+
+

चिकित्सा शिक्षा आयोगको लापरबाहीले म्याचिङ्गमा नाम नअटाएको विद्यार्थीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १८:५२

२३ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगको लापरबाहीले चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुलातर्फको दोस्रो चरणमा म्याचिङ्ग हुने उम्मेदवारको नामवलीमा आफ्नो नाम नपरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।

स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही खुला समूहतर्फका सीटमा भर्नाको प्रक्रियाका लागि आयोगद्वारा ३० फागुनमा प्रकाशित सूचना अनुसार पूर्वमनोनयनको सूचीमा परेका उम्मेद्वार स्वयंले अस्वीकार (वीथ ड्र) वा परित्याग (ड्रप) गरी रिक्त हुन आएका शैक्षिक कार्यक्रमका सिटमा पछिल्लो प्राथमिकता क्रममा रहेका उम्मेद्वारलाई समावेश गरी पहिलोमा र सूची प्रकाशन गर्दा अस्वीकार गरेका उम्मेद्वारहरुले पछिल्लो चरणको म्याचिङमा समावेश हुने व्यवस्था छ ।

त्यसरी समावेश गर्दा ¥याङ्कको आधारमा प्राथमिकता दिनुपर्ने हुन्छ । तर आफू भन्दा पछाडिका ¥याङ्कमा परेकाहरु दोस्रो चरणमा म्याचिङ्ग नामवलीमा नपरेको उनीहरुको गुनासो छ । बुधबार उनीहरुले आयोगमा पुगेर निवेदन दिएका छन् ।

पहिलो चरणको म्याचिङ्गमा नाक, कान, घाँटीमा परेपछि डा.सुदिप थापाले वीथ ड्र गरेका थिए । सर्जरी पढ्न चाहेका थापाको नाम दोस्रो चरणमा म्याचिङ्गमा नाम अटाएन । तर उनी भन्दा पछाडीका  र्‍याङ्कमा नाम निस्केको विद्यार्थीको भने नाम परेको उनी बताउँछन् । भन्छन्, ‘मेरो नाम प्राथमिकतामा पर्नुपर्ने हो र्‍याङ्क अनुसार । तर, यहाँ त म भन्दा पछाडिको विद्यार्थीले सर्जरीमा पढ्न पाउने नाम निकालेको छ । तर मेरो छैन ।’

डा.ओसिन शाहले शिक्षण संस्था उपत्यका बाहिरको परेपछि वीथ ड्र गरेकी थिइन् । तर, उनको पनि दोस्रो चरणमा म्याचिङ्गमा नाम अटाएन । आफ्नो भन्दा पछाडि र्‍याङ्कमा नाम निस्केको विद्यार्थीको नाम देखेपछि बुझ्नको लागि चिकित्सा शिक्षा आयोग पुगेको बताउँछिन् । उनले भनिन् ‘यो त आयोगको लापरबाही देखियो । नियमसंगत गर्नुपर्‍यो नि ।’

नर्सिङतर्फकी अर्की एक विद्यार्थी पनि शिक्षण संस्था उपत्यका बाहिर परेपछि वीथ ड्र गरेको बताउँछिन् । दोस्रो चरणको म्याचिङ्गमा नाम ननिस्किएपछि आयोगमा बुझ्न पुगेको बताउने उनले भनिन् ‘आज सिस्टमको कारण कमजोरी भएको र यसलाई सच्याउने भनिएको छ । सच्याउनुहुन्छ होला । तर आयोगले यो हदको लापरबाही गर्नु हुँदैन थियो ।’

आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले परीक्षार्थीहरुको निवेदन परेको बताए । उनले भने ‘परीक्षार्थीहरुको ६–७ वटा निवेदन परेको छ । प्राविधिक कारणले त्यसरी हो कि भनेर अहिले बैठक बसिरहेका छौं । कसरी भयो अथवा उहाँहरुको दाबी अनुसार तलमाथि भो भएन भन्न सकिने अवस्था छैन ।’

आयोगको लापरबाही नभएर प्राविधिक गडबढी भएको हुनसक्ने उनको भनाइ छ । उनले भने ‘यो आयोग कमजोरी होइन । प्राविधिक समस्या हो । पहिचान गरेर समाधान हुन्छ ।’ यदि विद्यार्थीहरुले गुनासो गरे जस्तै तलमाथि भएको हो २२ जना परीक्षार्थीको नतिजा तलमाथि भएको हुनसक्ने बताए ।

आयोगले ८, ९ र १० माघमा चिकित्सा शिक्षा स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?