+
+

टी–२० विश्वकप २०२४ मा छनोटबाट ८ टोली जाने, १२ टिम सिधै छनोट हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते २०:२१

२७ चैत, काठमाडौं । सन् २०२४ को टी–२० विश्वकपमा ८ टोली छनोट चरणबाट जाने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ निर्णयबाट नेपाललाई पनि केही सहज हुने देखिन्छ ।

आईसीसीको बोर्ड बैठकले आइतबार विश्वकप खेल्ने टोलीको छनोट प्रक्रिया टुंगो लगाएको हो, जसअनुसार १२ टिम सिधै छनोट हुनेछन् । जसमा आयोजक वेष्ट इण्डिज र अमेरिकासँगै आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका शीर्ष ८ टिम पर्छन् ।

थप दुई टिम १४ नोभेम्बर २०२२ को टी–२० र्‍याङकिङमा छनोट भएका (१०) बाहेकको शीर्ष टोली आउनेछन् । यदि वेष्ट इण्डिजले अष्ट्रेलिया विश्वकपमा शीर्ष ८ मा स्थान बनाए र्‍याङकिङका आधारमा तीन टोली आउनेछ ।

बाँकी ८ टिम भने छनोट प्रतियोगितामार्फत् टी–२० विश्वकपमा पुग्ने छन् । एशिया, अफ्रिका र युरोपका २–२ तथा अमेरिका र इष्ट एशिया प्यासिफिकको क्षेत्रीय छनोटबाट १–१ टिमले टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

अष्ट्रेलियामा नोभेम्बरमा हुने टी–२० विश्वकपमा चार टोली छनोट चरणबाट विश्वकपमा पुग्छन् । २०२४ मा थप चार टोली जाने हुँदा नेपाल जस्ता एशोसिएट सदस्य राष्ट्रको सम्भावना हुनेछ ।

यस्तै आईसीसी महिला च्याम्पियन्ससिपमा १० टोली सहभागी गराउनका लागि एशोसिएट राष्ट्रका महिला टिमलाई एक दिवसीय मान्यता दिने सिफारिसलाई बोर्ड बैठकले हरियो झण्डा देखाएको छ ।

सन् २०२४ मा हुने महिला टी–२० विश्वकपमा तोकिएको मितिसम्मको वरीयताका शीर्ष ८ टिमलाई सोझै र २ टिमलाई छनोटमार्फत् सहभागी गराउने निर्णय आईसीसीले गरेको छ ।

बैठकले २०२३ को आईसीसी यू–१९ महिला टी–२० विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?