+
+

पोखरामा कांग्रेसबाट मेयरको आकांक्षा राख्नै २५ हजार !

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख ४ गते १०:२३

४ वैशाख, पोखरा । निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको र स्थानीय तहकै चुनावमा ठूलो रकम खर्चिनुपर्ने बहस उठिरहेका बेला पोखरामा आकांक्षा राख्दा पनि ठूलै शुल्क तिनुपर्ने देखिएको छ । नेपाली कांग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकांक्षा राख्नमात्रै पनि २०/२५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

पोखराको मेयर/उपमेयरका आकांक्षीलाई शनिबारदेखि आइतबार ४ बजेसम्मका लागि निवेदन दिन कांग्रेस महानगर समितिले आह्वान गरेको छ । मेयरका आकांक्षीले २५ हजार र उपमेयरको आकांक्षीले २० हजार रुपैयाँ तिरेरमात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कमिटीले २८ चैतमा परिपत्र गर्दै स्थानीय तहको निर्वाचनमा उम्मेदवारबाट कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा विधानविपरीत कुनै पनि प्रकारको रकम माग नगर्न केन्द्रको निर्देशन छ । तर, पोखरामा मेयर/उपमेयरको आकांक्षीबाट रकम उठाइएको छ । ‘पार्टीले तोकेपछि तिर्नै पर्‍यो । मेयर बन्छु भन्नेले त्यति तिर्न पनि नसक्ने भन्ने कुरा आउँछ फेरि,’ मेयरका लागि निवेदन दिएका वीरेन्द्रनारायण बिजुक्छेले भने ।

कांग्रेस महानगर समितिले भने धेरै आकांक्षी नहुन् भनेर सुरुमै पार्टीको सहयोगका लागि पैसा उठाउन लागिएको सभापति सुरेन्द्र बिजुक्छेले बताए । ‘यो शुल्कभन्दा पनि पार्टीका लागि सहयोग हो । आकांक्षी धेरै नहोउन् भनेर यसो गरिएको हो,’ सभापति बिजुक्छेले भने । केन्द्रले कुनै शुल्क नउठाउन परिपत्र गर्दागर्दै पनि बढी पैसा उठाएर आकांक्षा राख्दादेखि नै उम्मेदवारले खर्च गर्नुपर्ने परिपाटीको विकास गराइएको मेयरका एक आकांक्षीले बताए ।

आइतबार ४ बजेसम्म मेयर/उपमेयरका लागि निवेदन लिने र सोमबारसम्म आन्तरिक निर्वाचन गराएर भए पनि ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने महानगर समिति सचिव गणेशबहादुर थापाले बताए । ‘मेयर/उपमेयरमा २ पुरुष र १ महिलाको नाम सिफारिस गर्ने हो,’ सचिव थापाले भने, ‘सर्वसम्मतिको प्रयास गर्छौं, नसके आन्तरिक चुनावबाटै भए पनि ३ जनाको नाम सिफारिस गर्ने छौं ।’

नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा धेरै आकांक्षी हुँदा सबैको नाम केन्द्रमा सिफारिस गरेको थियो । ३३ जना मेयर र १५ जना उपमेयरको आकांक्षी थिए । ती सबैको नाम केन्द्रमा पठाएपछि मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले टिकट पाएका थिए ।

चैत अन्तिममा काठमाडौं पुगेका कास्कीका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले ‘साझा उम्मेदवार छान्न सक्छौं ?’ भनेर प्रश्न गरेका थिए । कास्कीका नेताहरुले बरु साझा उम्मेदवार पठाउने तर कांग्रेसले नै टिकट पाउनुपर्ने बताएका थिए । तर, आन्तरिक चुनाव गराएर साझा उम्मेदवार पठाउन गाह्रो पर्ने मेयरकै एक आकांक्षीले बताए ।

को-को छन् आकांक्षी ?

कांग्रेसबाट पोखराको मेयर बन्न पूर्व सचिव बाबुराम आचार्यदेखि मन्त्री विन्दुकुमार थापासम्मको चर्चा छ । निवर्तमान पार्टी सभापति कृष्ण केसी, यसअघिकी उपमेयरको प्रत्यासी सरस्वती गुरुङदेखि केही समयदेखि मात्र कांग्रेसमा प्रवेश गरेका गणेशबहादुर भट्टराईसम्म मेयरको टिकट लिने दौडमा छन् ।

कांग्रेसबाट मेयर/उपमेयर बन्ने होडमा कति जनाले आवेदन दिने छन् भन्ने दिउँसो ४ बजेपछिमात्रै टुंगो लाग्ने छ । पोखरामा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउनुपर्ने माग भइरहेको छ भने केन्द्रलाई दबाब दिने काम पनि नेताहरुले गरिरहेका छन् । तर, पोखरामा नेकपा एकीकृत समाजवादीले टिकट पाउन सक्ने चर्चा पनि छ । यसबाट कांग्रेस नेता, कार्यकर्ता सशंकित छन् ।

पोखरामा नेकपा एमाले सबैभन्दा बलियो पार्टी हो । एमालेबाट उम्मेदवार बन्न १२ र उपमेयरमा ९ जना आकांक्षीले निवेदन दिएपछि चुनाव गराउने मिति तय भइसकेर पनि पार्टीभित्र ध्रुवीकरण हुने भन्दै सबैको नाम केन्द्रमा सिफारिस गरेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।

५६ हजार ४५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले चुनाव जित्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् ।

मेयर कांग्रेसलाई सघाएर उपमेयरमा मात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७९६ मत ल्याएकी थिइन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?