+
+
समयान्तर :

भ्रष्टाचार एक आम ‘सोच’ हो

चुनावमा आउने सहयोग पारदर्शी स्रोतबाट नभई अपारदर्शी स्रोतबाट प्राप्त हुन्छ । जब त्यो स्रोतको प्रयोग हुन्छ, निःसन्देह त्यसले भ्रष्टाचारको बीजारोपण गरिदिएको हुन्छ ।

मनिकर कार्की मनिकर कार्की
२०७९ वैशाख ७ गते ६:५९

मुलुक अहिले स्थानीय तह निर्वाचनको सँघारमा छ । अन्यथा नभएको खण्डमा आगामी वैशाख ३० गते नै निर्वाचन सम्पन्न हुनेछ । राजनीतिक दलहरू चुनावी अभियानमा होमिइसकेका छन् । गाउँ-सहर, टोल-बस्तीहरूमा चुनावी माहोल बढ्दै गएको छ । दलहरूले आफ्ना चुनावकेन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । गाउँ, सहर, वडा, टोल, बस्तीहरूमा दलीय सभा, भेला, सम्मेलन, छलफल र अन्तरक्रिया हुन थालेका छन् । चुनाव नजिकिएसँगै फेरि पनि मुलुकमा विकास, समृद्धि, प्रगति र उन्नतिका नारा घन्किन थालेका छन् । दलहरूले आफ्ना चुनावी घोषणापत्रहरूमा तिनै पुराना नाराहरूलाई नयाँ भाषामा लेख्नेछन् । यसपटक पनि भ्रष्टाचार विरुद्ध अनि सुशासन र सदाचारको पक्षमा निकै चर्का भाषण र नाराबाजी हुनेछ ।

यसै पृष्ठभूमिमा आज यस आलेखमा भ्रष्टाचारसँग अन्तरनिहित सोच र सांस्कृतिक पक्षबारे चर्चा गर्ने जमर्को गरिएको छ । कुनै पनि व्यक्तिले आफूमा निहित अख्तियारको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति वा अन्य लाभ नै भ्रष्टाचार हो । भ्रष्टाचारले नैतिकता र इमानदारितासँग सम्बन्धविच्छेद गरेको हुन्छ । अनि व्यक्ति आफ्नो पदीय जिम्मेवारी विपरीत अपारदर्शी तरिकाले अख्तियारको दुरुपयोग गर्दै आयआर्जन वा आर्थिक लाभजन्य गतिविधिमा संलग्न हुन्छ ।

नियम, कानुन मिचेर वा त्यसको गलत अर्थ लगाएर होस् वा कुनै डर, त्रास वा प्रलोभनमा पारेर गरिएको सबै क्रियाकलापबाट हुने आयआर्जन भ्रष्टाचार हो । अख्तियारप्राप्त अधिकारीहरूले सेवा प्रवाहका क्रममा लिने अनुचित लाभ नै भ्रष्टाचार हो । अनि भ्रष्टाचार वित्तीय अपराध त हुँदै हो, यो एक सामाजिक एवं सांस्कृतिक कुलत पनि हो । वास्तवमा भन्ने हो भने भ्रष्टाचार एक सोच हो, जुन सोचले अनियमित र अपारदर्शी क्रियाकलापबाट आफू वैभवशाली बन्ने आकांक्षा उमार्छ ।

यो एक महारोग हो, जसले आर्थिक एवं सामाजिक विकासको निर्धारित उद्देश्य हासिल हुन दिंदैन । किनकि स्रोत-साधनको प्रवाह उत्पादनशील क्षेत्रमा हैन, राज्यका निकायहरूमा बसेर काम गर्ने सीमित व्यक्ति वा समूहको निजी खल्तीमा प्रवाहित हुन्छ । निजी हितका लागि सार्वजनिक स्रोतको दोहन हुन्छ । जब त्यस्तो अनियमितता र भ्रष्टाचारलाई राजनीतिक संरक्षण हुन्छ, त्यसले राजनीतिक शासन प्रणालीलाई नै धरासायी बनाइदिन्छ ।

राजनीतिक नेतृत्वमा त्यस्तो भ्रष्टाचारजन्य सोचको बीजारोपण चुनावकै समयमा हुने गर्दछ । समाजमा असल कहलिएको व्यक्ति पनि कुनै न कुनै अनियमितता वा नीति विपरीतको क्रियाकलापमा संलग्न हुनुको कारण पनि त्यही सोचको उपज हो । जस्तो कि अहिलेको हाम्रो निर्वाचन प्रणाली खर्चिलो त छँदैछ, चुनाव जित्नका लागि त्यही द्रव्यको प्रयोग गर्न खोज्दा इमानदार कहलिएकाहरूले पनि स्रोतको जोहो गर्नुपर्ने बाध्यता आइपर्छ ।

अनि चुनावमा इमानदारिताका साथ राज्यलाई पारिश्रमिक कर तिरेको खुद आयबाट कसैले पनि सहयोग गर्न सक्दैन । अर्थात् चुनावमा आउने सहयोग पारदर्शी स्रोतबाट नभई अपारदर्शी स्रोतबाट प्राप्त हुन्छ । जब त्यो स्रोतको प्रयोग हुन्छ, निःसन्देह त्यसले भ्रष्टाचारको बीजारोपण गरिदिएको हुन्छ । त्यसैले जुन राजनीतिक दलले भ्रष्टाचारको साँच्चिकै विरोध गर्छ र समाजमा सुशासन र सदाचार कायम गर्न खोज्छ, त्यसले निर्वाचनका बेला कसरी खर्च गरेको छ भन्ने कुरामा दृष्टि पुर्‍याउनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा मान्छेलाई समाजले नै भ्रष्ट बनाइरहेको हुन्छ । जब समाजले कसैले एकाएक गर्ने आर्थिक प्रगतिलाई सफलताको मानक मानिदिन्छ, मान्छेलाई द्रव्य र प्रसिद्धि आर्जन गर्ने रहर जाग्दछ

यदि भ्रष्टाचारलाई रोक्ने हो भने राजनीतिमा अपारदर्शी सहयोग भित्र्याइनुहुँदैन । निर्वाचनको समयमा अपारदर्शी तरिकाले व्यक्तिहरूबाट लिइने आर्थिक सहायता नै भ्रष्टाचारको बीउ हो भन्ने कुरालाई हृदयङ्गम गरी त्यस्तो सहयोग रोक्न सक्नुपर्छ । त्यसैले भ्रष्टाचारको विरोध ठूलो कुरा हैन, त्यसको बीजारोपण नै हुन नदिनु चैं महत्वपूर्ण सवाल हो । यस्तो पहलले नै असल शासन र सदाचारी संस्कारको आधार तय गर्छ । यसका लागि राजनीतिक नेतृत्वले त्यो प्रतिबद्धता व्यवहारमै लागू गर्नुपर्छ भने राज्य र संस्थाहरूको निर्माण पनि उत्ति नै पारदर्शी तरिकाले हुनुपर्दछ ।

राजनीतिशास्त्री फ्रान्सिस् फुकुयामाले आफ्नो पुस्तक ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिकेय’मा उद्धृत गरे अनुसार सन् १९९६ मा विश्व ब्याङ्कका तत्कालीन प्रमुख जेम्स् वल्फिन्सन्ले गरिब मुलुकहरूको आर्थिक विकासको मुख्य बाधकको रूपमा ‘भ्रष्टाचारको क्यान्सर’लाई उल्लेख गर्दै त्यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी शासन जरूरी रहेको तर्क गरेका थिए । त्यसैबेलादेखि अन्तर्राष्ट्रिय विकास संगठनहरूले पनि भ्रष्टाचार विरुद्ध लड्नका लागि राज्य (स्टेट) र संस्था (इन्स्टिट्युसन)को निर्माणलाई जोड दिंदै आएका छन् । जुन कुरा ठूलो हिम्मत, बृहत् राजनीतिक प्रतिबद्धता र दृढ इच्छाशक्तिले मात्र सम्भव छ ।

भ्रष्टाचार विरुद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२१ को सर्वेक्षण अनुसार १८० देशहरूमध्ये भ्रष्टाचार कम हुने देशहरूको सूचीका आधारमा नेपाल ११७औं स्थानमा रहेको छ । सोही प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशहरूमा डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले समान ८८ अंक ल्याई सबैभन्दा पहिलो स्थानमा रहेका छन् भने दक्षिणी सुडान सबैभन्दा भ्रष्ट मुलुकमा दर्ज हुन पुगेको छ । अर्थात् सुडान ११ अंकका साथ १८०औं स्थानमा रहेको छ । १०० पूर्णाङ्कका आधारमा नेपालले ३३ अंक पाएको छ, जुन अंक औसतभन्दा धेरै कम हो । यसबाट हाम्रो देशमा सार्वजनिक सम्पत्तिमाथि हुने अनियमितता एवं भ्रष्टाचारको अवस्था छर्लङ्ग हुन्छ ।

यस्तो अवस्थाको निर्माण त्यही सोचका कारण भएको हो । भ्रष्टाचारको सोच भने अक्सर सबैमा हुने गरेको देखिन्छ । सबै मान्छे निरपेक्ष रूपमा भ्रष्टाचारको विरोधी नै हुन्छन् भनेर ठोकुवा गर्न सकिने अवस्था रहँदैन । किनकि हामी आकस्मिक रूपले प्राप्त हुने आर्थिक लाभलाई अस्वीकार गर्न सक्दैनौं । खासमा मान्छेले अवचेतन रूपमै सही त्यसप्रकारको आकस्मिक लाभको अपेक्षा पनि गरिरहेको हुन्छ । कतिपय अवस्थामा मान्छेलाई समाजले नै भ्रष्ट बनाइरहेको हुन्छ । जब समाजले कसैले एकाएक गर्ने आर्थिक प्रगतिलाई सफलताको मानक मानिदिन्छ, मान्छेलाई द्रव्य र प्रसिद्धि आर्जन गर्ने रहर जाग्दछ ।

परिणामस्वरूप समाज भ्रष्ट हुँदै जान्छ । किनकि सफल हुनका लागि अब मान्छेले द्रव्य आर्जनलाई नै आफ्नो लक्ष्य बनाउन थाल्छ । जब जीवनमा द्रव्य आर्जन नै मुख्य लक्ष्य हुन्छ भने त्यो व्यक्तिले इमान, जमान र नैतिकताका धेरै धरातल भत्काइसकेको हुन्छ । उसको लक्ष्य नै जे-जसरी हुन्छ सम्पत्ति आर्जन गर्नुमै हुन्छ । जब मान्छे एकाग्र भएर धन सम्पत्ति आर्जन गर्नेतिर सोच्न थाल्छ भने पक्कै पनि त्यहाँ भ्रष्टाचारको त्यो सोचकै बीजारोपण भएको हुन्छ ।

अनि ऊ कुनै न कुनै रूपमा आर्थिक अनियमितताको पक्षपोषण गर्न पुग्दछ, जसले भ्रष्टाचार निम्त्याउँछ । यस्तो प्रवृत्ति भनेको भ्रष्टाचारको सांस्कृतिक पक्ष हो, जसको निर्माण एउटा सोचबाट हुन्छ । अनि भाग्यवादी समाजले त्यो सोचलाई मलजल गरेको हुन्छ । किनकि भाग्यवादी समाजमा कमाउनु भनेको भाग्यको खेल पनि हो । भाग्यमा छ भने आइहाल्छ भन्ने मान्यतालाई समाजले स्वीकार गरिसकेको हुन्छ । तर, त्यस्तो कमाइमा अर्थशास्त्रको सामान्य सिद्धान्त पनि फेल खान्छ । किनकि अर्थशास्त्रले धनको सिर्जना आफैं हुँदैन भन्ने मान्यता राख्छ ।

धेरथोर धन आर्जनका लागि श्रम, शक्ति र स्रोतसाधन खर्च गर्नैपर्छ । कर्म गर्नैपर्छ । श्रम प्रयोग नभई प्राप्त भएको धन नै भ्रष्टाचार हो । के हामी निरपेक्ष रूपमा त्यस्तो धनको विरोध गर्न सक्छौं ? हो हामी सीधै आर्थिक अनियमितता र भ्रष्टाचारजन्य गतिविधिको त विरोध गर्छाैं, तर आफूले श्रम नगरी, कुनै बन्द-व्यापार नगरी कुनै न कुनै स्रोतबाट प्राप्त हुने आकस्मिक लाभलाई अस्वीकार गर्न सक्छौं कि सक्दैनौं ? यदि त्यसलाई अस्वीकार गर्न सक्छौं भने बल्ल हामी निरपेक्ष रूपमा भ्रष्टाचारको विरोधी ठहर्छाैं, अन्यथा आम मानिस निरपेक्ष रूपमा भ्रष्टाचारको विरोधी हैन, हुन सक्दैन ।

त्यसो त संस्थागत वा व्यक्तिगत भ्रष्टाचारका अनेक स्वरूपहरू हुन्छन् । सरकारी अड्डाहरूमा वर्षान्तमा छुट्याइएको शीर्षकमा नभएको खर्च जबर्जस्त रकमान्तर गर्दै अन्यत्र खर्च गर्ने परम्परा छ । यो कानुनी तवरले वैधानिक कार्य हो । जब खर्च गर्ने अवस्था नै छैन भने त्यस्ता परियोजनाको शीर्षकमा बजेटको प्रबन्ध नै किन गर्नुपर्‍यो ? अनि एउटा शीर्षकमा प्रबन्ध गरेको रकम अर्कै प्रयोजनमा खर्च गर्नु अनियमितता हैन ? रकमान्तर गरी अर्कै शीर्षकमा खर्च गरिनु भ्रष्टाचार हो कि हैन ?

त्यस्तै पहुँच र प्रभावकै आधारमा सीमित व्यक्ति संरक्षित सामाजिक संघ-संस्था, क्लब, प्रतिष्ठान इत्यादि सञ्चालनका लागि सरकारी बजेटको प्रबन्ध गरिन्छ । उपभोक्ता समितिमार्फत खर्च गर्ने गरी अनेक मठमन्दिर, यात्री प्रतीक्षालय तथा कुल देउताको थान बनाउनसम्म बजेटरी व्यवस्था गरी खर्च गर्न दिइन्छ । यसरी बकाइदा बजेटमै व्यवस्था गरेर खर्च भुक्तानी गर्ने जुन काइदा छ, यसलाई भ्रष्टाचार भन्ने कि नभन्ने ?

राष्ट्रपतिदेखि प्रधानमन्त्रीहुँदै मन्त्रीहरूलाई स्वविवेकीय ढंगले खर्च गर्ने अधिकार किन दिइन्छ ? सरकारी खर्चमा प्रधानमन्त्री तथा मन्त्री निवासमा हुने दलीय एवं निजी गतिविधि अनियमितता हैन ? सरकारी कोष खर्चिएर गरिने सबै प्रकारका निजी एवं दलगत गतिविधि भ्रष्टाचार हो कि हैन ? अख्तियारको दुरुपयोग गरी दिइने नियुक्ति, मनपरेको ठाउँमा गरिने सरुवा, बढुवा, ठेक्का दिलाउने कार्य, अनावश्यक खर्च भुक्तानी इत्यादि कार्य भ्रष्टाचार हैन ?

आवश्यकता, योग्यता र क्षमता अनुसार भन्दा पनि आफ्ना नातागोता भाइभतिजालाई जागिर खुवाउन, मन्त्री, सांसददेखि पालिका प्रमुख वा वडा अध्यक्षसम्मले निजी सचिवालय बनाउनु भ्रष्टाचार नभएर के हो ? कानुन बनाएरै सही आफ्नो सेवासुविधा बढाउँदै लैजानु अनावश्यक रूपमा राज्यकोषमाथि भार पर्ने गरी जनशक्तिको नियुक्ति र व्यवस्थापन, सल्लाहकारको नियुक्ति, भोजभतेर इत्यादिमा राज्यकोष खर्चिइनु के भ्रष्टाचार हैन ?

कुनै वैध आम्दानी विना नेताहरूको घर-गाडी अनि बंगला कसरी बन्छ ? अनि रवाफिलो दैनिकी कसरी चल्छ ? ब्याङ्क ब्यालेन्स कहाँबाट आउँछ ? यसर्थ, यी सबै भ्रष्टाचारकै सांस्कृतिक अंशहरू हुन् । त्यसैले भ्रष्टाचार एक आम सोच हो । वैभवमुखी सामाजिक सम्बन्धले निर्माण गरेको संस्कृति हो । यसको अन्त्यका लागि सबैभन्दा पहिले त्यो सोचको अन्त्य हुनुपर्छ । सोचमा गढेको भ्रष्टाचारको अंशलाई निकाल्नुपर्छ । जब व्यक्तिको सोचमै भ्रष्टाचार जन्मिन्छ भने, यो अपि्रय भइकन पनि निरपेक्ष रूपले अस्वीकार्य हुँदैन ।

जबसम्म व्यक्तिमा भ्रष्टाचारको सोच र यसको सांस्कृतिक अंश बाँकी रहन्छ, कुनै पनि व्यक्ति पूर्ण रूपमा भ्रष्टाचार विरोधी हुन सक्दैन । अभावमा बाँचिरहेको समाजका लागि आवश्यकताको परिपूर्ति पहिलो मुद्दा बन्दछ । आफ्ना आवश्यकता पूरा भइसकेपछि बल्ल उसले अन्य विषयमा सोच्ने हो । त्यसैले हामीले सार्वजनिक खपतका लागि अभिव्यक्ति दिएजस्तो भ्रष्टाचार विरोधी अभियान मात्रै अबको नयाँ राजनीतिक मुद्दा हो भनेर ठोकुवा गर्न सक्ने अवस्था देखिंदैन ।

अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा नारामा भ्रष्टाचाररहित सुशासित, चरित्रवान आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित र स्खलित राजनीतिकै संरक्षण गर्ने द्वैध चरित्र प्रदर्शन भइरहेको छ । यस्तो दोहोरो चरित्रको अन्त्य नगरेसम्म न त भ्रष्टाचारको सूचकांक नै घट्नेछ न मुलुकको विकास र समृद्धि नै सम्भव छ । किनकि माथि नै उद्धृत गरियो कि- भ्रष्टाचार यस्तो क्यान्सर होÙ जसले व्यक्ति, परिवार, समाज अनि राष्ट्रलाई नै संकटमा पुर्‍याइदिन्छ ।

त्यसैले यसको सुरुवात राजनीतिबाटै हुनुपर्छ । यसको समाधान स्वच्छ र सफा अर्थात् क्लिन पोलिटिक्स हो । यसका लागि राजनीतिलाई पेशा होइन आंशिक स्वयंसेवाको रूपमा ग्रहण गर्नुपर्दछ । राजनीतिकर्मीले आय आर्जनको विषयलाई टिप्पणी हैन, गौरवको विषय ठान्नुपर्‍यो । कुनै बेला पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले एक अन्तर्वार्ताका दौरान आफू आयमूलक काममा आजीवन नलागेको विषयमा गर्व गरेका थिए ।

अब प्रश्न गर्नुपर्‍यो, महोदय- जीवनमा कुनै आयआर्जनमूलक कार्य नै नगर्नु कसरी गर्विलो भयो ? अनि आय आर्जनमा नलागिकनै निजी सम्पत्ति कसरी जोडियो ? यत्तिका वर्ष जीवन कसरी चल्यो ? त्यसैले सार्वजनिक खपतका लागि गरिने भ्रष्टाचारको विरोध केवल औपचारिकता हो, मुख्य कुरा यसको सोच र संस्कृतिलाई अन्त्य गर्नु हो । यदि साँच्चिकै सदाचार र सुशासन खोज्ने हो भने भ्रष्टाचारको सोच र सांस्कृतिक स्वरूप ध्वस्त पार्ने हिम्मत गर्नुपर्छ ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?