+
+

यसरी जन्मियो खाना नफालौं अभियान

सूर्य तिमिल्सिना सूर्य तिमिल्सिना
२०७९ वैशाख ५ गते १३:५७

कुनै समय थियो, चामलको भात खाने समाजमा सम्पत्तिवाला ठानिन्थे। पेटभरी खाने अवसर सबैलाई थिएन। अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरलाई भने लाग्ने गर्थ्यो- पेटभरी खानपाए संसारै जितिन्थ्यो, फाल्ने त परको कुरा।

मध्यम परिवारमा हुर्केका कुँवरलाई खानासँग राम्रो प्यार थियो। भोक लागेपछि ढुंगामाटो खाएर नहुने, अनाजै खानुपर्ने। यस्तो वास्तविकता बिर्सिएर भात फालेर बडप्पन देखाउनेहरू उनलाई फिटिक्कै मन पर्थेन।

आफ्नो ती बाल्यकालका परिदृश्यहरू निरन्तर सम्झनामा आइरहने हुनाले भोजन भनेको प्राण हो, खाना फाल्नु भनेको प्राण फाल्नु हो, जीवन फाल्नु हो भन्ने बुझेका कुँवरको परिकल्पनामा खाना नफालौं अभियान सुरु भएको हो।

यो अभियानलाई सार्थक तुल्याउन उनको यतिसम्म सक्रियता छ कि हरेक सामाजिक सञ्जालका पोष्टहरूका अन्त्यमा ‘खाना नफालौं’ ह्यासट्याग जोडिएकै हुन्छ भने हरेक सार्वजनिक कार्यक्रममा अन्त्यमा ‘खाना नफालौं’ शब्द गुन्जिएकै हुन्छ।

अभियानमा गाउँपालिकाको साथ

‘रोग भन्दा भोक ठूलो हो’,अन्न उत्पादनमा गाउँपालिकाको पनि जोड छ। अन्नपूर्ण गाउँपालिका, कास्कीको आठौं गाउँसभाले यो अभियानलाई गाउँपालिकाकै अभियानको रूपमा अघि बढाउने निर्णय गरेको हो। यो निर्णयसँगै जनप्रतिनिधि र कर्मचारीबाट टोलटोलमा सन्देश प्रवाह सुरु भयो।

अभियानलाई सार्थक तुल्याउन गाउँपालिकाले आन्तरिक उत्पादन प्रवर्धन, बजारीकरण र खाद्य सुरक्षाका कार्यक्रमलाई व्यापक रूपमा अघि सारेको छ। पहिलो कार्यकाल सकिंदै गर्दा यसको प्रभावकारिता समेत देखिन सुरु भइसकेको छ। अन्नपूर्ण गाउँपालिकाले खेतबारी बाँझो राख्न नपाइने नियम बनाई बाँझो राख्ने चलनलाई निरुत्साहित गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ।

यो अभियान हरेक व्यक्ति व्यक्तिको, घर घरको, टोल टोलको, वडा वडाको, हरेक स्थानीय तहको र समग्र देश अनि विश्वव्यापी नै बन्नुपर्छ।

उत्पादन बढाउन गाउँपालिकाले आफ्नै नर्सरी स्थापना गरी कृषकहरूलाई तरकारी, फलफूलका बिरुवा वितरण गर्दै आएको छ। त्यस्तै अनुदानमा आलुको बीउ, सिंचाइ पाइप, हाते ट्याक्टर, प्रांगारिक मल वितरण गर्दै आएको छ। कृषकहरूलाई व्यावसायिक खेतीको लागि प्लाष्टिक टनेल वितरण गर्दै आएको छ।

गाउँपालिकाले ‘एक घर एक टनेल’ ‘एक घर एक पोषणयुक्त करेसाबारी’ जस्ता अभियानहरूलाई सञ्चालन गर्दै आएको छ। त्यस्तै गाउँपालिकाभरिका विद्यालयका शिक्षक र विद्यार्थी मार्फत गाउँ–गाउँमा सचेतना अभियान गरिंदै आएको छ।

पर्यटकीय महत्व बोकेको गाउँपालिका भएकोले पर्यटक लक्षित होटल व्यवसायहरू प्रशस्तै रहेकोले प्रत्येक होटल तथा रेस्टुरेन्टमा स्टिकर टाँस गरिएको छ भने विभिन्न स्थानमा साइन बोर्ड राखिएको छ।

अभियान संस्थागत रूपमै अघि बढ्दै

यसको सुरुवात युवराज कुँवरबाट सुरु भएको भएतापनि यो अभियान सबै जनाको अभियान बन्न आवश्यक भएकोले यसलाई संस्थागत रूपमा दर्ता गरेरै अघि बढाउने तयारी भइरहेको छ।

अभियानको प्रभाव

यो अभियान सुरु भएर विभिन्न सचेतनाका कार्यक्रम गरेसँगै अहिले यसको सकारात्मक प्रभाव देखिन सुरु भइसकेको छ। गाउँपालिकाभित्रका हरेक होटल/रेस्टुरेन्ट/घरमा विरलै रूपमा खाना फालेको देख्न पाइन्छ।

यहाँ आउने पर्यटकहरूले समेत यो अभियानको जानकारी पाउँछन्, जससँगै खाना थपेर खाने तर धेरै लिएर खेर फाल्ने परिपाटी अन्त्य हुँदै गएको छ। हरेक सार्वजनिक सभा, समारोह, भोजभतेरमा समेत खाना खेर नफाल्ने चलन विस्तारै सुरु हुँदैछ।

अन्त्यमा, यो अभियान युवराज कुँवरको मात्र अभियान हैन, यो अभियान अन्नपूर्ण गाउँपालिकाको मात्र अभियान हैन। यो अभियान हरेक व्यक्ति व्यक्तिको, घर घरको, टोल टोलको, वडा वडाको, हरेक स्थानीय तहको र समग्र देश अनि विश्वव्यापी नै बन्नुपर्छ।

विश्वमा प्रत्येक दिन भोकमरीकै कारण २५ हजारभन्दा बढीको ज्यान जाने गरेको एउटा अध्ययनले देखाएको छ, कसैले पनि खाना खेर नफाल्ने हो भने भोकमरीकै कारण ज्यान जानबाट जोगिन सक्छ।

‘खाना नफालौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?