+
+

होटल व्यवसायी र श्रमिकबीच सहमति, श्रमिकले बढेको पारिश्रमिक पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:४६

६ वैशाख, काठमाडौं । होटल मजदुरहरुले नेपाल सरकारले बढाए अनुसारको न्यूनतम पारिश्रमिक प्राप्त गर्ने निश्चित भएको छ । कोरोना महामारीका कारण होटल व्यवसाय नचलेको भन्दै कतिपय होटलमा बढेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएको थिएन ।

सोमबार होटल संघ नेपाल (हान) र कर्मचारीसँग सम्बन्धित विभिन्न ट्रेड युनियनहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सहमति अनुसार नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गरिने भएको हो ।

सोमबार होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) का अध्यक्ष र प्रतिनिधिबीचको संयुक्त बैठकपछि सहमति जुटेको हो ।

सम्झौता अनुसार २८ असार २०७७ र १३ माघ २०७७ मा होटल संघ नेपाल र मजदुर युनियनबीच भएको सम्झौता तत्कालीन परिस्थिति र समय अनुसार मनासिव रहेको उल्लेख गरिएको छ । सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने गरी सहमति जुटेको छ । सञ्चालनमा आएका होटलका लागि ११ चैत २०७६ भन्दा अगाडि श्रमिक तथा कर्मचारीले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने सहमति जुटेको हो ।

कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुनर्निर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने समेत सहमति भएको छ ।

होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिने समेत सम्झौतामा उल्लेख छ । भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुबाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिने सम्झौता भएको छ ।

बन्दाबन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गर्ने समेत सहमति जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?