काठमाडौं । फोर्डले जर्मनीको प्रसिद्ध नुर्बर्गरिङ ट्रयाकमा फेरि एकपटक आफ्नो वर्चस्व कायम गरेको छ। सन् २०२६ मा फोर्डको नयाँ मस्ट्याङ जीटीडी कम्पिटिसनले ६ मिनेट ४०.८३५ सेकेन्डमा एक ल्याप पूरा गर्दै सबैभन्दा छिटो अमेरिकी उत्पादन कारको उपाधि फिर्ता लिएको छ।
यो समय फोर्डकै अघिल्लो रेकर्डभन्दा ११ सेकेन्ड र मुख्य प्रतिस्पर्धी शेभ्रोलेको ‘कोर्भेट ZR1X’ भन्दा ८ सेकेन्डले छिटो हो। फोर्डका सीईओ जिम फार्लेले कोर्भेट टोलीलाई ‘खेल अब सुरु भयो’ भन्दै चुनौती दिएका थिए, जसलाई यो नतिजाले प्रमाणित गरिदिएको छ।
यस नयाँ संस्करणमा ५.२ लिटरको शक्तिशाली सुपरचार्जर V8 इन्जिन प्रयोग गरिएको छ, जसले साधारण मोडेलको ८१५ हर्सपावरभन्दा पनि बढी शक्ति प्रदान गर्दछ ।
कारको प्रदर्शनलाई अझ प्रभावकारी बनाउन फोर्डले यसमा म्याग्नेसियम ह्विल, कार्बन बकेट सिट र हलुका ड्याम्परहरू प्रयोग गरी तौल उल्लेख्य रूपमा घटाएको छ साधारण मस्ट्याङ जीटीडीको तौल भने करिब १ हजार ९ सय ९८ किलोग्राम हुने गर्छ ।
सडकमा कारको सन्तुलन र पकड बलियो बनाउन नयाँ रियर विङ, फ्रन्ट डाइभ प्लेन र कार्बन फाइबर एरो डिस्कजस्ता आधुनिक एरोडायनामिक्स सुविधाहरू थपिएका छन्, जसलाई अनुभवी चालक डिर्क मुलरले सफलताका साथ चलाएका थिए।
फोर्डले यो विशेष ‘कम्पिटिसन’ संस्करणलाई सीमित सङ्ख्यामा मात्र उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ र यसको मूल्य साधारण जीटीडीको ३ लाख २७ हजार डलरभन्दा बढी हुने अनुमान गरिएको छ।
नुर्बर्गरिङमा केवल ट्र्याकका लागि मात्र बनाइएका कारहरूको श्रेणीमा पनि फोर्डकै ‘GT Mk IV’ को नाममा रेकर्ड छ।
यसले ६ मिनेट १५.९७७ सेकेन्डमा ल्याप पूरा गरेर विश्वकै तेस्रो र सबैभन्दा छिटो इन्धनबाट चल्ने (कम्बसचन इन्जिन ) कारको कीर्तिमान राखेको छ।
अहिलेको लागि फोर्डले अमेरिकाको सबैभन्दा छिटो कारको ताज पहिरिएको छ, तर जर्मनीको मर्सिडिज एएमजी वान अझै पनि ६ मिनेट २९ सेकेन्डको रेकर्डसहित विश्वमै पहिलो स्थानमा छ ।
प्रतिक्रिया 4