
२१ चैत, काठमाडौं । नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको ऊर्जा सहकार्यसम्बन्धी ६ बुँदे संयुक्त घोषणाअनुसार नेपालका थप जल विद्युत् आयोजनाले आफ्नो उत्पादन भारत निर्यातको अनुमति पाउने भएका हुन् ।
भारतले नेपालका आयोजनाहरुलाई आफ्नो प्रतिस्पर्धी बजारमा विद्युत् बेच्न अनुमति दिन ढिलाइ गरेपछि नेपालले पटक–पटक ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पनि यो एजेन्डाले महत्व पाएपछि भारतले थप आयोजनाको बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिने सहमति जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणले थप ८०० मेगावाटभन्दा बढी क्षमताको आयोजनाहरुबाट उत्पादन हुने बिजुली बेच्न भारतसँग प्रस्ताव गरेको छ । नदीमा पानी बढ्ने र पूर्ण क्षमतामा आयोजनाहरु चल्ने भएकाले वर्षाको मौसममा भारतमा बिजुली बेच्न सम्भव हुन्छ ।
भारतले आफ्ना अनुदान सहयोगमा बनेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट आयोजनाको बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न अनुमति १५ कात्तिक २०७८ मा दिएको थियो ।
अन्य ठूला जलविद्युत आयोजनाको बिजुली बेच्न नेपालले गरेको प्रस्तावलाई भने भारतले स्वीकृत गरेको छैन ।
नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्ययाङ्दी, ६९ मेगावाटको तल्लो मर्स्याङ्दी, ४५ मेगावाटको भोटेकोसी, ५२ मेगावाटको लिखु लगायत आयोजनाको बिजुली प्रतिस्पर्धी बजारमा बेच्न प्रस्ताव गरेको छ ।
वर्षायाम र दशैं तिहारको समयमा खेर जाने बिजुली भारतमा बिजुली बेच्न नसके प्राधिकरणलाई ठूलो नोक्सानी हुने अवस्था छ । भारतले अनुमति दिए आगामी वर्षायाममा खेर जाने बिजुली बेच्न नेपाल विद्युत प्राधिकरणलाई सहज हुनेछ ।
प्राधिरकण कार्यकारी निर्देशक कुलमान घिसिङ प्रधानमन्त्रीेको भ्रमणका क्रममा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रको बजार सुनिश्चितता र बिकासमा सहयोग पुर्याएको बताउँछन् ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलमा नेपालको जगेडा बिजुली आयात गर्ने र अरु धेरै आयोजनाको बिजुली पनि ल्याउने तयारीमा छौं भन्नुभएको छ,’ घिसिङले भने, ‘त्यहाँको ऊर्जा मन्त्रालयमा यसबारे छलफल गर्दा केही दिनभित्रै थप आयोजनाले अनुमति पाउने जानकारी पाएका छौं ।’
उनका अनुसार भारतले आगामी वर्षायाममा विभिन्न आयोजनाबाट ३०० यदेखि ५०० मेगावाटसम्म विद्युत आयातको लागि बाटो खोल्ने सम्भावना छ । त्यसबाहेक बिहार राज्यले पनि बिजुली लैजाने र प्रसारणलाइन जोडेपछि उत्तर प्रदेशसाग पनि विद्युत विक्रीको बाटो खुल्न सक्ने घिसिङको भनाइ छ ।
‘नेपालमा अधिकतम् खपत गर्दा पनि रातको समयमा उत्पादित सबै बिजुली खपत हुन नसक्ने हुनाले भारतमै बेच्नुपर्छ,’ घिसिङले भने, ‘भारतले यो वर्ष हाम्रो खपत हुन नसकेको बिजुली किन्ने बाटो खुलेको छ ।’
गत वर्षामा रातमा ५०० मेगावाट र दिनमा पनि २०० मेगावाटसम्म बिजुली खपत हुन नसकेर खेर फाल्नु परेको थियो । अबको वर्षायममा त्यस्तो समस्या भोग्नुनपर्ने सुनिश्चित भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
‘आन्तरिक उत्पादनलाई देशभित्रै खपत गर्न प्रोत्साहनको अभियान पनि चलिहरन्छ,’ उनी भन्छन्, ‘वर्षायाममा खेर जानसक्ने बिजुली भारतको बजारमा पुग्दा हामीले हिउँदमा भारतबाट ल्याउँदाको क्षतिपूर्ति हुन्छ ।’
गत ११ र १२ फागुनमा भारतसँगको ऊर्जा सचिवस्तरको बैठकमा पनि भारतले थप आयोजनाको बिजुलीलाई अनुमतिदिने सहमति गरेर रोकेको थियो । प्रधानमन्त्री स्तरमै यो एजेन्डा स्वीकृत भएकाले अब प्रक्रिया छिट्टै टुंगिने प्राधिकरणको अपेक्षा छ ।
प्रतिक्रिया 4