबी फोटोशप र क्यान्वामा दक्षता हुनेले फ्रिलान्सिङ मार्फत आम्दानी शुरु गर्न सक्छन्।
- सञ्चार तथा प्रस्तुति सीप: सार्वजनिक भाषण, प्रभावकारी लेखन, पावरपोइन्ट प्रेजेन्टेसन र आत्म–प्रस्तुति क्षमताले विद्यार्थीलाई अन्तर्वार्ता, शैक्षिक प्रस्तुति तथा नेतृत्व भूमिकामा बलियो बनाउँछ।
- भाषा सीप: अंग्रेजी, कोरियन, जर्मन, जापानी, फ्रेन्च आदि विदेशी भाषाको अध्ययनले विदेशमा उच्च शिक्षा तथा रोजगारीका लागि ढोका खोलिदिन्छ। जस्तै, कोरियन भाषा, जापानी भाषा वा जर्मन भाषा पास गर्नेहरूले छात्रवृत्ति र रोजगारीका आकर्षक अवसर प्राप्त गर्न सक्छन्।
- अनलाइन प्लेटफर्म: कोर्षेरा, इडिएक्स, युदेमी, स्किलसेयर, लिन्कडिन लर्निङ जस्ता विश्वस्तरीय अनलाइन प्लेटफर्महरू प्रयोग गरी घरमै बसेर अन्तर्राष्ट्रिय स्तरको तालिम लिन सकिन्छ। यी प्लेटफर्महरूमा धेरैजसो कोर्स निःशुल्क उपलब्ध छन् र केहीमा प्रमाणपत्र सहितको भर्ना विकल्प पनि रहन्छ।
यस अवधिमा सिकिएका सीपहरूले विद्यार्थीलाई आत्मविश्वासी, आत्मनिर्भर र भविष्यका लागि तयार बनाउँछन्। यो समय खाली नराखी, सीपमा लगानी गर्ने सुनौलो मौका हो, जुन भविष्यमा गुणात्मक परिवर्तन ल्याउन सक्षम छ।
जीवन सीप र सामाजिक उत्तरदायित्व
शैक्षिक योग्यता जत्तिकै महत्त्वपूर्ण पक्ष हो जीवन सीप। समय व्यवस्थापन, सकारात्मक सोच, आत्मअनुशासन, सहकार्य र सञ्चार कौशल जस्ता सीपहरू कुनै पाठ्यक्रममा मात्र सीमित छैनन्; यी व्यक्ति सफल, सशक्त र आत्मनिर्भर बन्ने आधार हुन्।
कक्षा १२ पछिको यो अन्तरालमा विद्यार्थीले दिनचर्या योजनाबद्ध बनाउने अभ्यासबाट समय व्यवस्थापन, कठिन परिस्थितिमा सकारात्मक सोचको विकास, आत्मअनुशासनबाट लक्ष्यप्रति एकाग्रता र निरन्तरता, सहकार्य र सञ्चार सीप मार्फत प्रभावकारी सहयोग तथा विचार अभिव्यक्ति जस्ता अभ्यासहरू सिक्न सक्छन् ।
यी जीवन उपयोगी सीपहरूसँगै सामाजिक उत्तरदायित्वको अनुभूति र अभ्यास गर्नु पनि संवेदनशील तथा जिम्मेवार नागरिक बन्ने यात्राको महत्त्वपूर्ण पाटो हो। विद्यार्थीले स्वयंसेवकका रूपमा वृद्धाश्रममा सेवा पुर्याउने, बालआश्रयमा सहयोग गर्ने, वृक्षरोपण, सरसफाइ वा वातावरणीय सचेतना अभियान सञ्चालन, अभावग्रस्त समुदायका बालबालिकालाई शिक्षामा सहयोग जस्ता विविध सामाजिक कार्यहरूमा सहभागी भएर समाजप्रति आफ्नो दायित्व पूरा गर्न सक्छन्। यस्ता गतिविधिले व्यक्तित्व विकासमा गहिरो प्रभाव पार्छन् भने सेवा, समर्पण, सहानुभूति र सामाजिक नेतृत्व जस्ता जीवनका आधारभूत मूल्यहरू सिकाउँछन्।
पढ्ने बानी र चिन्तनशीलता
कक्षा १२ पछिको समय केवल शैक्षिक निर्णयका लागि मात्र होइन, आत्मविकास र गहिरो चिन्तनशीलता विकास गर्ने महत्वपूर्ण अवसर हो। यस अवधिमा विद्यार्थीले पाठ्यपुस्तक बाहेकका पुस्तकहरू पढ्ने बानी बसाल्न सक्छन्, जसले उनीहरूलाई स्पष्ट दृष्टिकोण, सन्तुलित मूल्य र गहिरो सोचतर्फ उन्मुख गराउँछ।
आत्मविकास, जीवनी, दर्शन, मनोविज्ञान तथा समसामयिक विषय सम्बन्धी पुस्तकहरूले अनुशासन, समय व्यवस्थापन, लक्ष्य निर्धारण, आत्मविश्वास विकास जस्ता पक्षहरूमा सकारात्मक प्रभाव पार्छन्। यस्ता अध्ययनहरूबाट विद्यार्थीले सामाजिक यथार्थ बुझ्न सक्ने, विचारशील तथा जिम्मेवार नागरिक बन्ने आधार निर्माण हुन्छ। पढ्नेसँगै लेख्ने बानी जस्तै डायरी लेखनले आत्मचिन्तन र भावनात्मक सन्तुलनमा सहयोग पुर्याउँछ। लेख वा ब्लग लेखनले विचार अभिव्यक्तिको सशक्त माध्यम बन्न पुग्छ। प्रतियोगितात्मक लेखन, भाषण र प्रस्तुति अभ्यासले सीप बढछ्।
‘नेपालमै पढौं’ अभियानको आवश्यकता
विदेशमुखी सोच (माइग्रेसन माइन्डसेट) मा रहेका विद्यार्थीमा विदेश जाने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको छ, जुन कक्षा १२ पछिको चरणमा अझ बढी देखिन्छ। लाखौं विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान इच्छुक छन्, जुन दीर्घकालीन रूपमा देशको प्रतिभा पलायन (ब्रेन ड्रेन) का रूपमा परिणत हुने चिन्ताजनक अवस्था हो। यस सन्दर्भमा, नेपाल सरकारको शिक्षा मन्त्रालयले ‘नेपालमै अध्ययन गरौं’ नामक रणनीतिक अभियान सञ्चालन गर्नु अत्यावश्यक छ जसले विद्यार्थी लगायत अभिभावक तथा शिक्षण संस्थालाई स्वदेशमै उच्च शिक्षाको सम्भावना देखाउने दिशामा उत्प्रेरित गर्न सक्छ।
यस्तो अभियान प्रभावकारी बनाउनका लागि सरकार र सम्बन्धित निकायहरूले विश्वस्तरीय शैक्षिक पूर्वाधारको निर्माण र प्रवर्धन, स्थानीय सान्दर्भिकता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय पाठ्यक्रमको विकास, रोजगारसँग जोडिएका सीपमूलक कार्यक्रम विस्तार, अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य, सह–डिग्री वा एक्सचेन्ज कार्यक्रम, प्रतिभा आकर्षणका लागि छात्रवृत्ति र प्रोत्साहन योजनाहरू जस्ता कार्यको व्यवस्थापनमा जोड दिनुपर्छ। यस अभियानले केवल वैदेशिक निर्भरता घटाउने छैन, बरु स्वदेशमै शिक्षा, अनुसन्धान र नवप्रवर्तनको सम्भावना उजागर गर्दै युवाहरूमा देशमै बसेर केही गर्न सकिन्छ भन्ने सोच विकास गर्नेछ।
निष्कर्ष
कक्षा १२ पछिको समयलाई खाली, विराम वा पर्खाइको रूपमा हेर्नु भ्रमपूर्ण हो। वास्तवमा यो जीवनको एक निर्णायक मोड हो जहाँ सोच, तयारी र निर्णयले भविष्यको आधार तयार पार्छ। यदि विद्यार्थीले यो अन्तराललाई– आत्मचिन्तन, अध्ययन अनुसन्धान, सीप विकास, सामाजिक संलग्नता जस्ता माध्यमबाट सक्रिय रूपमा उपयोग गरे भने नतिजापछि आउने अन्योल, हतारो निर्णय वा निराशाबाट जोगिन सकिन्छ।
यो समयलाई सिर्जनात्मक ऊर्जा, स्पष्ट उद्देश्य र योजनाबद्ध अभ्यासले भरिदिएमा यही चरण ‘जीवन परिवर्तन’को आधार बन्न सक्छ। विद्यार्थीले आफूभित्रको सम्भावना चिन्ने, सशक्त बनाउने र भविष्यको मार्ग कोर्ने जिम्मा लिने यो समय हो। अभिभावकहरूले सहयोगी र प्रेरणादायी वातावरण सिर्जना गर्नुपर्छ। शिक्षकहरूले मार्गदर्शन र उत्प्रेरणाको भूमिका निभाउनुपर्छ। जब यी तीनै पक्ष विद्यार्थी, अभिभावक र शिक्षक साझा चेतनाका साथ अघि बढ्छन्, तब यो अन्तराल केवल समय होइन, सम्भावनाको सेतु बन्न सक्छ।
(बराल, गण्डकी बोर्डिङ स्कूल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स पोखराका पूर्व प्राचार्य हुन्।)
प्रतिक्रिया 4