+
+

मधेशमा जसपासँग मित्रवत् प्रतिस्पर्धा गर्न चाहन्छौं : कांग्रेस नेता रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १०:१२

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गरेर चुनाव लड्नुपर्ने पक्षमा छन् । तर केही स्थानीय तहहरुमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवाज उठेपछि गठबन्धन गर्न सकस परिरहेको छ । मधेश प्रदेशको पर्सा जिल्लामा पनि नेपाली कांग्रेसले गठबन्धन नगर्ने बरु मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसका दुई जना केन्द्रीय सदस्य सहितको बैठकमा पर्सामा जसपासँग छुट्टाछुट्टै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । मधेसमा कांग्रेसको अवस्था र चुनावी तालमेलको प्रयासबारे नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्य रमेश रिजालसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले कुराकानी गरेका छन् –

पर्सामा तपाईं सहितको बैठकले ‘गठबन्धन चाहिंदैन’ भन्ने निर्णय गर्‍यो । किन ?

गठबन्धन नचाहिने भन्ने हैन, गठबन्धन त हामीले स्वीकार गरेकै कुरा हो । माथिबाट लादिनु भएन, स्थानीय तहमा आवश्यकताको सिद्धान्त अनुसार छलफलबाट जे निर्णय हुन्छ । त्यसलाई ‘फलो’ गरौं भन्ने मात्रै हो । गठबन्धनको आवश्यकता छ । प्रतिगमनको मतियारविरुद्ध हामी एक ठाउँमा उभिएका छौं । हामी एक भएर प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ भन्ने भावना हो । गठबन्धन गर्नुपर्ने त्यसकै लागि हो । अहिलेसम्म हामीले निर्क्यौल गरेको प्रतिगमनको मतियार भनेको एमाले हो । उसको विरुद्धमा हामी सब एक ठाउँमा छौं । मधेश प्रदेशमा हाम्रो प्रमुख प्रतिद्वन्द्वी भनेको जसपा र लोसपा हो । उनीहरुसँग गठबन्धन गर्ने हो कि नगर्ने हो त्यसको निर्णय गर्ने हो ।

पर्सामा कांग्रेस र जसपाले छुट्टाछुट्टै स्वस्थ, मैत्रीपूर्ण हिसाबले प्रतिस्पर्धा गरौं भनेर निर्णय गरे । मधेश प्रदेशका अन्य जिल्लामा पनि इच्छा आकांक्षा त्यस्तै छ । स्थानीय आवश्यकता छ भने गरौं, नभए छुट्टाछुट्टै मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔं । केन्द्रले पनि यसै गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

एकातिर कांग्रेसले अन्तरकलह मिलाउन सकेको छैन, अर्कोतिर गठबन्धनको साथ पनि नलिंदा चुनावी परिणाम कस्तो होला ?

गठबन्धन भित्रका कांग्रेस र जसपा मुख्य प्रतिस्पर्धी अलग-अलग जान तयार छौं । बाँकीसँग हामी मिलेर जान सक्छौं । भरसक पार्टीभित्र पनि अहिलेको निर्वाचित पदाधिकारीसँग बेमेल राख्ने साथीहरुलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यहि अनुरुप कांग्रेस अगाडि बढ्छ ।

यसले स्थानीय तहको निर्वाचनमा त असर पार्ला नि ?

जहिले पनि निर्वाचनमा जाँदा पार्टीभित्रैबाट १० प्रतिशत यता-उति हुन्छ । मास बेस पार्टी भएकाले यस्तो हुन्छ भन्ने दिमागमा राखेर नै अगाडि बढ्नुपर्छ । जो सधैं विद्रोह र अन्तरघात गर्छ, त्यस्तालाई पर्वाह गरेर निर्वाचनमा जान सकिदैन, पन्छाएरै जानुपर्छ ।

प्रतिस्पर्धा त प्रतिस्पर्धा नै हुन्छ, ‘मित्रवत् प्रतिस्पर्धा’ भनेको कस्तो हो ?

गाली गलौज नगर्ने, भोलि जसले जित्छ उसलाई सम्मान गर्ने, भोलि कुनै पनि समयमा कांग्रेसले जित्न सक्दैन, जसपाले जित्छ भने उसलाई सहयोग गर्ने । एक अर्कालाई नकारात्मक टिप्पणी नगर्ने नै मित्रवत् प्रतिस्पर्धा हो ।

अहिले मधेशमा कांग्रेसको अवस्थालाई कसरी आँकलन गर्नु भएको छ ?

पुराना तथ्यांकलाई हेरेर अगाडि बढ्न सकिंदैन, अहिलेको परिस्थितिलाई हेरेर अगाडि बढ्ने हो । अहिले मधेशमा कांग्रेस राम्रो अवस्थामा छ । जनलहर कांग्रेसतिर छ । मधेशमा कम्युनिष्टको पकड कमजोर छ । पर्सामा गठबन्धनका दलहरुबीच छलफल गर्दा अन्य दल बैठकमा समेत आएनन्, दुईवटा दल मात्रै आए र मित्रवत् रुपमा प्रतिस्पर्धा गर्ने सहमति गरे ।

मधेश आन्दोलन पछिको लहरले मधेश केन्द्रित दलहरूलाई फाइदा पुर्‍याएको थियो । त्यो अवस्था अहिले छैन, त्यसकारण कांग्रेसले जित्छ भन्ने भावना हो । दोस्रो, जसपा, लोसपा, एमाले, माओवादी जहाँ-जहाँ जितेका छन्, सेकेन्ड पोजिसनमा कांग्रेस नै थियो । त्यो ठाउँमा कांग्रेसले जित्ने सम्भावना छ । जहाँ जितेका छौं, त्यहाँ राम्रो नै छ । हारेको ठाउँमा पनि उपस्थिति पछिको लागि पनि अनिवार्य भएको कारणले जसपा र हामी बसेर मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔं । आफ्नो संगठनलाई पनि जोगाइराखौं भनेका हौं ।

एमालेलाई हराउन गठबन्धन गरेको भन्नुहुन्छ, मधेशका अधिकांश जिल्लामा कांग्रेस एक्लै लड्न सक्छ भनेर आइराखेको छ । यसरी गठबन्धन नगर्दा एमालेलाई नै फाइदा पुग्दैन त ?

मैले अघि नै भने नि, एमालेविरुद्ध हामी एक ठाउँमा उभिएका हौं । प्रतिगमनको मतियार नजितोस्, बाँकी गठबन्धनका जुनसुकै दलले जिते पनि मञ्जुर छ । त्यहि मनसायले नै मैत्रीपूर्ण प्रतिस्पर्धामा जाऔं भनेका हौं ।

जहाँ पनि एमालेको विरुद्धमा एक हुन्छौं, बीच बाटोमै सम्झौता गर्नुपर्ने अवस्था आयो भने त्यो पनि गर्छौं अथवा गठबन्धन गरेर मेयर/उपमेयर को लड्ने, कुन वडामा को लड्ने, त्यो पनि गठबन्धन गर्छौं । गठबन्धनको आवश्यकता त छँदैछ नि । तर कुनै ठाउँमा हामीले एक्लै लडेर प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सक्छौं भने त्यसरी नै लड्ने हो । गठबन्धनमा नै नजाने भन्ने हैन ।

विगतमा चौथो, पाँचौ स्थानमा रहेको एमालेले हामीबाट मान्छे तान्न कोसिस गर्छ र त्यसैलाई उम्मेदवार बनाउन चाहन्छ । एमालेको रणनीति हो यो । त्यो ठाउँमा हामी भएको भए पनि त्यही गर्थ्यौं होला । हामी सतर्क र सजग हुनुपर्ने कुरा के हो भने एमालेको त्यो रणनीतिलाई असफल बनाउनुपर्छ । हामी कमजोर छौं भने मिल्नैपर्छ । तर वीरगञ्ज महानगरमा एमाले पाँचौ स्थानमा छ । जसपा र हामी अलग भएर लड्दा पनि एमालेलाई परास्त गर्न सक्छौं । अरु नगरपालिका, गाउँपालिकामा त्यस्तो स्थिति छ भने त्यही अनुसार जाने हो । हैन मिलेर नै जानुपर्ने अवस्था छ भने जानुपर्छ ।

पर्सा जिल्लामा एमालेलाई पराजित गर्न गठबन्धन आवश्यक छैन तर मधेश प्रदेशका कतिपय ठाउँमा गर्नुपर्ने होला । त्यस्तो ठाउँमा गठबन्धनका साथीहरु एलायन्स गरेर नै जान्छौं । कसैको मेयर होला, कसैको उपमेयर होला, कसैको वडा अध्यक्ष होला, मिलाएर जान्छौं । हार्ने ठाउँमा अलग भएर जाँदैनौं । जित्ने ठाउँमा मित्रवत् निर्वाचन प्रक्रियामा जान्छौं ।

आवश्यकताको सिद्धान्त अनुसार ठाउँ-ठाउँमा गठबन्धन गरेर जाने भन्ने केन्द्रीय कार्य समितिले निर्णय नै गरेको छ । त्यसलाई अहिले पनि फलो गर्छौं । जहाँ पोजिसन ठिकठाक छ, एमाले चौथो/पाँचौ पोजिसनमा छ, त्यहाँ हामी मित्रवत् प्रतिस्पर्धामा जान्छौं ।

कांग्रेस प्रजातन्त्र, लोकतन्त्रमा विश्वास राख्ने पार्टी, लोकतन्त्रलाई अगाडि बढाउन सबै दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने हो होइन र ? गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाउँदैन त ?

विश्वका अधिकांश प्रजातान्त्रिक मुलुकमा गठबन्धनबाट नै सरकार चलिरहेको छ । यो अभ्यास यस्तो हो, कालान्तरमा यही लागू हुन्छ । किनभने एउटै दल सक्षम हुँदैन । प्रजातन्त्रलाई मान्ने दल एकातिर हुन्छ, प्रजातन्त्र विरोधी दल अर्कोतिर हुन्छ । त्यसकारणले भोलिका दिनका लागि पनि त्यो अभ्यास गर्दै जाने हो । प्रतिगमनको मतियार एउटालाई स्थापित गरिसकेपछि त्यसको खिलापमा उभिएका दलहरु एक ठाउँमा उभिने र उसको विरुद्धमा निर्वाचनमा गठबन्धन बनाएर लड्ने हो । भोलि राज्य सत्ता सञ्चालनमा अगाडि बढ्ने भन्ने मनसाय हो । स्थानीय सरकारमा पनि त्यही भूमिका रहोस् भन्ने हो ।

गठबन्धनमा जाँदा सबै दलसँग मिलेर एजेण्डा लिएर जानुपर्ने हुन्थ्यो, अब कांग्रेस कसको एजेण्डा लिएर मधेशमा आउँछ त ?

कांग्रेसले आफ्नो एजेण्डा लिएर जान्छ, सम्झौता भयो भने पनि आफ्नै एजेण्डा लिएर जान्छ, स्थानीय तहको चुनावको गणितीय हिसाबले फलानोसँग मिलेर जान लागेका छौं, हामीलाई र उसलाई पनि भोट दिनुस्, गठबन्धनको यो एजेण्डासँग सहमत छौं भनेर अलग एजेण्डा प्रस्तुत पनि गरौंला । जिल्ला अनुसार छुट्टाछुट्टै जाने हो भने त्यही अनुसार जाने हो । मिल्नुपर्ने पालिकामा एजेण्डा एउटै बनाउन सके राम्रो तर त्यो संभावना कम छ । आ-आफ्नो एजेण्डा लिएर जाने हो ।

बाराको कलैया उपमहानगरमा नगर प्रमुख कांग्रेसको जिल्ला सभापति बन्दा अर्का एक नेतालाई नगर प्रमुखको उम्मेदवार बनाउँछु भनेर लिखित सहमति नै गरेका रहेछन्, अहिले उनी आफैं नगर प्रमुख बन्ने मनस्थितिमा रहेछन् नि ?

उहाँले के सहमति गर्नु भएको हो मलाई थाहा छैन, तर कलैया उपमहानगरमा कांग्रेसकै उम्मेदवार हुन्छ । को हुन्छ अहिले नै भन्न सकिदैन । कांग्रेस र जसपाको नै लडाइँ हो, स्वस्थ प्रतिस्पर्धाबाट गए हुन्छ । जीतपुरसिमरा उपमहानगरमा एमालेलाई हराउन कांग्रेस र माओवादी मिलेर जान सक्छौं । किनभने त्यहाँ पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी छ । पार्टी भित्रको आन्तरिक विवादमा हामी आफैं मिलाउँछौं । को लड्ने, कसरी लड्ने हामी मिलाउँछौं । सहमतिको पालना गर्ने सहमतिको भूमिकामा रहेका पार्टीका सदस्यहरुको काम हो ।

कुनै ठाउँमा नमिल्दा अर्को ठाउँमा मिल्न अप्ठेरो मान्न सक्छन्, निहुँ खोज्न सक्छन नी त ?

निहुँ खोज्यो भने आ-आफ्नो बाटो छँदैछ नि । निहुँ खोज्न चाहिं भएन । आफ्नो हैसियतले, स्थानीय तहको नेता कार्यकर्ताको गठबन्धन प्रतिको आशक्ती र विचारले एक ठाउँमा ल्याउने हो । त्यसपछि पनि कोही मान्दैनन् भने आ-आफ्नो बाटोमा जाने हो ।

अन्त्यमा, गठबन्धन भएकै ठाउँमा पनि कांग्रेस, जसपा, माओवादी वा गठबन्धनका दलले एक अर्कालाई भोट दिन्छन् भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

कांग्रेसले गठबन्धनको निर्णय गरिसकेपछि एकदम पूरा समर्थनका साथ भोट खसाल्छ । त्यसमा दायाँ-वायाँ हुँदैन । गठबन्धन गरिसकेपछि त्यसको विपक्षमा एउटा कुरा पनि कसैको सुन्न चाहदैनौं, खिलापमा जान्छ भने अनुशासनको कारबाही हुन्छ, त्यसमा हामी दृढ छौं । पार्टी भित्रको साथीले दिनु नै पर्छ, दिएन भन्ने थाहा भयो भने कारबाही हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?