+
+
Shares

भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपालसँग पार्टी एकता गर्नु हानिकारक : सुदन किराती

किरातीले गल्ती नसच्चिए खराब इतिहास निर्माणको खतरा बढेको पनि बताए । ‘इतिहासमा रामजस्तै थिए नेताहरू, अब रावण जस्तो बन्ने खतराबाट बचाऔं’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १८:३९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन्।
  • किरातीले भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपाललाई नेता मान्न गाह्रो हुने र जनताले पनि नमान्ने बताए।
  • उनले पार्टी पुनर्गठनका लागि सबै पदाधिकारीले राजीनामा दिने र विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन्।

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले माधव नेपालकै नेतृत्वमा रहेको एकीकृत समाजवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन् ।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा किरातीले भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपाललाई नेता मान्न गाह्रोपर्ने बताए ।

‘माओवादीले सुशासनलाई प्रमुख एजेण्डा बनाएर अभियान सञ्चालन गरिरहेको छ । तर, माधव नेपालमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा छानबिन हुँदैछ,’ उनले भनेका छन्, ‘एकताको नाममा उहाँलाई ल्याइयो भने नेता मान्न पनि गाह्रो हुन्छ, मानिरहे पनि जनताले मान्दैन । त्यसकारण पार्टीका निम्ति हानिकारक छ ।’

उनले माओवादी यथास्थितिमा अगाडि बढ्न नसक्ने निष्कर्ष सहित पुनर्गठनको प्रस्ताव गरेका छन् । किरातीले विकल्प सहितको प्रस्ताव अगाडि सारेका छन् ।

सबै पदाधिकारीले राजीनामा दिने, र स्थायी समितिका सिनियर नेताको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई उनले प्राथमिकतामा राखेका छन् ।

अर्को प्रस्तावमा उनले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आयोजक समिति बनाउनुपर्ने तर्क गरेका छन् ।

किरातीले अर्को विकल्पमा पनि दिएका छन् । जसअनुसार प्रचण्ड नै संयोजक रहेर महाधिवेशन गर्ने, तर महाधिवेशनमा नेतृत्व त्यागको ग्यारेन्टी यही केन्द्रीय समिति बैठकबाट गर्ने ।

नेताहरू पद, पैसा र परिवारको पछाडि लाग्न थालेपछि पार्टी कमजोर बनेको निष्कर्ष पनि उनले सुनाएका छन् ।

‘जतिखेर मृत्युको प्रवाह गर्थेनन् नेताहरूले, त्यो बेला पार्टी शक्तिशाली थियो,’ उनले भने, ‘जब जीवनको माया गर्न थालियो । पैसा, पद र  परिवारको पछि लाग्न थालियो । अनि पार्टी पनि कमजोर, नेता पनि कमजोर भए ।’

किरातीले गल्ती नसच्चिए खराब इतिहास निर्माणको खतरा बढेको पनि बताए । ‘इतिहासमा रामजस्तै थिए नेताहरू, अब रावण जस्तो बन्ने खतराबाट बचाऔं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?