News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया श्रमिक पठाउन सूचीकृत २५ म्यानपावरमध्ये ६ वटामा ताला लगाएको छ।
- संघले सूचीमा परेका सबै २५ संस्थालाई हालका लागि सदस्यबाट निलम्बन गरेर ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
- संघले ती म्यानपावरविरुद्ध सरकार र अन्य निकायमार्फत कानुनी कारबाहीका लागि पहल गर्ने चेतावनी दिएको छ।
७ भदौ, काठमाडौं । मलेसियामा श्रमिक लैजान पाउने गरी सूचीकृत म्यानपावर कम्पनीमा ताला लगाइएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्वको टोलीले सूचीकृत भएका २५ मध्ये ६ वटा म्यानपावरमा आज ताला लगाएको हो ।
संघ महासचिव हिराबहादुर डाँगीका अनुसार आज एसिया लिंक सर्भिसेस, द रिभर ओभरसिज, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि, ट्रस्ट नेपाल ओभरसिज, नेपाल एचआर सोलुसन र स्काई पावर इन्टरनेसनल सर्भिसेसमा ताला लगाइएको हो ।
संघले मलेसियाको सूचीमा परेका २५ वटा म्यानपावरलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ । संघ अध्यक्ष डिकबहादुर खत्रीले संघको आकस्मिक बैठकको निर्णय अनुसार त्यसमा समावेश भएका २५ संस्थालाई हालका लागि संघको सदस्यबाट निलम्बन गरिएको बताए ।
संघले निलम्बन गर्दैै उनीहरूलाई ३ दिनभित्र तथ्य, प्रमाण र सम्बन्धित कागजात सहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
अध्यक्ष खत्रीले ती २५ म्यानपावरलाई नेपालको कानुन अनुसार समेत सरकारले कारबाही गर्नुपर्ने बताए । ‘नेपालको कानुन अनुसार उक्त सूचीमा रहेका २५ म्यानपावरलाई सरकारले कारबाही गरेपछि उनीहरूले श्रमिक पठाउन पाउँदैनन्, नेपाल सरकारले यो रणनीति बुझेको छ,’ अध्यक्ष खत्रीले भने ।
संघले उक्त सूचीमा रहेका म्यानपावरलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा समेत कारबाहीका लागि पहल गर्ने संघले चेतावनी दिएको छ ।
प्रतिक्रिया 4