+
+

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ चैत १८ गते १८:३३

१८ चैत, काठमाडौं। परम्परागत घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।

घोडेजात्रा काठमाडौं उपत्यकामामात्र मनाइने भएपनि सरकारले राष्ट्रिय पर्वको मान्यता दिँदै काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च टुँडिखेल जानुभई सेनाद्वारा प्रस्तुत अश्वकला र कुकुरका विभिन्न क्रियाकलाप र खेलको अवलोकन गरे ।

सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो ।

कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी टुँडिखेल पुगेका थिए ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ । नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चार माध्यमले घोडोजात्रा मूल समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए भने जात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ ।

गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिँदै आएको भनिएको छ । घोडेजात्राका परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवम् रोमाञ्चक क्रियाकलाप प्रदर्शनीको व्यवस्थापन गर्दै आएको छ ।

हेर्नुस् तस्वीरहरु :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?