
४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले तत्काल नियन्त्रण नगर्ने हो भने भ्रष्टाचारले देशलाई नै सिध्याइदिने खतरा रहेको बताएका छन् ।
भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भीर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याए मुलुकलाई नै सिध्याइदिने बताएका हुन् ।
उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए ।
उनले भने, ‘भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाहिं यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढदै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौं भने, यसका विरुद्ध निशाना सोझ्याएनौं भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नु भएको छ ।’
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुने गरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4