+
+
Shares

भेपमा सुन लुकाइएको प्रतिवेदन दिने उपसचिवमाथि नै भ्रष्टाचार मुद्दा

एयरपोर्ट भन्सारका केही कर्मचारीहरुको सक्रियता र जाँचबुझले भेपभित्र सुन तस्करी भएको खुलेको थियो । त्यसससम्बन्धी लिखित प्रतिवेदन दिने कर्मचारीहरूले अहिले भ्रष्टाचारमुद्दा खेपिरहेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८३ वैशाख १४ गते २१:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपभित्र लुकाइएको सुनबारे प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालसहितका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ।
  • प्रमुख भन्सार अधिकृत खनालले भेप साटिएको प्रतिवेदन तयार पारेका थिए, तर अख्तियारले उनलाई सूचना लुकाएको आरोप लगाएको छ।
  • जिल्ला अदालतले सुन तस्करीमा संलग्नलाई दोषी ठहर गरेको छ र भन्सारका कर्मचारीहरूलाई सरकारी साक्षी बनाएको थियो।

१४ वैशाख, काठमाडौं । ‘२०८० वैशाख १९ गते गोदामको नियमित निरीक्षण तथा मालवस्तु भेरिफिकेसन गर्दा सामानको प्रकृति अनुसार एउटै भेपको ठाँउमा फरक-फरक प्याकेजिङ सहितको मालवस्तु राखी सामान साटफेर भएको देखिएको ।

यसरी मालवस्तु किन र के उद्देश्यका साथ साटफेर भयो भनी कार्यालयले नासु रेवन्त खड्कासँग बुझ्न खोज्दा विभिन्न बाहनामा अनुपस्थित र सम्पर्क विहीन हुने गरेको ।

उक्त घटनाबारे प्रमुख भन्सार प्रशासनले नासुलाई कार्यालयमा तत्काल बोलाई सोधपुछ गर्न र औचित्यपूर्ण जवाफ प्राप्त हुन नसकेमा आवश्यक अनुसन्धानका लागि अनुसन्धानात्मक निकायमा जानकारी गराउन उचित हुने देखि यो प्रतिवेदन पेश गरेको छु ।’

२५ वैशाख २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले तयार पारेको प्रतिवेदनको सारांश हो यो । उनले प्रतिवेदन दिएपछि मात्रै विद्युतीय चुरोट(भेप)मा लुकाएर ल्याइएको सुनबारे विवरण खुलेको थियो । र, प्रहरीको सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरादेखि उनका छोरा राहुल लगायतलाई मुद्दा चलायो ।

तर, अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेपभित्र लुकाएर ल्याइएको सुनबारे लिखित प्रतिवेदन दिने उपसचिव तहका प्रमुख भन्सार अधिकृत खनाल लगायतका कर्मचारीमाथि नै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले खनाल लगायत केही भन्सारका कर्मचारीहरूमाथि आरोप छ, ‘भेपमा सुन लुकाएर ल्याइएको थाहा पाएपछि पनि सूचना लुकाएर उनीहरूले सुन तस्करीलाई सहयोग गरे ।’

तर, सुन तस्करीमा नासु रेवन्त खड्का र कार्यालय सहयोगी निर्मलकुमार विक बाहेक अरु कर्मचारीको संलग्नतासम्बन्धी प्रमाणबिना नै अख्तियारले सबैजसो कर्मचारीहरूमाथि मुद्दा चलाएको हो ।

चार आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा भन्सारका उपसचिव(प्रमुख भन्सार अधिकृत) अम्बिकाप्रसाद खनालमाथि तीनवटा आरोप लगाएको देखिन्छ ।

पहिलो, कार्यालयमा प्राप्त सूचना बदनियतपूर्वक लुकाएको ।

दोस्रो, सुनसहितको भेपलाई सुनरहित भनी मूल्यांकन गरेको ।

अख्तियारले लगाएको तेस्रो आरोपमा भनिएको छ, ‘भेपमा सुन रहेको सूचना पाएर पनि अन्य प्रतिवादीको मिलेमतोमा सूचना लुकाएर थप परीक्षण नगरेको ।’

अख्तियारले जफत गरेर राखिएको सुन बेचेपछि एयरपोर्ट भन्सारका प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेलले प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाललाई प्रतिवेदन तयार पार्न लगाएको आरोप लगाएको छ ।

अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘उक्त कर्तूतबाट बच्ने बचाउने र सुन बेचेर खाने मनसायले दसी प्रमाण समेत नष्ट गरी गराएको देखिन्छ ।’

तर, विशेष अदालतमा पेश भएको आरोपपत्रमा अख्तियारले आफ्नो दाबी अनुसारको प्रमाण पेश गरेको देखिँदैन ।

प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालमाथि कार्यालयमा प्राप्त सूचना बदनियतपूर्वक लुकाएको आरोप लगाएपछि जिल्ला र विशेष अदालतमा पेश भएका कागजातले खनालको प्रतिवेदनपछि मात्रै भेपभित्र सुन लुकाइएको तथ्य खुलेको देखिन्छ ।

र, अख्तियारले खनालले प्रतिवेदन पेश गर्नुअघि नै भेपमा सुन लुकाइएको थियो भन्ने कागजात, प्रमाण वा अरु लिखित विवरण विशेष अदालतमा पेश गरेको छैन ।

सुन तस्करीबारे सुटकेस जाँचबुझ गर्ने र भेप साटिएको भनी प्रतिवेदन दिने प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालमाथि नै अख्तियारले अनुसन्धान थाल्यो । त्यसपछि उनले अख्तियारमा गएर, आफूलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै मुद्दा चलेको भनेर अनुसन्धानमाथि प्रश्न उठाएका थिए ।

‘प्रस्तुत मुद्दाको उठान नै भन्सार कार्यालयबाट गरी नेपाल सरकारलाई थप सम्भावित हानी हुनबाट रोक्ने प्रयास गरेको साथै कानूनको अधिनमा रही आफ्नो जिम्मेवारी तथा कर्तव्य पालना गरेको हो’ खनालले अख्तियारमा गएर बयानमा भनेका थिए, ‘मलाई कारवाहीको सट्टा थप हौसला उत्प्रेरणा वा पुरस्कारको व्यवस्था हुनुपर्ने मेरो बुझाई छ ।’

लुकाइएको सुन किन नदेखेको ?

आरोपपत्रको विवरण हेर्दा अख्तियारले विद्युतीय चुरोट(भेप) भित्र सुन लुकाइएको स्विकारेको छ । तर भेपभित्र लुकाइएको सुन किन बेलैमा पत्ता नलगाएको भनी कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ ।

अख्तियारको आरोप अनुसार, भन्सारका कर्मचारीहरूले सुन सहितको भेपलाई सुन नभएको भेप भनी मूल्यांकन गरेका थिए । तर, जिल्ला अदालतले भन्सार कार्यालयमा भेप मूल्यांकन हुँदासम्म त्यसभित्र सुन लुकाइएको भनी कतै नखुलेको औंल्याएको छ ।

अर्कोतर्फ, मूल्यांकनपछि समेत सुटकेसमा राखिएको भेप यथावत रहेको र लिलामबिक्री नभएको अवस्थामा अख्तियारले मूल्यांकनलाई नै भ्रष्टाचारको आरोप लगाएको हो ।

अख्तियारले भन्सारका कर्मचारीहरुमाथि भेपमा सुन रहेको सूचना पाएर पनि त्यसलाई लुकाएको भन्ने आरोप लगाएको छ । तर भन्सार कार्यालयको कागजात र प्रक्रिया हेर्दा भेपमा सुन भएको सूचना पाएपछि केही काम भएका छन् ।

जिल्ला अदालत, काठमाडौंको फैसलामा भएको विवरण अनुसार, भेपमा सुन लुकाइएको सूचना पाउनासाथ प्रमुख भन्सार प्रशासन अरुण पोखरेलले नासु रेवन्त खड्कालाई बोलाएर केरकार गर्नुका साथै साटिएको सामान पेश गर्न आदेश दिएको छ ।

नासु खड्काले पटकपटकको निर्देशन अवज्ञा गरेको भनी विशेष अदालतमा पेश भएको अर्को आरोपपत्रमा नै उल्लेख छ । बिचबिचमा उनी सम्पर्कविहीन समेत भए । पछि भन्सारका उच्चपदस्थ अधिकारीले ‘प्रहरी परिचालन गरेरै पक्राउ गर्नुपर्ने अवस्था हुनसक्ने’ चेतावनी दिएपछि बल्ल उनी भन्सार कार्यालय पुगेर भेप साटिएको कुरा बताएका थिए ।

भेप साटिएको थाहा हुनासाथ एयरपोर्ट भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालको समिति गठन गरेर प्रतिवेदन तयार पार्न लगाएको थियो ।

एयरपोर्टका अर्का नासु सरोज श्रेष्ठले सुटकेश जफत हुँदा खिचेको फोटोकै आधारमा पछि सुटकेसमा फेरेर राखिएको भेपको बट्टा फरक परेको पत्ता लागेको थियो ।

त्यसलगत्तै प्रमुख भन्सार अधिकृत खनालले भेप फेरिनुलाई शंकास्पद घटना भनी तत्काल अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेका थिए ।

२५ वैशाख, २०८० मा उनले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनाबारे प्रमुख भन्सार प्रशासनले नासुलाई कार्यालयमा तत्काल बोलाई सोधपुछ गर्न र औचित्यपूर्ण जवाफ प्राप्त हुन नसकेमा आवश्यक अनुसन्धानका लागि अनुसन्धानात्मक निकायमा जानकारी गराउन उचित हुने देखि यो प्रतिवेदन पेश गरेको छु ।’

प्रतिवेदन ठिक, तयार पार्ने कर्मचारी बेठिक

अख्तियारले भेप प्रकरणमा कर्मचारीहरूले भ्रष्टाचार गरे भन्ने आफ्नो दाबी पुष्टि गर्न भन्सार कार्यालयले नै तयार पारेको जाँचबुझ प्रतिवेदनलाई आधार बनाएको देखिन्छ ।

प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले पेश गरेको प्रतिवेदनका आधारमा सुटकेसको भेप साटिएको पुष्टि हुने अख्तियारको दाबी छ । तर, अख्तियारले प्रतिवेदन पेश गर्ने खनाललाई नै भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

त्यसको आधारबारे आरोपपत्रमा अख्तियारले भनेको छ, ‘बब्लु गुप्ताबाट भेपभित्र सुन रहेको थाहा पाएर फेरि सुनको चेकजाँच गराउनुपर्नेमा नगराएर प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले मिलेमतो गरेको देखिन्छ ।’ तर, प्रमुख भन्सार अधिकृत खनालले दिएको प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार भएपछि अनुसन्धान अघि बढेको विषयमा अख्तियार मौन छ ।

अख्तियारको आरोपपत्र र जिल्ला अदालतको फैसलाका कतिपय विषयवस्तु एक आपसमा बाझिन्छन् । एयरपोर्ट भन्सारका सुरक्षागार्ड निर्मलकुमार विकले एउटा भेपमा सुन भेटाएपछि त्यसलाई सुन पसलमा लगेर गहना बनाएका थिए ।

त्यसपछि उनले नासु रेवन्त खड्कालाई भेटेर भेपमा सुन रहेको बताए, अनि उनीहरूले सुन व्यापारी खोजेर सबै भेपको सुन निकालेका थिए । नासु खड्काले सबै सुन बेचेपछि मात्रै भन्सारमा लिलामी सामान उठाउने बब्लुकुमार गुप्ताले थाहा पाएका थिए, अनिमात्रै प्रमुख भन्सार अधिकृत खनालले थाह पाए ।

भेपमा सुन रहेको भनी गुप्ताले जानकारी दिएपछि प्रमुख भन्सार अधिकृत खनालले चेकजाँच नगरेको भन्ने अख्तियारको आरोप छ, जब कि उनले एक्सरेमा भेप जाँचेका थिए र त्यसक्रम सुन नभेटिएपछि थप खोजतलास गर्दा भेप साटफेर भएको पत्ता लागेको हो ।

खनालले थाहा पाएकै दिन एक्सरे मेसिनमा लगेर सुटकेसको परीक्षण भएको थियो । तर अख्तियारले गुप्तालाई साक्षीको रुपमा प्रस्तुत गरेको छ । अनि उनले ‘मैले सुनमा भेप रहेको खबर नासु खड्का र प्रमुख भन्सार अधिकृत अम्बिका खनाललाई थाह दिएको थिएँ’ भन्ने आधारमा भ्रष्टाचार मुद्दा चलाएको देखिन्छ ।

खनालले पेश गरेको निरीक्षण प्रतिवेदनले भेप साटिएको र त्यसक्रममा भेपमा सुन भएको पत्ता लागेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अर्का नासु सरोज श्रेष्ठले खिचेको फोटोको तुलना गर्दा भेप साटिएको खुलेको थियो । तर, त्यही प्रतिवेदन दिने प्रमुख भन्सार अधिकृत खनालले सूचना लुकाएको र त्यसले भेप तस्करीलाई सहज भएको अख्तियारको दाबी हो ।

जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नहरूलाई दोषी ठहर गरेको थियो । त्यसमा नासु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेत, गोपाल सुवेदी लगायत छन् ।

त्यसरी उनीहरू दोषी ठहर हुनुमा सुटकेस परीक्षण प्रतिवेदन नै प्रमुख आधार हो । सूचना पाएका र परीक्षण गर्ने कर्मचारीहरू जिल्ला अदालतमा साक्षीको रुपमा उपस्थित थिए ।

तर, अख्तियारले प्रतिवेदन दिने र सरकारी साक्षी बनेर जिल्ला अदालतमा उपस्थित हुनेहरूलाई पनि मुद्दा चलाएको छ । प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल सुन तस्करी र सम्पत्ति शुद्धिकरणको मुद्दामा सरकारी साक्षी हुन् ।

 तर, अख्तियारले ‘सुन तस्करीको संरक्षण गरेर भ्रष्टाचार गरेको’ आरोप लगाएर उनीहरुमाथि समेत भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले आफ्नो आरोपपत्रमा भनेको छ, ‘प्रमुख भन्सार प्रशासक अरुण कुमार पोखरेल, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल र नासु मधुसुदन पोखरेल समेतले आफ्नो जिम्मामा रहेको भेप जस्तो देखिने बस्तुमा पहेँलो धातु लकाई छिपाई लिई आएको सामग्री अन्य प्रतिवादीहरूसँगको मिलेमतो तथा साँठगाँठमा कानुनतः निर्वाह गर्नुपर्ने कर्तव्य पालना नगरी नगराई तोकिएको जिम्मेवारीबाट विमुख भएको ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?