+
+

सप्तरीमा एसपीसहित ३२ जवानसम्मलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १७:५१

२० चैत, सप्तरी। लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपातरहित वैकाशिक सशक्तिकरण (आइडिया नेपाल) ले आईतबार आयोजना गरेको लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्का, इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवान, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकर साह, सशस्त्र प्रहरीका निरीक्षक किसमान तामाङ्ग, दीपकराज बस्नेत, देवराज पोखरेल, लालबहादुर खड्का, सुभाष पुलामी मगरलगायत छन् ।

भयावह बन्दै गएको लागूऔषध नियन्त्रण गर्न पछिल्लो समयमा प्रहरीले सक्रियता देखाएका कारण एसपीदेखि जवानसम्मका लागि सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष निरज मण्डलले जानकारी दिए ।

‘काम गर्नेको आलोचना मात्रै होइन सम्मान पनि गर्नुपर्छ’ उनले भने, ‘हामीले प्रहरीको मनोबल बढाउनका लागि पनि प्रशंसा पत्र प्रदान गरेका छौं ।’

कार्यक्रममा प्रदेश सांसद अभिषेक यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उनीहरुलाई दोसल्ला र गमछा ओढाइ दिएर प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लागूऔषध प्रयोगकर्ता बढिरहेको समयमा प्रहरीलाई मात्रै नभई समाजका सबैलाई यसतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी गौतमले लागूऔषधले एउटा परिवार मात्र नभई देशलाई नै बेफाइदा पुर्‍याइरहेको बताए । उनले कोही छिमेकी लागूऔषध प्रयोगकर्ता छन् भने त्यसलाई नसुधारिए आफूलाई पनि समस्या हुन सक्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उनले लागूऔषध प्रयोगकर्तालाई सुधार्न जिल्लामा एउटा सुधार केन्द्रको आवश्यक्ता रहेको बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले साउनदेखि हालसम्म जिल्लामा ७४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता हुँदा ८७ जना पक्राउ परेको जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?