+
+

भरतपुरको मेयर पाउनेमा प्रचण्ड ढुक्क !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते २०:२४

५ वैशाख, काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार  विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगे ।

पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेका थिए । त्यहाँ उनले बैठकको केही सूचना पनि चूहाए ।

६ महानगर र ११ वटा उपमहानगरमा समझदारी बनाउने प्रयास भइरहेको भन्दै उनले भने, ‘झण्डैझण्डै महानगर टुङ्गिने नजिक छ । मलाइ विश्वास छ, हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेलबारे एउटा निष्कर्षमा पुग्छौं ।’

पालिका तहसम्म सत्तारुढ दलहरुबीच तालमेल हुनेमा आशावादी देखिएका प्रचण्ड भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउनेमा समेत विश्वस्त देखिए । भरतपुर माओवादीलाई दिनुपर्छ भन्ने कांग्रेसलाई नै लागेको भन्दै उनले भनेका छन्, ‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई) नै दिनु उचित हुन्छ । कांग्रेसलाई पनि लागेको छ ।’

६ महानगरपालिकामध्ये एउटा माओवादीले पाउने र त्यसमा भरतपुरको दाबी स्वभाविक भएको उनले बताए । तपाईंहरुलाई भरतपुर नै नभई भएन भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, ‘भरतपुरै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन, तपाईंहरु प्रष्ट हुनुहोला । देशैभर ६ महानगरपालिका छन् । एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौं, विराटनगर, पोखरामध्ये एक दिए ठीकै छ । भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने होइन ।’

भतरपुरको नेतृत्व नछाड्न चर्को दबाव रहेको र त्यस विपरीत निर्णय गर्दा चुनावी नजिता प्रभावित हुन सक्ने कांग्रेस नेताहरु बताउँछन् । तर प्रचण्डले भने टिकट वितरणमा ससाना असन्तुष्टि हुनु स्वभाविक भएपनि खासै असर नपर्ने दाबी गरे ।

पार्टी निर्णय नै निर्णायक हुने भन्दै प्रचण्डले भने, ‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ ।’

महानगरमा ५०–५० को भागबन्डा

गठबन्धनमा आवद्ध दलहरुबीच महानथर र उपमहानरको नेतृत्वका लागि रस्साकस्सी परिरहेका बेला प्रचण्डले ५०–५० प्रतिशतको अनुपातमा बाँडफाँट हुने संकेत गरेका छन् ।

महानगरपालिकामा कांग्रेसले ५० प्रतिशत हिस्सा पाउने र गठबन्धनका अन्य दलले ५० प्रतिशत पाउने प्रचण्डको भनाइ छ । ‘हामीले प्रष्ट भनेका छौं, ६ मध्ये नेपाली कांग्रेसले ३ वटा महानगरपालिका लेओस्,’ प्रचण्डले भनेका छन्, ‘३ वटामध्ये माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १/१ वटा लिँदा न्यायपूर्ण हुन्छ ।’

गठबन्धनको बैठकमा तीन दलका नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिन प्रस्ताव गरेका छन् । माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने उनीहरुको प्रस्ताव छ । कांग्रेसमा भने महानगरको नेतृत्व नछाड्न चर्को दबाव छ ।

प्रचण्डले भने ५०/५० मा सहमति नजिक पुगिसकेको बताए । ‘करिब करिब हामी यही लाइनमा निष्कर्षनजिक छौं,’ पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘उपमहानगरपालिका पनि त्यही मोडलबाट टुंग्याउने तयारी छ ।’

सम्भव भएसम्मका ठाउँमा तालमेल हुने र अन्यत्र गठबन्धन भित्रका दलहरुबीच मित्रवत प्रतिष्पर्धा हुने बताउँछन् । ‘हामी निर्वाचनमा गठबन्धनबाटै जान्छौं,’ प्रचण्डले भने, ‘गठबन्धनभित्र ५ वटैको सहमति नहुन सक्छ । जहाँ जसको सहमति हुन्छ, त्यो गठबन्धन भित्रबाटै गरेर निर्वाचनमा जाने हुन्छ ।’

चुनाव नसर्ने दाबी

पत्रकार सम्मेलनको सुरुवातमै प्रचण्डले कतिपयले चुनाव सर्ने हल्ला गरेको भन्दै त्यसको खण्डन गरे । चुनाव सार्ने विषयमा गठबन्धनमा कहीँ, कतै चर्चा पनि नभएको र त्यस्तो मनसाय समेत नरहेको प्रष्ट पारे ।

‘केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नि हो भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ,’ उनले भने, ‘यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ । गठबन्धनमा आवद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।’

विप्लव समूहलाई देखाएर चुनाव सार्न खोजिएको आरोप छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘निर्वाचन सार्ने कुनै मनशाय छैन । बरु अरुले सार्ने प्रयत्न गरिरहेको छ ।’

एमालेप्रति कटाक्ष

पत्रकार सम्मेलनमा प्रचण्डले राप्रपा नेपाल र परिवार दलसँग तालमेलको सहमति गरेको एमालेप्रति कटाक्ष समेत गरे । एमालेले ‘होली वाइन र सबै राजावादीहरु’सहितको गठबन्धन गरेको भन्दै उनले भने, ‘हिजोका सामन्त, राजा महाराजा र उसँग सम्बन्धित पार्टीहरुसँग गठबन्धन गर्न खोज्ने, लोकतान्त्रिक, वामपन्थीभन्दा प्रतिगामी शक्तिसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति छ ।’

तर सत्तारुढ गठबन्धनले पनि झापामा राप्रपासँग तालमेल गर्ने सहमति गरेको छ त भन्ने प्रश्नमा उनले माथिल्लो तहमा कुनै सम्वाद नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?