+
+

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौं : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छिन् ।

रासस रासस
२०७८ चैत २२ गते १४:३४

२२ चैत, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छिन् ।

गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन् ।

‘राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरुबाट व्यक्त भएको छ’, उनले भनिन् ।

मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन् ।

‘परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो, आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ’, उनले भनिन् ।

मन्त्री भुसालले सात दशक लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पछिल्ला पाँच वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम सम्पन्न गरेका उल्लेख गर्दै उनले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताइन् । ‘अब जो सुकै निर्वाचित भएर आउँदा पनि सोही जगबाट अगाडि बढ्न सहज हुनेछ।’, उनले भनिन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?