+
+

मिस नेपालका लागि आवेदन खुला, उचाइ र उमेरको मापदण्ड परिमार्जन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:०९

काठमाडौं । मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो ।

असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको छ ।

प्रतियोगीको उचाइ १ इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । प्रतियोगीको उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ ।

‘बढीभन्दा बढी प्रतिस्पर्धीलाई सजिलो होस् भनेर केही नियममा परिवर्तन गरेका हौं,’ हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । उनका अनुसार मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिइएको छ ।

अध्यक्ष राजकर्णिकारले केही प्राविधिक कारणले सुप्रान्यासनल टाइटललाई हटाउनुपरेको बताए । यसपटक सातै प्रदेशमा अडिसन लिइने भएको छ । वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।

राजकर्णिकारले सबै जात, धर्म र सम्प्रदायका युवतीले मिस नेपालमा भाग लिन सक्ने बताउँदै कुनै पैसा नलाग्ने बताए । ‘मिस नेपाल निःशुल्क हुनेछ । कुनै शुल्क लाग्नेछैन,’ उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा भाग लिनु आफ्नो जीवनको महत्वपूर्ण क्षण भएको अनुभव सुनाइन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?