+
+

स्थानीय तह निर्वाचन : मधेशमा कसको अवस्था के छ ?

श्रवण देव श्रवण देव
२०७९ वैशाख ४ गते १९:०८

४ वैशाख, जनकपुरधाम । २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो यहाँ ।

प्रदेशको कुल १३६ स्थानीय तहमध्ये ४० प्रमुख पद जित्दै सो चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो । तत्कालीन संघीय समाजवादी फोरम २६ र राष्ट्रिय जनता पार्टी (राजपा) २५ प्रमुख सिट जित्दै क्रमशः दोस्रो र तेस्रो भएका थिए ।

२१ सिट जितेको नेकपा माओवादी केन्द्र चौथो, १८ सिट जितेको नेकपा एमाले पाँचौ स्थानमा थियो । उक्त चुनावमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र तत्कालीन नयाँ शक्ति पार्टीले १ प्रमुख जितेको थियो ।

२०७४ को निर्वाचनमा दलगत अवस्था

२ असोज २०७४ मा यो प्रदेशमा भएको निर्वाचनमा नेपाली कांग्रेस २६ नगरपालिकामा मेयर, २२ नगरमा उप मेयर, १४ गाउँपालिकामा अध्यक्ष र १३ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । यसैगरी ३ सय ३८ वडामा उसले अध्यक्ष जितेको थियो ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले १० मेयर, ५ उपमेयर, १६ गाउँपालिका अध्यक्ष, २० उपाध्यक्ष र १९१ वडा अध्यक्ष जितेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (अहिलेको लोसपा)) ले १४ मेयर, १७ उपमेयर, ११ गाउँपालिका अध्यक्ष, १३ उपाध्यक्ष र १ सय ९४ वडा अध्यक्ष जितेको थियो ।

नेकपा माओवादी केन्द्र १३ मेयर, १८ उपमेयर, ८ गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्ष र २ सय ३१ वडा अध्यक्ष जित्दा नेकपा एमालेले १२ नगरपालिकामा मेयर, १४ जना उपमेयर, ६ गाउँपालिका अध्यक्ष, ५ उपाध्यक्ष र २ सय ३० वडा अध्यक्ष जितेको थियो ।

नेपाल लोकतान्त्रिक फोरमले १ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष तथा ३२ जना वडा अध्यक्ष जित्दा नेपाली जनता दलले १ मेयर, १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष जितेको थियो । तत्कालीन नयाँ शक्ति पार्टी (अहिले जसपामा समाहित) ले १ गाउँपालिका अध्यक्ष (सप्तरीको छिन्नमस्ता गाउँपालिका) र ५ वटा वडा अध्यक्ष जितेको थियो ।

यस्तै, राप्रपाले ६ वटा वडा अध्यक्ष, राष्ट्रिय जनमुक्ति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले २/२ वटा वडा अध्यक्ष जित्दा बहुजन शक्ति पार्टीले १ वडा अध्यक्ष जितेको थियो । प्रदेशमा ३२ जनाले स्वतन्त्रबाट वडा अध्यक्ष जितेका थिए ।

अहिलेको अवस्था

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको अवस्था पहिलेको जस्तो छैन । नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम समाहित भएको छ । नेपाली जनता दलबाट निर्वाचित पर्साको पोखरियाका मेयर दीपनारायण रौनियार कांग्रेस प्रवेश गरिसकेका छन् ।

दोस्रो र तेस्रो स्थानमा रहेका तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेकोमा त्यो पार्टी पुनः फुटेको छ र तत्कालीन राजपा पक्षले छुट्टै लोसपा बनाएको छ । जसपा बनेर फुट्दा तत्कालीन राजपाका केही मेयर र अध्यक्ष जसपामै बसेका छन् ।

जसपामा त्यसबेला १ सिट जितेको नयाँ शक्ति पार्टी पनि मिलिसकेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपनि अहिले दुबै पार्टी छुट्टाछुट्टै भएका छन् । अझ नेकपा एमाले फुटेर एउटा छुट्टै दलको रुपमा नेकपा एकीकृत समाजवादी पनि निर्माण भएको छ ।

मेयरहरुको दल बदल गर्ने क्रम पनि जारी छ । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित वीरगञ्जका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् भने लोसपाबाट निर्वाचित जनकपुरधामका मेयर लालकिशोर साह जसपामा आएका छन् ।

प्रदेशमा नयाँ दलको रुपमा डा. सिके राउतको जनमत पार्टी उदाएको छ । किसान आन्दोलनको नाममा आन्दोलन गर्दै आएको यो पार्टीले प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारी दिने तयारी थालेको छ ।

यस्तो अवस्थामा अहिले यो प्रदेशमा नेपाली कांग्रेस र जसपा अरुभन्दा बलिया देखिएका छन् । तर, गठबन्धन गर्ने कुरा भइरहँदा कसले कति सिट जित्नेछन् भनेर आँकलन गर्न गाह्रो छ ।

एमाले बलियो भएको ठाउँमा गठबन्धनका नेताको नजर

नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर चुनाव लड्ने बताउँदै आएको छ । निर्वाचनमा गठबन्धन बनाउन प्रदेशस्तरीय नेताहरुको बैठक बसेपनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।

गठबन्धन गर्ने सवालमा दलहरुले आफू जितेको ठाउँमा निरन्तरता दिन माग गरिरहेका छन् । जसपाका नेताहरुले प्रदेशका मुख्य शहर वीरगञ्ज, जनकपुरधाम र राजविराज आफूलाई छाड्न भनिरहेका छन् भने आफूले जितेको बाराको कलैया उपमहानगरपालिका छाड्न कांग्रेसले भनिरहेको छ । गठबन्धनका नेताहरुको मनोविज्ञान चाहिं आफैं जित्न सक्ने ठाउँमा भरसक गठबन्धन नगर्ने र नेकपा एमाले बलियो भएको ठाउँमा मात्रै गठबन्धन गरेर अघि बढ्न पाए हुन्थ्यो भन्ने देखिन्छ ।

‘जसपाले जितेका मुख्य नगरहरु वीरगञ्ज, जनकपुरधाम र राजविराज स्वाभाविक रुपमा जसपालाई नै दिनुपर्छ’ जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव भन्छन्, ‘जसले पनि दिन्छ । हामीले मागिरहनुभन्दा पनि उनीहरुले नै दिन्छन् ।’

गठबन्धन नभए पनि एक्लै लड्नका निम्ति पनि आफूहरुले सबै तयारी गरिसकेको बताउँछन् उनी । ‘एक्लै लडे पनि जसपा यो प्रदेशमा वडादेखि पालिकासम्म सबैभन्दा ठूलो पार्टी बन्छ,’ उनी भन्छन्, ‘गठबन्धनको पनि प्रयास भइरहेको छ ।’

केही ठाउँमा गठबन्धन हुने, केही ठाउँमा नहुने बताउँदै उनी गठबन्धनमा आबद्ध दल नै मजबुत भएको ठाउँमा गठबन्धन नहुने बताउँछन् । उनले एमालेको पूर्व सिट, लोसपाको पूर्व सिटमा के गर्ने भन्ने विषयमा आफूहरुको ध्यान केन्द्रित रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभापति कृष्णा यादव आवश्यक्ता र औचित्यको आधारमा तालमेल हुने बताउँछन् । ‘गठबन्धन गर्ने बाध्यता छैन र नगर्ने भन्ने पनि छैन,’ उनी भन्छन्, ‘आवश्यक्ता हेरेर गठबन्धन गरिनेछ ।’ गठबन्धन हुन नसके मित्रवत अवस्थामा चुनाव लड्ने बताउँदै उनी यसो भए कांग्रेसले एक सय स्थानमा जित्ने दाबी गर्छन् ।

गठबन्धन आफूहरुको आवश्यकता नभए पनि गठबन्धनको मर्म अनुसार बाध्यता रहेको यादवको भनाइ छ । ‘देशको लागि, प्रजातन्त्रका लागि, प्रतिगामी तत्वलाई साइड लगाउनका निम्ति गठबन्धन बनेको छ,’ उनी भन्छन्, ‘त्यो मर्म अनुसार मनोभावना मिलेमा गठबन्धन गर्ने हो ।’

मुख्य शहरको विषयमा केन्दि्रय गठबन्धनले नै निर्णय गर्ने भन्दै उनी अन्य दलले आफू जितेको ठाउँ आफैंलाई चाहिने भनेर तर्क गरिरहेको कुरा ठीक नभएको बताउँछन् । अहिलेको अवस्थामा पार्टीको पोजिसन के छ, त्यसको आधारमा गठबन्धन गर्ने हो,’ उनले भने, ‘नेतृत्वले पनि यही कुरामा ध्यान दिन्छ ।’

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साह एमाले बलियो रहेको ठाउँमा गठबन्धन गर्ने विषयमा छलफल चलिरहेको बताउँछन् । एमाले बलियो रहेको ठाउँमा पाँचै दलले गठबन्धन गर्ने र अन्य ठाउँमा गठबन्धन भित्रकै दुई या तीन दल मात्रको पनि गठबन्धन हुन सक्ने उनको भनाइ छ । सिरहाको लहान, रौतहटको मौलापुर, सर्लाहीको ईश्वरपुरसहितका ठाउँमा पाँच दलकै गठबन्धन बनाउनुपर्ने उनी बताउँछन् ।

उपमहानगरपालिकाहरुमा पहिलाकै मतभारमा गठबन्धन गर्ने कुरामा अन्य पार्टीले नमानिरहेको उनको भनाइ छ । ‘प्रारम्भिक छलफल चलिरहेको छ, निष्कर्षमा पुग्न सकिएको छैन । तर निष्कर्षमा पुग्नु छ’ उनले भने ।

नेकपा एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज धर्मनाथ साह गठबन्धनको विषयमा जिल्लास्तरमा छलफल भइरहेको र ५ गतेसम्म टुंग्याइने बताउँछन् । ‘त्यस अवधिमा जति निर्णय गर्न सकिए गर्छौं, बाँकी रहेका र नमिलेका केही बुँदा केन्द्रमा पठाउँछौं,’ उनी भन्छन् ।

सबै पार्टीमा महत्वाकांक्षा बढेको र मेयरभन्दा तल कोही पनि कुरा गर्न नचाहेको भन्दै उनी भन्छन्, ‘जसले जे भने पनि हुँदैन । एउटा मापदण्ड बनाएर काम गर्ने हो ।’

लोसपाको दाबी- पहिलेको भन्दा बढी सिट जित्छौं

२०७४ सालको स्थानीय तहको चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) यो प्रदेशमा तेस्रो नम्बरमा थियो । उसले २५ वटा प्रमुख पद जितेको थियो । यो पार्टी त्यस बेलाको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्दै जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । तर पछिल्लो समयमा पूर्व राजपाका नेताहरुले छुट्टै पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन् ।

‘हामी २०७४ सालको भन्दा राम्रो सिट ल्याउँछौं’ लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल भन्छन्, ‘त्यस बेला २५ सिट जितेका थियौं । यस पटक त्योभन्दा बढी जित्छौं ।’

यसका निम्ति तयारी भइरहेको उनको भनाइ छ । पाँच दलले गठबन्धन बनाइरहेको सन्दर्भमा सोनलले यस्तो अवस्थामा एकल उम्मेदवारलाई फरक पार्न सक्ने कुरालाई मध्यनजर गर्दै स्थानीयस्तरमै आफूहरुले पनि गठबन्धन गर्ने बताए । ‘हामी स्थानीयस्तरमा आवश्यकताको आधारमा तालमेल गर्न सक्छौं । कुनै पनि दलसँग तालमेल हुन सक्छ,’ सोनल भन्छन् ।

गठबन्धनकै फाइदा हामीले उठाउँछौं : एमाले

३ वैशाखमा सर्लाहीको कविलासीका मेयर कौशलकिशोर साह नेकपा एमालेमा प्रवेश गरे । जसपाबाट निर्वाचित मेयर यादवलाई भित्र्याउन पार्टी अध्यक्ष आफैं मलगंवा आए । यहाँ मेयर यादवसहित नेकपा माओवादी केन्द्रका नेता केशव ढुंगाना र १८ जना वडा अध्यक्ष पनि एमाले प्रवेश गरे ।

यसअघि मधेशको एक मात्र महानगरपालिका वीरगञ्जका मेयर विजय सरावगी पनि एमालेमै प्रवेश गरे र अहिले एमालेको तर्फबाट उम्मेदवार भएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा कमजोर थियो एमाले । एक किसिमको प्रभावहीन स्थितिमै देखापरेको एमालेको त्यस बेला विरोध गर्ने नेता र जनप्रतिनिधि अहिले एमालेमा भित्रिएका छन् र नेताहरूले त्यसबाट आफूलाई फाइदा पुगेको बताएका छन् । एमालेका प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पाँच दलीय गठबन्धनको फाइदा एमालेलाई हुने बताउँछन् । ‘मेयरमा रुख, उपमेयरमा हँसिया हथौडा, अरुमा कलम, अरुमा के-के जनताले कसरी बुझ्छन् ?’ प्याकुरेल भन्छन्, ‘कांग्रेस र माओवादी कार्यकर्ताले विद्रोह गरिरहेका छन् । मधेशवादी अब रहन्छन् कि रहँदैनन् थाहा छैन । यो फाइदा हाम्रै पार्टीलाई हुन्छ ।’

एमालेसँग सबै दल मिलेर पनि लड्न आँट नगरिरहेको र चुनाव सार्ने प्रयास गरिरहेको दाबी गर्दै उनी हिजो मधेशमा प्रभाव कम भएपनि अहिले एमाले मधेशको प्रमुख शक्ति भइसकेको बताउँछन् ।

आफ्नो पार्टीलाई गठबन्धनको आवश्यक्ता पनि नभएको भन्दै उनी कुनै-कुनै स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन हुन सक्ने बताए । जनमतका नेतासँग सम्पर्क हुन नसकेको र कुनै कुनै ठाउँमा मुख्य भूमिका देखिएमा सँगै हिंड्न सक्ने प्याकुरेलको भनाइ छ ।

जनमत पार्टी भन्छ- एक्लै चुनाव लड्छौं

पहिलो पटक चुनाव लड्न गइरहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भने कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्दा पनि राम्रो स्थिति आउने नेता बीपी साहको दाबी छ ।

आफूहरु डेढ वर्षदेखि नै चुनावी तयारीमा रहेको, किसान आन्दोलनको एजेन्डा उठाउँदा सरकार पनि पूरा गर्न सकारात्मक देखिएकाले जनताको विश्वास आफूहरुप्रति बढेको उनको विश्लेषण छ । ‘यसबाहेक पुरानो पार्टीबाट निराश भएकालाई नयाँ आशा आएकाले यस पटक आफूहरुलाई काम गर्ने मौका दिन्छ भन्ने विश्वास छ,’ उनी भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा पाँच दलीय गठबन्धनसँग मात्रै हुन्छ ।

अन्य दलमा उम्मेदवार छनौट गर्न सकस भइरहेको अवस्थामा आफ्नो पार्टीले सबैतिर उम्मेदवार छनौट गरेर प्रचार प्रसारमा जुटिसकेको उनले बताए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?