+
+

रुपन्देहीमा व्यवसायीले आफूखुसी बढाए इन्धनको मूल्य

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत २८ गते १४:३९

२८ चैत, बुटवल । सरकारी नियामक निकायको निर्देशनलाई कुल्चेर रुपन्देहीका पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य आफैं बढाएर बिक्री गरेका छन् ।

नेपाल आयल निगम भलबारी डीपोले डीपोबाट १५ किलोमिटरभित्रको पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोके पनि पेट्रोेल पम्पहरुले १६० रुपैयाँ २० पैसा लिने गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवलले निगमले तोकेको खुद्रा मूल्य भन्दा प्रति लिटर २० पैसा बढी लिएर बिक्री गर्न आफू मातहतका पेट्रोल पम्पहरुलाई पत्राचार नै गरेको छ । सोही अनुसार पम्पहरुले बढी मूल्यमा पेट्रोल बेच्ने गरेका छन् ।

आयल निगमको भलबारी डीपोबाट १५ किलोमिटर दूरीमा ५३ वटा बढी पेट्रोलपम्प रहेका निगमका कर्मचारी मनोहर डीसीले बताए । यी पेट्रोल पम्पमा निगमबाट मासिक सरदर १९ लाख १९ हजार ४ सय १४ लिटर पेट्रोल आपूर्ति हुने गरेको छ । यस हिसाबले सबै पम्पको बिक्रीबाट मासिक ३ लाख ८३ हजार ८ सय ८२ दशमलब ८ पैसा उपभोक्ताबाट बढी रकम असुलिएको देखिन्छ ।

डीपोका कार्यालय प्रमुख नवदीप पोखरेलले निगमले तोकेको भन्दा बढी मूल्य लिनु गैरकानुनी भएको भन्दै त्यस्ता पम्पलाई कारबाही गर्ने बताए । अहिले डीपोमा निर्माणको काम भइरहेको र कर्मचारी कम भएकाले अनुगमन गर्न नपाइएको पोखरेलले बताए ।

व्यवसायी र निगमका कर्मचारीको मिलेमतो !

उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले व्यावसायिक संस्थाले आफू मातहतका व्यवसायीलाई लिखितरुपमा खुलेयाम सरकारले तोके भन्दा बढी मूल्य लिन लगाउनु कानुनी राज्यको खिल्ली उडाउनु भएको भन्दै गैरकानुनी काम गर्नेमाथि करबाही हुनुपर्ने बताए ।

सरकारी निकायले प्रभावकारी अनुगमन र कारबाही नगर्दा उपभोक्ता ठगीमा परेका पाठकले बताए । ‘पम्पहरुले खुलेयाम बढी मूल्य असुल्दा पनि आयल निगम मुकदर्शक बन्नुले व्यवसायी र निगमका कर्मचारीको मिलेमतोको आशंका छ,’ पाठकले भने, ‘यसबारे गहिराइमा पुगेर छानबिन हुनुपर्छ ।’ नियमित अनुगमन नहुँदा पेट्रोल पम्पहरुले परिमाणमा समेत ठग्ने गरेको गुनासो उपभोक्ताहरुबाट आउने गरेको अध्यक्ष पाठकले बताए ।

आयल निगमको एकाधिकारका कारण उसका गतिविधिहरु अपारदर्शी र व्यवसायीसँग मिलेमतोमा हुने गरेकाले संघीय सरकारको ध्यान जानुपर्ने पाठकले बताए ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बुटवलका अध्यक्ष प्रेम न्यौपानेले आयल निगमले तोकेको भन्दा प्रतिलिटर ४ पैसा बढी मूल्यमा इन्धन खरिद गर्नुपरेको, ढुवानी भाडा पनि ४ पैसा बढी तिर्नुपरेको र १२ हजार लिटर इन्धन खरिद गर्दा ७२ लिटर नोक्सानी हुने मापदण्ड भएपनि त्यो भन्दा धेरै नोक्सान हुने भएकाले त्यसैको क्षतिपूर्तिका लागि प्रतिलिटर २० पैसा बढी लिएर बिक्री गर्नुपरेको बताए ।

निगमले तोकेको खुद्रा मूल्यमा व्यवसायीले भलबारी डीपोबाट हुने दूरी अनुसार ५ रुपैयाँसम्म बढी जोडेर उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?