+
+

बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र

चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो ।

रासस रासस
२०७९ वैशाख ४ गते १३:२८
फाइल तस्वीर

४ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो ।

सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । १४ वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत कार्यक्रम गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन् केन्द्रमा १० गिद्ध मात्र छन् ।

केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ । आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम छ ।

यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उनले बताए । आगामी साउन महिनासम्ममा प्रजनन् केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिमरुपमा गरिएको प्रजनन्भन्दा प्राकृतिकरुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिइएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन् केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो । पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।

उनका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट छ बच्चा कोरलिएको थियो ।

सन् २०१८ मा २० अण्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उहाँले जानकारी दिनुभयो । गत वर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन ।

बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष छ गिद्ध छाडिएको थियो ।

सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ ।

जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्नेगरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध रहेका छन् । पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन् राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन् केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताए । उनका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ ।

नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो ।

त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाएसँगै प्रकृतिमा गिद्धको सङ्ख्या बढ्न थालेको महानिर्देशक कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?