+
+

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २१:०४

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् ।

संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ ।

संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध पेश भएको अविश्वासको प्रस्तावलाई खारेज गरेका थिए । पूर्व क्रिकेटरसमेत रहेका इमरानले विदेशीको इशारामा अविश्वासको प्रस्ताव आएको दाबी गर्दै आएका छन् ।

विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएपछि इमरान सरकारलाई समर्थन गरेका सहयोगी दलले मात्र होइन, इमरानकै दल पाकिस्तान तहरिक ए इन्साफका केही सांसदले पनि त्यसमा समर्थन जनाएका थिए । ३४२ सदस्यीय पाकिस्तानी संसदमा इमरानको दलका १५५ सांसद थिए ।

तर संसदमा अविश्वासको प्रस्ताव आएपछि इमरानका समर्थक घट्दै थिए । विपक्षी गठबन्धनमा १७४ जना पुगेका थिए । उनकै दलका कतिपय सांसद समेत विपक्षी गठबन्धनमा सहभागी भएका थिए ।

अविश्वासको प्रस्तावमा मतदान भएको भए त्यो प्रस्ताव पारित हुने थियो र इमरानले सत्ता छाड्नु पर्ने थियो । त्यसैले सत्ता जोगाउन अविश्वासको प्रस्तावमाथिको मतदानको दिन पछि धकेल्दै आएका इमरानकै इशारामा संसदले प्रस्तावलाई नै खारेज गर्‍यो । लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले सरकार हटाउने र बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताएका छन् ।

उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविश्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे । इमरानले भने, ‘सभामुखले संवैधानिक हकको प्रयोग गर्दै जे निर्णय गरे, त्यो स्वागतयोग्य छ ।’उनले विदेशी षड्यन्त्र असफल पारेको भन्दै बधाइ पनि दिए । इमरानले अमेरिका र पश्चिमा देशले पाकिस्तानमा षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय सुरक्षा परिषदलेसमेत अविश्वासको प्रस्तावमा विदेशीको हात रहेको प्रतिवेदन दिएको उनले बताए ।

इमरान अविश्वासको प्रस्ताव पारित भएर सत्ताबाट हट्ने पहिलो प्रधानमन्त्री हुनबाट जोगिएका छन् । पाकिस्तानको संसदीय इतिहासमा यसअघि सन् १८८९ मा बेनजिर भुट्टो र २००६ मा शौकत अजिजविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएको थियो । तर दुई पटक नै अविश्वास प्रस्ताव पारित हुन सकेन ।

‘अविश्वासको प्रस्ताव खारेज गर्ने देशद्रोही’

पाकिस्तानका पूर्वप्रधानमनत्री नवाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले अविश्वासको प्रस्ताव रोक्नेहरुले देशद्रोहको अपराध गरेको आरोप लगाए ।

पाकिस्तानको एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भुट्टोले भने ‘संसदका अध्यक्ष, उपाध्यक्ष वा राष्ट्रपति जसले अविश्वासको प्रस्तावमा मतदान रोके उनीहरुले देशद्रोहको अपराध गरे ।’

पूर्वप्रधानमन्त्री सरिफले भने इमरान र उनका सहयोगीलाई देशद्रोही भनेका छन् । ‘इमरान खान जसले देशको सामुन्ने आफ्नो अहंकारलाई अगाडि राखे, र जो जो यो षड्यन्त्रमा सहभागी भए उनीहरु देशद्रोहमा दोषी हुन् । उनीहरुमाथि आर्टिकल ६ लागू हुने छ’ सरिफले ट्वीट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?