+
+
जलविहार :

गर्मी छल्न छालसँग लुकामारी

विदेशी पर्यटकहरू इमान्दार हुन्छन् तर नेपालीहरू अलिक बढी उच्छृङ्खल हुने गरेको उनको अनुभव छ । भन्छन् ‘अब त विदेशी पर्यटक आउन छोडिसके जति आउने हो सबै आन्तरिक हुन्छन् । धेरै जस्तो युवा हुन्छन् । कोही कोही उच्छृङ्खल हुन्छन् । त्यस्तालाई हृयान्डल गर्नुपर्छ ।’

नुनुता राई नुनुता राई
२०७८ चैत २६ गते १९:२७

२६ चैत, काठमाडौं । गर्मी लागेसँगै पानीको छालसँग लुकामारी गर्न भोटेकोशी पुग्ने जमात बढ्न थालेको छ । ‘वाटर स्पोर्ट्स’ साहसिक खेलमध्ये एक हो । र्‍याफ्टिङ, क्यानोइङ र कायाकिङ खेल्न अहिले भोटेकोशी वरपर भीड देखिन थालेको छ ।

कोभिड-१९ का कारण करिब दुई वर्ष ठप्प भएको ‘वाटर स्पोर्ट्स’ मा यो सालदेखि पुनः चहलपहल बढ्न थालेको छ । पछिल्लो समय काठमाडौंबाट नजिक पर्ने धादिङको त्रिशूली नदी र सिन्धुपाल्चोको भोटेकोशी नदीमा र्‍याफ्टिङ गर्न काठमाडौंबाट धेरै आउँछन् । त्यसमध्ये ६७ किलोमिटरको दूरीमा पर्ने सुकुटे बजारको र्‍याफ्टिङ काठमाडौंबाट नजिक भएर पनि चर्चित छ ।

र्‍याफ्टिङ, क्यानोइङ र कायाकिङ खेल्न उपत्यकावासीहरु सुकुटे पुग्ने गरेका छन् । हरेक हप्ता २५ सयदेखि तीन हजारले र्‍याफ्टिङ गर्ने र्‍याफ्टिङ स्टार सञ्चालक दीपक कुमार राई बताउँछन् । र्‍याफ्टिङ गर्नकै लागि सुकुटे पुग्ने अधिकांश युवा पुस्ता हुन्छन् । उनीहरू गर्मी छल्न, फ्रेस हुन पानीसँग लुकामारी गर्न पुग्ने गरेका छन् ।

गत साता प्रदूषणका कारण काठमाडौंको मौसम धुम्म भयो । काठमाडौंमा बसोबास गर्दै आएकी विनिता तामाङ प्रदूषणले गर्दा उकुसमुकुस भएपछि साथीहरूसँग मिलेर र्‍याफ्टिङको लागि सुकुटे पुगिन् । बिनिता क्लोरिन नहालेको स्विमिङ पुलमा पौडी खेल्नु र नदीमा र्‍याफ्टिङ गरेपछि जाग्ने स्फूर्ति छुट्टै हुने बताउँछिन् । उनी भनिन् ‘काठमाडौंमा अफिस-घर र घर-अफिसमै समय बित्छ । प्रदूषणका कारण मौसम नै दिक्क लाग्ने भएपछि साथीहरूलाई जबरजस्ती जाउँ भनेर ल्याएर आएकी हुँ । नेचुरल स्वीमिङ पुलमा खेल्नु र र्‍याफ्टिङपछि हुने रिफ्रेसमेन्टको कुरा गरी साध्य छैन ।’

बिनिताले र्‍याफि्टङ गरेको यो चौथो पटक हो । हरेक पटक र्‍याफ्टिङ खेल्दा उस्तै स्फूर्ति मिल्ने, मजा आउने अनुभव गरेकी छिन् । आफ्नो चिनेजानेका, साथीहरूलाई जीवनमा एकपटक जसरी पनि र्‍याफ्टिङ जान सुझाउने गरेकी छिन् ।

काठमाडौंबाट पुगेका सुजन महर्जन भने पहिलो पटक गतसाता भोटेकोशी पुगे । पहिले पनि गएर र्‍याफ्टिङको मजा लिइसकेका साथीले उनीलगायत अन्य पाँच जना पुगेका थिए । उत्साहित भएर र्‍याफ्टिङ गर्न पुगेका उनीले नसोचेको रमाइलो अनुभव गरे । भन्छन् ‘र्‍याफ्टिङ गाइडले इन्स्ट्रक्सन दिँदा त नखेलौं क्या हो जस्तो डर लागेको थियो । तर, खेल्न थालेपछि अति रमाइलो भयो । फेरि आउँ जस्तो लागेको छ । साथीले पनि अति रमाइलो हुन्छ भन्थ्यो मलाई चाँहि गफ दिएको होला जस्तो लागेको थियो । तर साँच्चै रमाइलो हुने रहेछ ।’

यस्तै रमाइलो हुने भएकैले र्‍याफ्टिङ गर्न जानेहरु बढेको रहेछ भन्ने लाग्न थालेको उनले बताए । साथीभाइ, दिदीबहिनी, पारिवारिक समूह मिलाएर र्‍याफ्टिङ गर्न जानेहरु भेटिएको थियो ।

रिसोर्टमा बस्ने ठाउँ पाउनै मुस्किल

सुनकोशी र भोटेकोशी नदी वरपर १३ वटा रिसोर्ट सञ्चालनमा छन् । तर ती सबै रिसोर्टले र्‍याफ्टिङ, क्यानोइङ, कायाकिङ खेलाउँदैनन् । शुक्रबार, शनिबार सबै भरिभराउ हुन्छन् ।

यसको लागि दुईदिन अगाडि नै बुक गर्नुपर्ने अवस्था छ । बुक नगरी जानेहरु सबै रिसोर्टहरुमा बस्ने ठाउँ नभएपछि फर्किनुपर्ने गरेको र्‍याफ्टिङ स्टार सञ्चालक राई बताउँछन् । कतिपय अचानक योजना बनाएर उतै गएर बसौंला भनेर जानेहरू भने रिसोर्टमा बस्ने ठाउँ नपाएपछि र्फकने गरेको राई बताएँछन् । उनका अनुसार हप्ताभरमा ६ देखि ७ हजार आउजाउ गर्ने गरेका छन् ।

त्यहाँ खुलेका सबै रिसोर्टहरूले र्‍याफ्टिङ, क्यानोइङ, खेलहरू खेलाउँदैनन् । रिसोर्टहरुबीच समन्वय गरेर यी खेलहरु खेलाउने गरेका छन् ।

भोटेकोशी र्‍याफ्टिङमा नियमित ६० जनालाई रोजगारी

र्‍याफ्टिङ गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई पानीको छालसँँग लुकामारी गर्दै मज्जा चखाउने काम गर्छन्, गाइडहरूले । र्‍याफ्टिङ गर्दा हुन सक्ने दुर्घटनाबाट जोगाउनका लागि डुंगाको अघिपछि हिँड्छन्, कायकर । कायकरको मुख्य काम बोटबाट खसेकालाई उद्धार गर्ने हो । भोटेकोशीको र्‍याफ्टिङ दूरी ८ किलोमिटर छ । र्‍याफ्टिङ सिजनमा पर्यटकलाई रमाइलो गराउने र्‍याफ्टिङ गाइड, कायकर गरी करिब ६० जना भोटेकोशीमा कार्यरत छन् ।

सिनियर र्‍याफ्टिङ गाइड दिनेश राईले स्वदेशी विदेशी पर्यटकलाई गाइड गरेका छन् । त्यसैले कुन पर्यटक कस्ता व्यवहार देखाउँछन् भन्ने उनलाई राम्रोसँग थाह छ । विदेशी पर्यटकहरू इमान्दार हुन्छन् तर नेपालीहरू अलिक बढी उच्छृङ्खल हुने गरेको उनको अनुभव छ । भन्छन् ‘अब त विदेशी पर्यटक आउन छोडिसके जति आउने हो सबै आन्तरिक हुन्छन् । धेरै जस्तो युवा हुन्छन् । कोही कोही उच्छृङ्खल हुन्छन् । त्यस्तालाई हृयान्डल गर्नुपर्छ ।’

कसरी पुग्ने ?

भोटेकोसीमा त्यहाँ सञ्चालित रिसोर्टमार्फत र्‍याफ्टिङमा जान सकिन्छ । त्यसका लागि अनलाइन अथवा टेलिफोनमार्फत् बुक गर्न सकिन्छ । काठमाडौंबाट रिसोर्टले नै बसमा लाने र ल्याउने सुविधा दिने गरेका छन् ।

कति लाग्छ ?

सुकुटेमा सञ्चालित रिसोर्टहरुमा लाग्ने शुल्कमा एकरुपता छ । कसैले धेरै र कसैले सस्तो लिने गरेपछि सिन्धु पर्यटन व्यवसायी संघ गठन गरेर शुल्कमा एकरुपता ल्याउने प्रयास गरिएको व्यवसायीहरु बताउँछन् ।

सामान्यतया र्‍याफि्टङको लागि जानेहरुले प्रतिव्यक्ति २५०० रुपैयाँदेखि ३५०० रुपैयाँसम्म तिर्नुपर्छ । यो शुल्कमा काठमाडौंबाट सुकेटे जान, त्यहाँ बस्दा खाना खाजा, बस्ने व्यवस्था र भोलिपल्ट काठमाडौं फर्किनेसम्मको शुल्क समावेश हुन्छ । आफूलाई मन परेको अरु खानपिनको लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।

संघले तोकेको मापदण्डभित्र रहेर शुल्क लिनुपर्ने हुन्छ । र्‍याफिटिङको लागि १५ सय, टेन्टमा बसेको २२ सय, यातायात खर्च ६ सयदेखि ७ सयसम्म राखिएको छ । त्यहाँ दिइने सुविधाको आधारमा सेवाग्राहीसँग शुल्क लिने गरिन्छ ।

पछिल्लो समय रिसोर्टमा एसी रुमको सुविधा समेत पाउन सकिन्छ । त्यस्तो कोठाको लागि ३५ सय शुल्क तोकिएको छ । प्याकेजमा जाँदा त्यहाँको सुविधा अनुसार शुल्कमा फरक हुने गर्छ ।

तस्वीर सौजन्य : र्‍याप्टिङ स्टार

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?