+
+

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव तत्काललाई रोक्न अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १९:३३

१८ चैत, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया तत्काललाई रोक्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतका कायममुकाय मुख्यन्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले दुवै पक्षको कुरा सुनेर निष्कर्षमा पुग्ने भन्दै तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन शुक्रबार अल्पकालीन आदेश दिएको हो ।

विवादका बीच २६ चैतका लागि संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । तर उक्त कार्यतालिका सार्वजनिक भएसँगै केही व्यवसायीहरूले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

संघका बहुमत कार्यसमितिले २६ चैतमा  घोषणा गरेको निर्वाचन रोक्न आदेश माग गर्दै व्यवसायी सुरेन्द्रकुमार मल्लले बिहीबार उच्च अदालतमा रिट हालेका थिए ।

उच्च अदालतले २४ चैतमा  दुवै पक्षलाई बहसका लागि बोलाएको छ । निवेदकलाई पनि निर्वाचन रोक्न आदेश जारी गर्नुपर्ने भए १५ दिनभित्र कारणसहित प्रमाण पेस गर्न भनेको छ ।

के हो संघ भित्रको विवाद ?

सुर्खेत उद्योग वाणिज्य संघमा व्यवसायीहरूका मागलाई लिएर पछिल्लो समय विवाद चुलिएको छ । विधानअनुसार खारेज भएका व्यवसायीहरूले कोभिड महामारीका कारण सदस्यता नवीकरण गर्न नपाएको भन्दै विशेष व्यवस्थामार्फत् आफ्नो सदस्यतालाई निरन्तरता दिन माग गरेका छन् ।

संघका सदस्यले लगातार दुई आर्थिक वर्षसम्म आफ्नो सदस्यता नवीकरण नगरे स्वतः सदस्यता खारेजी हुने वैधानिक व्यवस्था छ । सोही अनुसार विधान बमोजिम आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ मा तोकिएको समयमा नवीकरण नभएकाहरु सदस्यता खारेजीमा परेका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का सहितका केही पदाधिकारी तथा सदस्यहरू व्यवसायीको माग सम्बोधन गर्नुपर्ने पक्षमा उत्रिएका छन् । तर अध्यक्ष लगायतका पदाधिकारी भने व्यवसायीको यी माग पूरा नगर्ने अडान लिएका छन् ।

यही विषयलाई लिएर माघ २८ गतेदेखि संघमा विवाद सुरू भएको थियो । वरिष्ठ उपाध्यक्ष खड्का सहितको असन्तुष्ट पक्षले गरेको तालाबन्दी अहिलेसम्म खुलेको छैन् ।

यही विषयलाई लिएर दुई धार भएका संघ पदाधिकारीबीचको विवाद समाधान नहुँदै अध्यक्ष लगायतको समूहले मंगलबार चुनाव घोषणा गरेपछि अर्को पक्ष बिहीबार अदालत पुगेको थियो ।

कांग्रेसमा गुटगत किचलो

उद्योगी, व्यवसायीको हक हितको संरक्षण तथा सम्बर्द्धन गर्ने संस्था उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीको पकड रहेको छ । कांग्रेस भित्रको गुटगत राजनीतिक किचलो यतिबेला व्यवसायीको चुनावमा छताछुल्ल देखिएको छ ।

सदस्यता नवीकरणको विषयलाई लिएर संघका पदाधिकारी दुई गुटमा विभाजित बनेका छन् । कांग्रेसको संस्थापन इतर पक्ष मानिएका संघका वर्तमान अध्यक्ष धनबहादुर रावत र महासचिव लक्षमण कँडेल लगायतका पदाधिकारीहरु चुनाव गर्ने जोडबलमा छन् ।

अर्को पक्ष, संस्थापन पक्षधर मानिएका वर्तमान बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको समूह सदस्यता नवीकरणको विषय लिएर आपत्ति जनाइरहेको छ । यो पक्षमा निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, वर्तामा उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेत लगायतका पदाधिकारी छन् ।

संघको अध्यक्षमा संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्ष खड्का र संस्थापन इतरपक्षबाट महासचिव लक्षमण कँडेल भिड्ने तायारी गरेका छन् ।

चुनाव हार्ने स्थितिमा पुगेपछि खड्का पक्ष विरोधमा उत्रिएको संस्थापन इतर मानिएका अध्यक्ष धनबहादुर रावत बताउँछन् । ‘उहाँहरुको माग सदस्यता नवीकरण गरिपाउँ भन्ने छ, तर विधानतः समस्या समाधान गर्न सम्भव छैन’ अध्यक्ष रावतले भने ।

वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गरिनु पर्ने उनको भनाइ छ । तर संघमा ताला लगाएर समस्याको समाधान कसरी हुन्छ ? भन्ने उनको प्रश्न छ । अध्यक्ष रावतले असन्तुष्ट पक्ष गुटगत रुपमा चलेको आरोप समेत लगाए ।

उता, संस्थापन पक्षधर मानिएका हर्षविक्रम खड्काले भने असन्तुष्ट व्यवसायीको मागको विषयमा जिल्ला प्रशासन कार्यालयमा पूर्व अध्यक्षहरुको समिति बनेको र त्यो समितिले गरेको सहमतिका आधारमा अध्यक्ष रावत पक्ष अघि बढ्न नमानेपछि समस्या देखिएको बताए । ‘सदस्यता छुटेपछि व्यवसायीले निवेदन दिनुभयो, त्यसलाई कार्यसमितिमा छलफल गरेर निर्वाचनमा जाने कुरा हाम्रो थियो । तर उहाँहरुले त्यसलाई लत्याउनु भयो’ खड्काले भने । एकलौटी तरिकाले चुनावमा जान खोजेपछि विवाद चुलिएको खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?