+
+
Shares

राजनीतिको रापबाट माटोको सुवासतिर सुदिन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते ८:१८

२५ कात्तिक, तनहुँ । कुनै समय क्याम्पसका भित्ताहरूमा अधिकारका नारा घन्काउने र समाजका बेथितिविरुद्ध औँला ठड्याउने तनहुँको बन्दीपुरका सुदिन पौडेल अहिले आफ्नो परिचय फेर्ने अभियानमा जुटेका छन् । गाउँ फर्किएर आफ्नै गाउँको माटोमा नवीन कामको सुरुवात गरेका छन् ।

वि.सं. २०५० मा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा जन्मिएका सुदिन पौडेल माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका प्रत्याशीसमेत बने । तर, उनी निर्वाचित हुन सकेनन् । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नुपर्ने अभियानका मुख्य अभियन्ता बनेका सुदिनको एजेन्डा पारित भयो, तर उनी आफैँ भने नेतृत्वमा पुग्न सकेनन् ।

कुनै समय जुझारु विद्यार्थी आन्दोलनको अगुवाइ गरेका सुदिन हिजोआज बन्दीपुरको पाखामा पसिना बगाउँदै व्यावसायिक कृषक र पर्यटन अभियन्ताका रूपमा चिनिन थालेका छन् ।

राजनीति केवल भाषण र पदमा मात्र सीमित हुनुहुँदैन भन्ने चेतका साथ उनी गाउँ छाडेर सहर र सहर छाडेर विदेश जाने युवा पुस्ताको भीडभन्दा फरक देखिए । उनी आफ्नै थातथलो फर्किए ।

लामो समयदेखि बाँझो रहेको परिवारको २० रोपनी जग्गा र थप ३५ रोपनी जमिन भाडामा लिएर पौडेलले कुल ५५ रोपनी क्षेत्रफलमा कृषि कर्म थालेका छन् । व्यावसायिक रूपमा सयपत्रीलगायत फूल खेती सुरु गरेका उनले यस सिजनमा मात्रै १५० किलो फूल उत्पादन गरी बिक्री गरे ।

फूलसँगै उनले मौसमी तरकारी र अन्नबाली पनि लगाएका छन् । पौडेलले ५० वटा लिची, १५० वटा कागती र १०० वटा आँपका बिरुवा रोपेका छन् । अन्य जमिनमा आलु, कोदोलगायत रैथाने बालीको खेती गरेको उनले बताए ।

बन्दीपुर र डुम्रे उनको उत्पादनका मुख्य बजार हुन् । माटोसँगको यो सहकार्यले कृषि कर्मबाट पनि सुखी र स्वाभिमानी जीवन बिताउन सकिन्छ भन्ने आत्मसन्तुष्टि उनलाई मिलेको छ ।

कृषि र पर्यटनलाई सँगसँगै जोड्ने उद्देश्यले गाउँ फर्किएका सुदिनले गाउँमा खिसीट्युरी गर्नेहरू पनि भेटे । यतिको उमेरमा विदेश नगएर किन गाउँ फर्किएको होला भन्नेहरू पनि थिए । तर, त्यसलाई बेवास्ता गर्दै उनी आफ्नो कर्ममा निरन्तर जुटिरहे ।

उनका अन्य साथीहरू पनि अहिले गाउँमै केही गरौँ भनेर फर्किने सोचमा रहेको सुदिन बताउँछन् । ‘केही साथीहरूले ठूलो स्केलमा केरा खेती लगाउने तयारी गरेका छन्, केहीले अन्य कृषि कर्म गर्ने सोच्दै छन्,’ सुदिन भन्छन्, ‘अब हामी व्यावसायिक उत्पादनमार्फत देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ भन्ने सोच धेरैमा आएको देख्छु ।’

सुदिनको सपना यतिमै रोकिँदैन । प्रकृतिको वरदान पाएको बन्दीपुरको ऐतिहासिक महत्त्वलाई उनी पर्यटनसँग जोड्न चाहन्छन् । ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने हुटहुटीका साथ उनी अहिले स्थानीय कला–संस्कृतिको संरक्षणमा जुटेका छन् ।

गाउँमै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उनले नेपालकै सबैभन्दा ठूलो ‘खुर्पा’ तयार गरी ‘खुर्पा पार्क’ निर्माणका लागि स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेका छन् । आफ्नै पहलमा यहाँ लोप हुन लागेका पुराना तथा पुरातात्त्विक सामग्रीको संरक्षणका लागि एउटा सङ्ग्रहालयसमेत निर्माण भइरहेको उनले बताए ।

राजनीति, कृषि र पर्यटनलाई एकसाथ अघि बढाइरहेका सुदिन पौडेल आजका धेरै निराश युवाका लागि गाउँमै सम्भावना खोज्न सकिन्छ भन्ने एउटा सुन्दर उदाहरण बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?