+
+

मकवानपुरमा एकीकृत सुरक्षा रणनीति तयार, मतदानस्थलको निरीक्षण सुरु

१९ मतदानस्थल अतिसंवेदनशील

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १०:०२

२९ चैत, हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अनुगमन थालिएको छ । वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति तयार पारे सँगै अनुगमन थालिएको हो ।

भौगोलिक अवस्था र सुरक्षालाई केन्द्रित गर्दै प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षण थालिएको छ ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशतभन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट भएको छ ।

जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । १६५ वटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।

उनका अनुसार जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का अनुसार कार्य भइरहेको छ ।

‘मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएका छौं’ उनलाे भने, ‘विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण भइसकेको छ ।’ प्रजिअ पाण्डेले बाँकी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण क्रमशः गरिने जानकारी दिए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूका निर्देशन समेत दिइसकिएको छ ।

जिल्लाका लागि एक हजार ४७३ जना म्यादी प्रहरी छनोट गरिसकिएको छ । उनका अनुसार हाल स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल/मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयार पार्ने काम भइरहेको छ ।

जिल्लामा १६५ मतदान स्थल

हेटौंडा- जिल्ला निर्वाचन व्यवस्थापन समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण गरी गृह मन्त्रालय पठाएको प्रतिवेदन स्वीकृत भएसँगै जिल्लामा मतदान स्थलको निक्यौल भएको हो ।

मन्त्रालयमा पठाइएको प्रतिवेदन अनुसार सुरक्षाका दृष्टिकोणले मकवानपुरका १० वटा स्थानीय तहका १६५ मतदानस्थल मध्ये राक्सिराङ्, हेटौंडा, बागमती, बकैयाका केही मतदानस्थल अति संवेदनशील सूचीमा समावेश रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

राक्सिराङ गाउँपालिकाका ९ वडामा १९ वटा मतदानस्थलमा २१ मत केन्द्र छन् । भौगोलिक विकटता तथा सुरक्षाका हिसाबले ती मतदान केन्द्रहरू अति संवेदनशील क्षेत्रमा वर्गीकरण गरिएको छ ।

स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सारिएको छ भने एक मतदान स्थल थपिएको छ । हेटौंडा-४ को बासुदेव सभागृहको मतदानमा रहेको मतदान स्थललाई हेटौंडा-४ भूटनदेवी माध्यमिक विद्यालयमा सारिएको छ । सभागृह भत्काउने कार्य भएकाले केन्द्र सारिएको हो ।

मनहरी गाउपालिका -६ मा एउटा मतदानस्थल थप भएको छ । भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा मतदानस्थल थपिएको हो । योसंगै मकवानपुरमा मतदानस्थलको संख्या १६५ पुगेको छ । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल कायम थियो । यसअघि २९५ मतदान केन्द्र थियो । मकवानपुरमा करिब ४० हजार मतदाता थपिएका छन् । जिल्लामा मतदाताको संख्या २ लाख ९५ हजार ५५० पुगेको छ ।

२०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६०४ जना मतदाता थिए । बागमती प्रदेशको एकमात्र हेटौंडा उपमहानगरपालिकामा एक लाख चार हजार ५१३ मतदाता रहेका छन् भने जिल्लाको सबैभन्दा सानो इन्द्रसरोवरमा १२ हजार ४९५ मतदाता रहेका छन्।

यसैगरी कैलाश गाउँपालिकामा १४ हजार ६२०, थाहा नगरपालिकामा ३२ हजार ३१६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९० मतदाता रहेका छन भने भीमफेदीमा १७ हजार ४४७, मकवानपुरगढीमा- १९ हजार १५०, मनहरीमा २६ हजार ७५१ र राक्सिराङमा १५ हजार ८७३ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?