+
+

‘सानो संसार’ रिलिजको १४ वर्षपछि ‘ग्रहण’मा सँगै देखिंदै नम्रता र विनय

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १८:५८

काठमाडौं । नम्रता श्रेष्ठ, विनय श्रेष्ठ र सारुक ताम्राकारको प्रमुख भूमिका रहने फिल्म ‘ग्रहण’ निर्माण हुने भएको छ ।

आइतबार भारतको सिक्किममा आयोजित कार्यक्रममा त्यहाँका सूचना तथा जनसम्पर्कमन्त्री लोकनाथ शर्माले फिल्म निर्माणलाई औपचारिकता दिए । फिल्ममा राजीव गुरुङको निर्माण तथा निर्देशन रहनेछ ।

फिल्म निर्माण घोषणा समारोहमा कलाकारबारे पनि जानकारी दिइयो ।  थ्रिलर ड्रामा फिल्म रे भेन्चर्स प्रालिको ब्यानरमा निर्माण हुने भएको छ । सिक्किम र नेपालमा आधा–आधा छायांकन हुने फिल्म घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्मासहित निर्माता निर्मला गुरुङ र कलाकारहरु उपस्थित थिए ।

सिक्किममा छायांकन गरिने फिल्मले दुवै देशको पर्यटनमा सघाउने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौं । सोही अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्,’ मन्त्री शर्माले भने ।

 

बोर्ड अध्यक्ष शर्माले कार्यक्रममा सिक्किम फिल्म नीतिबारे बताइन् । त्यहाँ ७५ प्रतिशत छायांकन हुने फिल्मलाई १ करोड भारु अनुदान दिने नीति रहेको उनले जनाइन् ।

अभिनेता विनयले थ्रिलर जनरामा फिल्म बन्न लागेको बताए । ‘मेरो चरित्रको नाम विवेक हो । मलाई सिक्किम दोस्रो घर जस्तो लाग्छ । यसपटक यहाँको मनोरम दृश्यमा काम गर्न पाउँदा निकै उत्साहित छु,’ विनयले भने । उनी कलाकारसँगै कार्यकारी निर्माता समेत हुन् ।

अभिनेत्री श्रेष्ठले होम प्रोडक्सनबाट बनेको फिल्म ‘सोल सिस्टर्स’को सिक्किम छायांकनको सम्झना गरिन् । ‘मैले आफ्नो प्रोडक्सन फिल्मको सुरुवात नै यहींबाट गरें । त्यसैले सिक्किमसँग म जोडिएकी छु । मैले यसमा योगा गुरुको भूमिका गर्दैछु,’ उनले भनिन् ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । ‘ग्रहण’मा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन र विशाल सापकोटाको पटकथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?