+
+

शुक्लागण्डकीको मेयरमा माओवादीबाट पूर्वमन्त्री कोइराला सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते २०:३३

३ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रले तनहुँको शुक्लागण्डकीको मेयर पदका लागि पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटी बैठकले प्रदेश सांसदसमेत रहेकी पूर्वमन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

‘उहाँ (कोइराला) लाई हामीले मेयर दिने सर्वसम्मत निर्णयमात्रै होइन, एक्लो उम्मेदवार बनाउने निर्णय भएको छ,’ गुरुङले भने । कोइराला ०७४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी तनहुँ क्षेत्र नं २ (क) बाट सांसद चुनिएकी थिइन् ।

शुक्लागण्डकीमा हाल कांग्रेसका किसान गुरुङ मेयर छन् । अघिल्लो स्थानीय चुनावमा शुक्लागण्डकीमा माओवादीको समर्थनमा कांग्रेसले जितेकाले अहिले त्यसको पैंचो तिनुपर्ने अध्यक्ष गुरुङको भनाइ छ । ‘तनहुँमा चार नगरपालिका छन् । त्यसमध्ये सबै छोड्न तयार छौं । तर, शुक्लागण्डकीमा जसरी पनि हाम्रो हक लाग्छ,’ गुरुङले भने ।

माओवादीले आफूले पाउने दाबी गरे पनि शुक्लागण्डकीको मेयरमा गठबन्धन दलका सबैको आआफ्नै दाबी छ । शनिबारमात्रै गठबन्धन घटक नेकपा एकीकृत समाजवादीले पनि केन्द्रीय सदस्य चित्रबहादुर थापालाई मेयर बनाउने निर्णय गरेको छ ।

त्यस्तै, हाल नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि आफ्नो दाबी छोडेको छैन । कांग्रेसबाट ११ जना मेयर आकांक्षी छन् । कांग्रेसबाट हालका मेयर किसान गुरुङ, कृष्णराज पण्डित, महेश्वर भट्टराई, प्रा.डा. कृष्णप्रसाद गौतम, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खिमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराईले मेयरका लागि कांग्रेसबाट सिफारिस भएका छन् ।

त्यस्तै, नेकपा एमालेबाट मतदानबाट शुक्लागण्डकीको मेयरका लागि ३ जना सिफारिस भएका छन् । एमालेबाट हालकी उपमेयर सविका रसाइली, मुक्ति तिमिल्सिना र श्यामराज महत मतदानबाट मेयर पदका लागि सिफारिस भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?