+
+

‘साउथ’को दबदबाबीच आउन लागेका यी फिल्मले फर्काउलान् बलिउडको साख ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १३:४७

काठमाडौं । कोरोना महामारीपछि भारतीय फिल्म उद्योग आफ्नो पुरानै लयमा फेरि फर्किन थालेको छ । बलिउड फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा समातेको लय कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’सम्म आइपुग्दा मीठो बनेको छ ।

पछिल्लो समय बक्स अफिसमा दक्षिण भारतीय फिल्मको दबदबा देखिन्छ । अल्लु अर्जुनको ‘पुष्पा’ले बक्स अफिसमा सनसनी मच्यायो भने एसएस राजामौली निर्देशित ‘आरआरआर’ त सुनामी नै ल्याइदियो । बिहीबारबाट प्रदर्शनमा आएको यश स्टारर ‘केजीएफ–२’ले त यो सुनामीको गति अरु तीव्र बनाउने संकेत देखाइसकेको छ ।

यता बलिउडमा भने ‘सूर्यवंशी’पछि बक्स अफिसमा कमाइको गति केही धिमा बनेको थियो, भलै बीचमा ‘द कश्मीर फाइल्स’ले केही राहत दियो । तर अब रिलिजको तयारीमा रहेका केही फिल्मले भने बलिउडलाई पुरानै गतिमा ल्याउने अपेक्षा गरिएको छ । दर्शकका लागि प्रतीक्षित बनेका यी फिल्मले साउथ फिल्मलाई टक्कर दिने सम्भावना छ ।

भुलभुलैया २

यो फिल्ममा कार्तिक आर्यनको मुख्य भूमिका रहेको छ । फिल्म ‘भुलभुलैया’को सिक्वेल हो । यो फिल्मलाई लिएर दर्शकहरुमा लामो समयदेखि प्रतीक्षा छ । ‘भुलभुलैया २’ निर्देशक अनिष बज्मी हुन् । उनलाई मसला फिल्मको महारथी नै मानिन्छ । साउथका मसला फिल्मले बक्स अफिस कब्जा गरिरहेको बेला यो फिल्मले बलिउडलाई राहत दिनसक्ने अपेक्षा गरिएको छ ।

सन् २००७ मा रिलिज भएको अक्षय कुमारको मुख्य भूमिका रहेको ‘भुलभुलैया’को प्रियदर्शनले निर्देशन गरेका थिए ।

पृथ्वीराज

यशराज फिल्म्सको ब्यानरमा बनिरहेको यो फिल्ममा अक्षय कुमारको केन्द्रीय भूमिका छ । यही फिल्मबाट पूर्व विश्व सुन्दरी मानुषी छिल्लर बलिउडमा डेब्यु गर्दैछिन् । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरिरहेका छन् ।

एक भिलेन रिटर्न्स

एकसमय फिल्म ‘एक भिलेन’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो । दर्शकहरुले यो फिल्मलाई खुबै रुचाएका थिए । अब यसको अर्को सिरिजलाई मोहित सुरीले निर्देशन गरिरहेका छन् । ‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहम, तारा सुतारिया, आदित्य राय कपुर, दिशा पटानी र अर्जुन कपुरको मुख्य भूमिका रहेको छ । यस फिल्मले पनि अघिल्लो सिरिजले जस्तै राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

लाल सिंह चड्डा

बलिउडका मिस्टर पर्फेक्सस्टि भनिने आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’लाई बहुप्रतीक्षित मानिएको छ । साउथ फिल्म ‘केजीएफ–२’ सँगै रिलिज हुने भनिएपनि प्राविधिक कारण देखाउँदै यो फिल्म पछि सारिएको छ ।

हलिउड फिल्म ‘द फरेस्ट गम्प’मा आधारित ‘लाल सिंह चड्डा’ले बलिउड दर्शकलाई हलमा फर्काउने अपेक्षा गरिएको छ । अद्वेत चन्दनले निर्देशन गरेको फिल्ममा करिना कपुरको पनि मुख्य भूमिका रहेको छ ।

ब्रम्हास्त्र

भर्खरै विवाह बन्धनमा बाँधिएका सेलिब्रिटी जोडी रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘ब्रम्हास्त्र’ यो वर्षको अर्को बहुप्रतीक्षित फिल्म हो । ठूलो बजेटमा बनेको यो फिल्मले रिलिजपूर्व नै केही रेकर्ड बनाइसकेको छ ।

फिल्मको निर्देशक अयान मुखर्जी हुन् । यो फिल्मले पनि बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?