
२२ चैत्त, गोरखा । गोरखामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी यही चैत्र २५ गतेबाट अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख १० गतेसम्म अभियान चल्ने छ ।
‘वैशाख १८ गतेसम्म देशभर अभियान चल्छ,’ कार्यालय प्रमुख विद्या तामाङले भनिन्, ‘तर गोरखामा भने हामी १० गते सक्छौ ।’ खोपका लागी जिल्लाभर ३ सय ८२ खोप केन्द्र रहने उनले बताइन् । ७ सय ६४ स्वयमसेवक खटिने छन् । करिव ६२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयको छ ।
जिल्लामा दुइ चरणमा खोप अभियान संचालन हुने छ । चैत्र २५ देखि २९ सम्म पहिलो चरण र वैशाख ५ देखि १० सम्म दोस्रो चरणमा अभियान संचालन गरिने कार्यालय प्रमुख तामाङले बताइन् । उनका अनुसार चुमनुव्री वाहेक अन्य स्थानीय तहमा पहिलो चरणमा खोप अभियान संचालन हुने छ ।
टाइफाइड संक्रमण दर उच्च
जिल्लामा टाइफाइडको संक्रमण दर उच्च रहेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा बर्षेनी करिब ३५ हजार बालबालिकामा टाइफाइड संक्रमण हुने गरेको छ ।
विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा संक्रमण जोखिम बढी हुने कार्यालयले जनाएको छ । उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने यो रोगका लक्षण हुन् ।
गम्भिर प्रकृतिका एलर्जी भएका, एड्सको लक्षण देखा परेको, उच्च ज्वरो आएको र गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरुले यो खोप लगाउन नमिल्ने बताइएको छ ।
खोप लगाए पश्चात हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, हात खुट्टा तथा जोर्नी दुख्ने वाकवाकी लाग्ने र वान्ता हुने जस्ता समस्या देखिन सक्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4