News Summary
Generated by OK AI. Editorially reviewed.- विदेशिएका नेपाली युवाले रहरले भन्दा पनि देशमा अवसरको अभाव र बाध्यताका कारण कठिन श्रम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
- परदेशमा पसिना बगाइरहेका विद्यार्थीहरूको आर्थिक सङ्घर्षका साथै उनीहरूको मानसिक पीडा र पारिवारिक दूरीको वास्तविकतालाई राज्यले गम्भीरतापूर्वक बुझ्नुपर्छ ।
- युवाहरूको श्रम र सीपलाई सम्मान गर्दै स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकारले नीतिगत सुधार र व्यावसायिक शिक्षामा जोड दिनु आवश्यक छ ।
‘कमाइ राम्रो हुन्छ, तर सजिलो हुँदैन।’ यो एउटा छोटो वाक्यभित्र परदेशमा रहेका लाखौं नेपालीका अनगिन्ती कथा लुकेका छन्। स्वदेशमा बस्नेहरूका लागि विदेश कहिलेकाहीं सुनको देश जस्तो देखिन्छ- राम्रो कमाइ, सुविधासम्पन्न जीवन र उज्ज्वल भविष्यको सपना। तर त्यो सपनाको अर्को पाटोमा पसिनाले भिजेका दिन, थकानले भारी भएका रात, एक्लोपनले भरिएका कोठा र घर सम्झेर चुपचाप बगेका आँसुहरू हुन्छन्।
अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थीको कथा त झनै संवेदनशील छ। उनीहरू पढ्न मात्र विदेशिएका हुँदैनन्; आफ्नो परिवारको सपना बोकेर, ऋणको भारी काँधमा राखेर, भविष्यको आशा आँखामा सजाएर परदेशिएका हुन्छन्।
विमानस्थलमा बिदाइका हात हल्लाउँदा उनीहरूले आमाबुबालाई मुस्कान दिन्छन्, तर मनभित्र भने एउटा ठूलो डर हुन्छ- ‘अबको जीवन कस्तो होला ?’ परदेश पुगेपछि सपनाको वास्तविक परीक्षा शुरु हुन्छ।
दिउँसोमा कक्षा, रातमा काम। कहिलेकाहीं बिहानदेखि बेलुकासम्म अध्ययन, अनि बेलुकादेखि मध्यरातसम्म श्रम। कतिपयले दिनहुँ १०/१२ घण्टा काम गर्नुपर्छ। शरीर थाक्छ, आँखा पोल्छन्, खुट्टा दुख्छन्, मन भारी हुन्छ; तर विश्रामका लागि समय हुँदैन। भोलिको कलेज शुल्क, घरको ऋण, कोठाको भाडा, खानपान र परिवारको अपेक्षाले थकित शरीरलाई फेरि उठाउँछ। कहिलेकाहीं उनीहरू मानिसभन्दा बढी रोबोट जस्ता देखिन्छन्- उठ्ने, काम गर्ने, पढ्ने, खाने, सुत्ने र फेरि त्यही चक्र दोहोर्याउने।
भावनाका लागि समय छैन, थकानका लागि छुट्टी छैन, आँसुका लागि एकान्त छैन। उनीहरू मुस्कुराउँछन्, किनकि घरमा फोन गर्दा ‘म ठिक छु’ भन्नुपर्छ। उनीहरू दुख्छन्, तर पीडा लुकाउँछन्, किनकि आमाबुबालाई चिन्ता गराउन चाहँदैनन्। परदेशमा रहेका नेपाली विद्यार्थीको सबैभन्दा ठूलो सङ्घर्ष कहिलेकाहीं आर्थिक होइन, भावनात्मक हुन्छ।
घरमा आमा बिरामी हुँदा छुन सकिंदैन। बुबाको जन्मदिनमा अँगालो हाल्न सकिंदैन। चाडपर्व आउँदा घरको आँगन सम्झिन्छ। दशैंको टीका, तिहारको देउसी-भैलो, आमाको हातले पकाएको खाना, गाउँको बाटो, साथीहरूको जमघट- यी सबै सम्झनाहरू परदेशको सानो कोठामा आएर मनभरि बस्छन्। परदेशमा भौगोलिक दूरी मात्र हुँदैन, समय, परिस्थिति र भावनाको दूरी पनि भइरहेको हुन्छ।
देश छोडेर जानेहरूलाई कतिपयले ‘विदेश गएर रमाइरहेका छन्’ भन्छन्। तर उनीहरूको वास्तविकता बुझ्न एकपटक उनीहरूसँगै काम गर्नुपर्छ। उनीहरूको हातमा देखिने कमाइभन्दा पहिले हातमा परेको श्रमको कठोरता बुझ्नुपर्छ। बैङ्क खातामा जम्मा भएको रकमभन्दा पहिले शरीरबाट बगेको पसिना देख्नुपर्छ। विदेशमा कमाएको पैसा केवल पैसा होइन; त्यसमा कसैको निद्रा मिसिएको हुन्छ, कसैको स्वास्थ्य, कसैको यौवन, कसैको पारिवारिक समय र कसैको अधुरो जीवन।
आज लाखौं नेपाली युवा अध्ययन, रोजगारी र भविष्यको खोजीमा विदेशिएका छन्। उनीहरू देशका सम्भावना हुन्। उनीहरूलाई देशले गुमाएका नागरिकका रूपमा होइन, भविष्यका दक्ष जनशक्तिका रूपमा हेर्नुपर्छ। तर विडम्बना के छ भने देशमा अवसरको अभावले उनीहरूलाई बाहिर जान बाध्य बनाउँछ र त्यहाँ पुगेपछि उनीहरूको श्रमले नेपालको अर्थतन्त्रलाई धानिरहेको हुन्छ।

विदेशबाट आउने रेमिट्यान्सले घर चलेको छ। गाउँका घरहरू बनेका छन्। छोराछोरी पढेका छन्। स्वास्थ्य उपचार भएको छ। व्यवसाय चलेका छन्। देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ। तर प्रश्न उठ्छ- हामीले युवाको श्रम त लिइरहेका छौं, उनीहरूको भविष्यका लागि देशले के दिइरहेको छ ?
देशका युवा विदेशिनु अपराध होइन। विश्वसँग जोडिनु, नयाँ ज्ञान सिक्नु, नयाँ सीप हासिल गर्नु र अवसर खोज्नु स्वाभाविक कुरा हो। समस्या तब शुरु हुन्छ, जब देशमा बस्ने सम्भावना नै देखिंदैन। जब शिक्षित युवा आफ्नै देशमा रोजगारी खोज्दा निराश हुन्छन्, जब सीप अनुसारको काम पाइँदैन, जब श्रमको सम्मान हुँदैन, जब राजनीतिक पहुँच र नातावादले योग्यतालाई पछाडि पार्छ, जब उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट र अस्थिर नीतिले निरुत्साहित गर्छ, त्यसपछि विदेश एउटा विकल्प मात्र रहँदैन, बाध्यता बन्न थाल्छ।
हामीले युवालाई दोष दिनुअघि उनीहरू किन गए भनेर सोध्नुपर्छ। उनीहरू देशलाई माया गर्दैनन् भनेर आरोप लगाउन सजिलो छ। तर देशलाई माया गर्नेहरू नै कहिलेकाहीं देशको अवस्था देखेर सबैभन्दा बढी पीडित हुन्छन्। परदेशमा बसेर नेपाली झन्डा हेर्दा उनीहरूको आँखामा आँसु आउँछ। राष्ट्रिय गीत सुन्दा छाती गर्वले फुल्छ। नेपाली भाषा बोल्ने मान्छे भेट्दा आफ्नै परिवार भेटे जस्तो लाग्छ। उनीहरू देशबाट टाढा छन्, तर देश उनीहरूको मनबाट कहिल्यै टाढा भएको हुँदैन।
परदेशमा बसेका नेपालीको देशप्रेम प्रमाणित गर्न कुनै प्रमाणपत्र आवश्यक छैन। उनीहरूले पठाएको पैसा, परिवारका लागि गरेको त्याग र देशको अर्थतन्त्रमा दिएको योगदान आफैंमा एउटा मौन राष्ट्रसेवा हो।
तर राष्ट्रसेवा रेमिट्यान्स पठाउनु मात्र होइन। राज्यको दायित्व पनि छ- विदेशिएका नागरिकको श्रम, सीप र ज्ञानलाई सम्मानपूर्वक राष्ट्र निर्माणसँग जोड्ने। सरकारले विदेश अध्ययनमा जाने विद्यार्थीका लागि स्पष्ट, पारदर्शी र प्रभावकारी सूचना प्रणाली विकास गर्नुपर्छ। कुन देशमा कुन विषय पढ्दा कस्तो अवसर छ ? कानूनी अधिकार के हुन् ? कामको सीमा कति हो ? आवास र स्वास्थ्य सम्बन्धी जोखिम के छन् ?
यी सबै बारे विद्यार्थीलाई विदेश जानुअघि नै विश्वसनीय जानकारी दिनुपर्छ। विदेशमा रहेका विद्यार्थीका लागि नेपाली दूतावास र कूटनीतिक नियोगहरू केवल कागजी काम गर्ने कार्यालय हुनुहुँदैन, भरोसाको घर बन्नुपर्छ। श्रमशोषण, मानसिक तनाव, कानूनी समस्या, दुर्घटना वा आपत्कालीन अवस्थामा उनीहरूले तत्काल सहयोग पाउने व्यवस्था हुनुपर्छ।
त्यसैगरी नेपालमा शिक्षा र रोजगारीको गुणस्तर सुधार गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो। विश्वविद्यालयहरूलाई अनुसन्धान, सीप र रोजगारीसँग जोड्नुपर्छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई सम्मानित र रोजगारीमुखी बनाउनुपर्छ। युवाले ‘पढेपछि विदेश जानुपर्छ’ होइन, ‘पढेपछि आफ्नै देशमा पनि सम्भावना छ’ भन्ने विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्छ।
राजनीतिक दलहरूले युवालाई भाषणको विषय मात्र होइन, नीतिनिर्माणको केन्द्र बनाउनुपर्छ। युवाको नाममा नारा लगाएर उनीहरूको भविष्यलाई राजनीतिक स्वार्थको सिंढी बनाउनुहुँदैन। स्थिर नीति, पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण, उद्यममैत्री वातावरण र उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी युवालाई देशमा रोक्न सकिंदैन।
आज विदेशमा रहेका नेपाली विद्यार्थीलाई ‘तिमीहरू फर्केर आऊ’ भन्नुअघि नेपालले उनीहरूलाई फर्किएपछि के दिन सक्छ भन्ने प्रश्नको उत्तर दिनुपर्छ। के उनीहरूले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनेछन् ? के उनीहरूको सीपको सम्मान हुनेछ ? के उनीहरूले व्यवसाय शुरु गर्दा अनावश्यक झन्झट भोग्नुपर्ने छैन ? के उनीहरूको मिहिनेत राजनीतिक पहुँचभन्दा माथि मूल्याङ्कन हुनेछ ? यी प्रश्नहरूको जवाफ नदिई केवल भावनात्मक अपिलले युवालाई देश फर्काउन सकिंदैन।
हामीले यस्तो नेपाल निर्माण गर्नुपर्छ, जहाँ विदेश जानु रहर होस्, बाध्यता होइन। जहाँ विदेशबाट फर्किएको सीपलाई अवसर मिलोस्। जहाँ युवाको श्रमलाई सम्मान होस्। जहाँ भविष्य खोज्न आफ्नै देश छोड्नुपर्ने बाध्यता कम हुँदै जाओस्।
परदेशमा रहेका विद्यार्थीलाई हामीले केवल पैसा पठाउने मेसिनका रूपमा हेर्नुहुँदैन। उनीहरू पनि सपना, संवेदना, थकान र पीडा बोकेका मानिस हुन्। उनीहरूले पनि घर सम्झिन्छन्। उनीहरूलाई पनि बिरामी पर्दा आमाको हात चाहिन्छ। उनीहरूलाई पनि कहिलेकाहीं कसैले सोधोस् भन्ने लाग्छ, ‘तिमी साँच्चिकै ठिक छौ ?’ त्यसैले, उनीहरूलाई केवल ‘कति कमायौ ?’ भनेर नसोधौं। कहिलेकाहीं सोधौं- ‘तिमीले आज कति घण्टा काम गर्यौ ?’, ‘तिमी धेरै थाकेका त छैनौ ?’, ‘तिम्रो पढाइ कस्तो भइरहेको छ ?’, ‘तिमीलाई कसैको सहयोग चाहिएको छ ?’
किनकि परदेशमा रहेका हरेक नेपालीको जीवनमा एउटा अदृश्य कथा हुन्छ। त्यो कथा बैङ्क स्टेटमेन्टमा देखिंदैन। त्यो कथा सामाजिक सञ्जालका मुस्कुराएका तस्बिरमा देखिंदैन। त्यो कथा उनीहरूको मौनतामा लुकेको हुन्छ। उनीहरू परदेशमा पसिना बगाइरहेका छन्, तर आँखाभरि देश बोकेर। उनीहरू टाढा छन्, तर देशप्रतिको माया नजिकै छ। उनीहरू थाकेका छन्, तर परिवारको सपना पूरा गर्ने दृढता अझै बाँकी छ। उनीहरू रोबोट जसरी काम गरिरहेका छन्, तर उनीहरूको हृदय अझै मानवीय संवेदनाले भरिएको छ।
हामीले उनीहरूको कमाइ मात्र होइन, पीडा पनि बुझ्नुपर्छ। किनकि एउटा पुस्ता परदेशमा आफ्नो यौवन खर्च गरिरहेको छ- कसैको घर बनाउन, कसैको परिवार पाल्न, कसैको सपना पूरा गर्न र कहिलेकाहीं आफ्नै देशको अर्थतन्त्र धान्न। अब प्रश्न उनीहरूलाई मात्र होइन, हामी सबैलाई हो।
के हामी यस्तो देश बनाउन सक्छौं, जहाँ हाम्रा छोराछोरीले भविष्य खोज्न विदेश जानै पर्ने नहोस् ? यदि सक्छौं भने, त्यो काम आजैबाट शुरु गर्नुपर्छ। किनकि परदेशमा रहेका हाम्रा युवा केवल परिवारका सन्तान होइनन्; उनीहरू राष्ट्रका सम्भावना हुन्।
राष्ट्रले उनीहरूको पसिनाको मूल्य बुझ्ने, उनीहरूको पीडालाई सुन्ने र उनीहरूको सीपलाई स्वदेशको विकास निर्माणमा जोड्ने दिनदेखि मात्र समृद्धिको वास्तविक यात्रा शुरु हुनेछ।
प्रतिक्रिया 4