+
+

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

रासस रासस
२०७८ चैत ३० गते ८:२९

३० चैत, गलकोट । बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् ।

श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धवलागिरि क्याम्पसबाट दश जोड दुई उत्तीर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौंस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे । विसं २०७२ को भूकम्पपछि काठमाडौंको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन् । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन् । अब उनको कुखुरापालन गर्ने योजना छ ।

‘गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए’ थापाले भने, ‘गाउँमै केही गर्ने सोच पलायो ।’ बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ । अहिले उनी फार्म विस्तारमा लागेका छन् । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिएका छन् । उनले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गरेका हुन् । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उनी बताउँछन् । ‘हालसम्म ३० लाख लगानी गरिसकेको छु’, उनले भने ।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवर्धन गर्न नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताए । उनले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गरेका छन् । ‘गाउँ उजाडिंदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरू बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्कें’, थापाले भने ।

व्यवसायमा उनलाई भाइ रिमबहादुरले सहयोग गरिरहेका छन् । आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गरेका छन् ।

सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताए । ‘बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्’, उनले भने । चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?