+
+
Shares

न्वागी पर्वमा रमाउँदै आठपहरिया समुदाय (तस्वीरहरू)

नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर आफूहरूले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।

ईश्वर थापा ईश्वर थापा
२०८३ असोज १४ गते ८:११

१४ असोज, धनकुटा । आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु भएको छ । नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर आफूहरूले पनि खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।

न्वागी चाड ६ दिनसम्म मनाउने चलन रहेको छ । भदौ शुक्ल पूर्णिमापछिको मंगलबारदेखि आइतबारसम्म गरेर ६ दिन न्वागी चाड मनाउने परम्परा छ ।

नयाँ बाली भित्र्याएपछि त्यसलाई पहिले कुल तथा पितृलाई चढाउने र त्यसपछि मात्रै आफूहरूले खाने चलन रहेको किरात आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले बताए ।

उनका अनुसार न्वागी चाडको पहिलो दिन मंगलबार मार्गाथान सरसफाइ गरिएर सुरु गरिएको हो ।

चाडको दोस्रो दिन बुधबार ओमाडाम अर्थात मार्गाथानमा कुखुराका चल्ला पूजा, तेस्रो दिन बिहीबार राँगोको भेजो लगाउने, चौथो दिन शुक्रबार भेजो मार्गाथानमा चढाउने तथा पितृ पूजा गर्ने, पाँचौ दिन शनिबार वनभोज खाने र छैटौँ दिन आइतबार चाडको विसर्जन गर्ने चलन रहेको छ ।

आठपहरियाले वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने परम्परा छ । भदौ वा असोजमा भने वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै न्वागी चाड मनाएर कुल तथा पितृलाई नयाँ अन्न चढाउने गर्छन ।

न्वागी चाडमा कुलपितृ तथा मार्गा देवतासँग तिमीले वर्षा गराइदिएकाले बाली लगाएर फलाउन सफल भयौँ, अब तिमी पनि खाउ, हामी पनि खान्छौँ भन्ने मान्यता रहेको आठपहरियाको भनाइ छ ।

आठपहरिया समुदायले न्वागी (भदौरे), विशु (वैशाखे) र वाडाङ्मेट (मंसिरे) गरी तीनवटा प्रमुख चाड मनाउने गरेका छन् । यी पर्वमा आठपहरिया समुदायका २२ थलोमा रहेका २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूलो घरमा विशेष पूजा गर्ने परम्परा छ ।

तीन चाडमध्ये आठपहरियाको मुख्य चाडका रूपमा मंसिरे अर्थात् वाडाङ्मेटलाई लिइन्छ । वर्षभरि परेको शोकलाई सामूहिक रूपमा उकास्ने तथा जेठो सन्तान जन्मिएको र नयाँ घर निर्माण भएको खुसीयाली मनाउने पर्वका रूपमा वाडाङ्मेट मनाइन्छ । यस अवसरमा ढोल, मारुनी, डल्लो नाचलगायतका सांस्कृतिक गतिविधि गरिन्छ भने पैसाको माला दान गर्ने चलनसमेत रहेको छ ।

त्यस्तै वैशाखमा आठ दिनसम्म विसु चाड मनाउने गरिन्छ । भूमिपूजा, देवस्थलको सरसफाइ, बली, पितृपूजा, सामूहिक वनभोज, धनुषबाणबाट तारो हान्ने तथा बिदाइ पूजा गर्दै विसु मनाउने परम्परा रहेको किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले बताए ।

 

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?