+
+

एएफसी कपको समूह चरणमा पुग्ने मछिन्द्रको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १३:२४

२१ चैत, काठमाडौं । नेपालको लिग च्याम्पियन मछिन्द्रले एएफसीको प्रारम्भिक चरणमा मंगलबार श्रीलंकाली टोली ब्लूस्टार एफसीसँग खेल्दैछ ।

खेलअघिको पत्रकार सम्मेलनमा सोमबार मछिन्द्रले एएफसी कपको समूह चरणमा पुग्ने लक्ष्य लिएको बताएको छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले फागुनमा लिग सकिएपछि पनि टिमले एकसाथ अभ्यास गरिरहेको र मोफसलका प्रतियोगिता खेलिरहेका हारण टिममा एकता राम्रो रहेको बताए ।

मंसिरदेखि सुरु भएको ए डिभिजन लिगमा सातौं चरणसम्मको नतिजाका आधारमा शीर्ष स्थानमा रहँदै मछिन्द्र एएफसी कपका लागि छनोट भएको थियो । एएफसी कपमा मछिन्द्रको यो पहिलो सहभागिता हो ।

एएफसीको नयाँ नियमअनुसार एएफसी कप छनोटको समूह चरणमा पुग्नका लागि मछिन्द्रले तीन चरण पार गर्नुपर्नेछ । त्यसैले उसका लागि समूह चरणको यात्रा सहज हुने छैन । मंगलबार ब्लुस्टारसँग जित हासिल गरेको खण्डमा चैत २९ गते भारतको आईएसएल क्लब एटीके मोहन बगानसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

त्यस खेलमा जित हासिल गरेमा प्लेअफमा प्रारम्भिक चरणबाट प्रतिस्पर्धा गर्दै आएका माल्दिभ्सको भ्यालेन्सिया, भुटानको पारो र बंगलादेशको अबहानी लिमिटेड ढाकामध्ये एउटा टोलीसँग खेल्नुपर्नेछ । त्यो खेल जितेमा मात्र मछिन्द्रले समूह चरणमा स्थान बनाउनेछ ।

‘ए डिभिजन लिग सुरु गर्दादेखि नै हामीले एएफसी कपलाई नै लक्ष्य बनाएका थियौं । लिग सकिएपछि पनि हामी एकसाथ छौं । हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्नुमात्र होइन,’ पत्रकार सम्मेलनमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने ।

प्रशिक्षक प्रवेश कटुवालले श्रीलंकाली विपक्षीसँग सहज नहुने बताए । ‘हामीले ब्लूस्टारलाई प्रतिस्पर्धीको रुपमा पाएदेखि नै उनीहरुको निगरानी गरिरहेका छौं । श्रीलंकाको लिग प्रणाली राम्रो छ र यो टिम पनि सन्तुलित रहेछ । तर हामीलाई घरेलु मैदानको फाइदा हुनेछ,’ कटुवालले पनि मछिन्द्रको समूह चरणमा पुग्ने लक्ष्य दोहोर्‍याए ।

लिग सकिएपछि मछिन्द्रले मोफसलका दुई नकआउट प्रतियोगितामा सहभागिता जनाएकोमा दुवैको उपाधि जित्न असफल रह्यो । आफ्नै मैदान नभएका कारण टिमले सोचेजस्तो तयारी गर्न नसकेको कटुवालले बताए ।

यसबीचमा राष्ट्रिय टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मछिन्द्रले आफ्नो खेलाडीलाई पठाएको थिएन । प्रशिक्षक कटुवालले टिममा एकअर्काबीच धेरै समय व्यतीत गर्नुपर्ने भएकाले एन्फासँगको समझदारीमै आफ्ना खेलाडीलाई नपठाइएको जानकारी दिए । उनका अनुसार टिममा इन्जूरी र फिटनेसको समस्या छैन ।

ब्लूस्टारका प्रशिक्षक बन्दारा सामाराकोनले श्रीलंका अहिले आर्थिक संकटसँग जुधिरहे पनि आफूहरुलाई त्यसको असर नभएको बताए । ‘हामीले नेपालको सबैभन्दा बलियो टिमसँग खेल्दैछौं । त्यसका लागि तयारी पनि राम्रो भइरहेको छ,’ पत्रकार सम्मेलनमा प्रशिक्षक सामाराकोनले भने, ‘हाम्रो देशमा अहिले आर्थिक संकट छ । तर, त्यसको असर हामीलाई छैन ।’

नेपाल र ब्लूस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि-मंगलबार) साँझ ५ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?