+
+

उमा पौडेलको ‘घुम्टी’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ७:५६

२७ चैत, काठमाडौं । उमा पौडेलको पुस्तक ‘घुम्टी’ विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक विमोचन गरेका हुन् ।

‘घुम्टी’ रोजगारीका सिलसिलामा विदेशिएका युवाहरू र उनीहरूको पर्खाइमा बसेका परिवारको भावना समेटिएको वास्तविक कथा हो ।

घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू विदेश जानुपर्ने बाध्यता, श्रीमान् विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमान्लाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताए ।

‘सामान्यतया वैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ’ कार्कीले भने, ‘तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाइएको छ।’ नदेखिएको वा खोज्न नखोजिएको पाटोको उजागर पुस्तकले गरेको उनको भनाइ थियो ।

सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरेले घुम्टी वर्तमान समाजको यर्थाथ चित्र बोकेको पुस्तक भएको बताइन् ।

घिमिरेले वैदेशिक रोजगारको सामाजिक मूल्य सम्बन्धी विषय उठान गर्दा लैगिंक संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताउदै यसबारेमा अझै धेरै कलम चलाउनुपर्ने आवश्यकता रहेको औल्याइन् ।

यस्तै सचिव अर्यालले वैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउँदै वैदेशिक रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताए ।

विदेशबाट फर्किएर आएकाहरूलाई सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको बताउँदै सचिव अर्यालले यसले विदेशबाट फर्किएकाहरूको जीवीकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लेखक पौडेलले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन् ।

पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नुपर्दाका दुःख, अझ परिवारका भरोसा मानेका पुरुषलाइ उतै गुमाउनुपर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ ।

लेखक पौडेलको यो पहिलो कृति हो । पुस्तकमा विदेश गएका आफन्तको पर्खाइमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन् ।

वर्षौदेखि विदेश गएका श्रीमान्को पखाईमा बसेका श्रीमती, बेपत्ता श्रीमानको खोजीमा भौतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बा को पर्खाइमा रहेका छोराछोरीका कथा पुस्तकमा छ ।

धन कमाउन मायाँ गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवार बीचको विछोडको कथा पुस्तकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?