+
+

इटहरीको पाँच वर्ष : चर्चामा अगाडि, काममा पछाडि

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख ७ गते १९:३८

७ वैशाख, विराटनगर । पछिल्लो पाँच वर्षमा सर्वाधिक चर्चामा रहेका जनप्रतिनिधिको सूचीको अग्रस्थानमा पर्छन् इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी । पत्रकारलाई गाली, महिलामाथि अपशब्द, कर्मचारीमाथि गालीगलौजका कारण उनी चर्चामा आइरहे । बोलीका कारण चर्चामा आएका मेयर चौधरीले आफ्नो कार्यकालमा प्रतिवद्धता अनुसार काम भने गरेका छैनन् ।

पछिल्लो पाँच वर्षमा करिब २०० किलोमिटर सडक कालोपत्र गरेको जप्रतिनिधिको दाबी छ । भौतिक पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम गरेको उपमेयर लक्ष्मी गौतम दाबी गर्छिन् । उनका अनुसार पालिकाले निर्माण थालेका १० वटा वडा कार्यालय मध्ये ६ वटा उदघाटन भएका छन् । बाँकी निर्माणको क्रममा छन् ।

उपमेयरको दाबीलाई नगरपालिका गेट अगाडिको सडकले गिज्याइरहेको छ । पूर्व-पश्चिम राजमार्गको इटहरी चोकबाट पूर्वतर्फ रहेको उपमहानगरपालिकाको कार्यालय जाने बाटोको निकास नाला भत्किएको छ । व्यस्त सडकको निकास नाला भत्किएका कारण बटुवालाई हिंडडुल गर्न पनि सास्ती छ ।

उपमहानगरपालिकाको कार्यालय अगाडिको नाला भत्किएको छ ।

मेयर-उपमेयर सधैं टकराव

इटहरी उपमहानगरपलिकामा नेकपा एमालेबाट मेयर र उपमेयर निर्वाचित भएका थिए । २२ हजार ६८९ मतसहित मेयरमा एमाले उम्मेदवार द्वारिकलाल चौधरी निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस उम्मेदवार रोहितकुमार प्रसाईंले १९ हजार ९८५ मत प्राप्त गरे । इटहरीमा राप्रपाको तेस्रो र माओवादीको स्थान चौथो थियो ।

उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८ सय २४ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार विमला शिवाकोटीले १८ हजार ३५२ मत प्राप्त गरेकी थिइन् ।

इटहरी उपमहानगरमा एउटै पार्टीबाट मेयर र उपमेयर निर्वाचित भए पनि उनीहरुबीच विवाद भइरह्यो । पछिल्लो समय दुई बीच बोलचालसमेत छैन । सार्वजनिक कार्यक्रममा घोचपेच गरिरहन्छन् । विवाद बढेपछि चैत पहिलो साता मेयर चौधरीले उपमेयर गौतमको गाडी खोसेका थिए ।

भेटघाटका लागि आउने कार्यकर्ता र शुभचिन्तकसँग मेयर-उपमेयरले एकले अर्काको कुरा काट्छन् । ‘उहाँहरुको गुनासो आ-आफ्नै छ,’ एमाले इटहरीका स्थानीय एक नेताले भने, ‘कार्यकर्ता भेट्न पुगे एकले अर्काप्रति आक्रोश र असन्तुष्टि पोखिरहन्छन् ।’ उपमेयर गौतम मेयर चौधरीसँग काम परेका बेला मात्रै बोलचाल हुने बताउँछिन् । पछिल्लो समय मेयर चौधरी सञ्चारमाध्यमसँग बोल्न मान्दैनन् ।

पदलाई न्याय गरेको दाबी

इटहरीका मेयर विवादमा आइरहे पनि उपमेयर लक्ष्मी गौतम ठूलो विवादमा परिनन् । गौतम नयाँ व्यवस्थामा आफूले पाएको पहिलो जिम्मेवारी पूरा गरेको उनी बताउँछिन् ।
‘उपमेयर पदलाई न्याय गरें मैले, यो संस्था सामूहिक भावनाबाट सहकार्यबाट चल्नुपर्छ,’ उनले भनिन्, ‘कतिपय अफ्ठ्यारो बेलामा निर्णय गर्दा सामूहिक भावना हुन सकेन, बीच-बीचमा समस्या आउँदा हल गर्दै लगियो ।’

न्यायीक समितिलाई सुरुबाट नै सशक्त बनाएको उनको तर्क छ । समस्यालाई न्यायीक समितिमा हाल्दिने काम भयो । न्यायीक समितिलाई सुरुदेखि नै मेलमिलाप केन्द्र वडा-वडामा बनाएँ । आउने गुनासाहरु वार्डमै हेरिने भएपछि काम गर्न अलिकति सहज भयो । न्यायीक समितिमा ४०० मुद्दाहरु आएका थिए । ‘केही मुद्दालाई वडामै मिलाइयो, धेरै उजुरी जग्गा विवादसँग जोडिएर आए, लैंगिक हिंसा र लेनदेनका विवाद पनि थिए,’ उनले भनिन्, ‘न्याय सम्पादनका लागि हामीले वडामा नै संयन्त्र बनाएका थियौं ।’

उपप्रमुखलाई बजेट वनाउने अधिकार भएपछि पुरुष प्रतिनिधिले बजेट निर्माणमा असहयोग गरेको उनको अनुभव छ । ‘बजेट नपर्दा दोषजति उपमेयरलाई दिएको पनि देखियो,’ उनले भनिन्, ‘उपमेयरको अधिकारमा हस्तक्षेप पनि भयो ।’

आफ्नो भूमिका देखाउन खोज्दा बाइपास भएको उनको तर्क छ । ‘प्रमुखहरुले जहाँ भन्यो, त्यहीं सही (हस्ताक्षर) गर्ने उपप्रमुखहरु असल र राम्रो हुनुभयो,’ उनले भनिन्, ‘आफ्नो भूमिका देखाउन खोज्ने उपप्रमुखहरु नराम्रो हुनुभयो, समस्याहरु देखिए, त्यसमा म पनि परें ।’ पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण रहेको बताउँदै गौतमल नयाँ संरचना भएका कारण कानुन निर्माण र कर्मचारी अभावले सुरुवाती समयमा अलमल भएको थियो ।

‘यो संरचना भनेको इटहरी गाउँपञ्चायत हुँदाखेरिको हो, नगरपालिका भइकन संरचना बनेको छैन,’ उनले भनिन्, ‘हामी बस्ने संरचना पनि जनप्रतिनिधि आउँदा बस्ने ठाउँ हुँदैन भनेर नयाँ बनाएको हो ।’ प्रशासनिक भवन नभएको पालिकाले पाँच वर्षमा कार्यालय भवन निर्माण गरेन ।

‘अधिकार, संरचना र कर्मचारी नहुँदा पहिलो वर्ष पूर्ण क्षमतामा काम हुन पाएन । संघीयताको नयाँ अभ्यास हो,’ उनले भनिन्, ‘कोरोना महामारी पनि आयो, राम्ररी दिल खोलेर दुई वर्ष मात्रै काम गर्न पायौं ।’

जनताका अनेकौं अपेक्षाका बीचमा प्रतिवद्धता गरेका धेरै काम पूरा गरेको उपमेयर गौतमको दाबी छ । ‘२५ वर्षमा इटहरी कस्तो बन्छ भन्ने आधार पाँच वर्षमा प्रस्तुत गर्छौं भनेका थियौं । ती प्रतिवद्धता हामीले थालेका योजना सम्पन्न भएपछि ७५ प्रतिशत पूरा हुन्छन्,’ उनी भन्छिन् ।

इटहरीलाई उपमहानगर बनाउन चारवटा पालिकाहरु जोडिएका थिए । ‘उपमहानगर भएपछि पहिलो निर्वाचन थियो,’ उनले भनिन्, ‘ती चारवटा गाविसमा पूर्वाधार कम थियो, कुनै ठाउँमा गिट्टी पनि पुगेको थिएन । अहिले मुख्य ठाउँलाई कालोपत्रे सडकले जोडेका छौं ।’

सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने, सुविधासम्पन्न सभाहल निर्माण गर्ने, नगर बस सञ्चालन गर्ने, वृहतर इटहरी चक्रपथ निर्माण गर्ने, खनार झुम्का औद्योगिक करिडोर निर्माण गर्ने, तीन सय शय्याको ट्रमा सेन्टरसहितको अस्पताल निर्माण गर्नेसहितका प्रतिवद्धता पूरा भएनन् । पाँच वर्षमा डुबानको समस्या समाधानका लागि पनि स्पष्ट योजना आएन । निकास नहुँदा सानो वर्षामा पनि बजार क्षेत्र जलमग्न हुने गरेको स्थानीय बताउँछन् ।

आलोचना

एमालेले इटहरी घोषणा पत्रमा आवास तथा सहरीकरण, राजस्व, सार्वजनिक प्रशासन, यातायात/ सडक, सुरक्षा, रोजगारी, शिक्षा, उद्योग, स्वास्थ्य ऊर्जा, सरसफाइ, संस्कृति, पर्यटन, खानेपानी, नदी कटान, कृषि बजार, सूचना केन्द्र, युवा तथा खेलकुद, सुकुमवासी, सामाजिक सुरक्षा, विपद व्यवस्थापन सम्बन्धी छुट्टाछुट्टै शीर्षकमा प्रतिवद्धता सार्वजनिक गरेको थियो । तर प्रतिवद्धता कार्यान्यन नभएको नेपाली कांग्रेसका नेता रोहित प्रसाई बताउँछन् । ‘पाँच वर्ष कार्यकाल पूर्ण रुपमा असफल भयो । वडा-वडा प्रतिवद्धता गरेका थिए, खोला बाँध्ने, रोड बनाउने अस्पताल बनाउने प्रतिवद्धताहरु थिए, ती कुनै कार्यान्वयन भएनन् ।’

नेकपा माओवादी केन्द्र इटहरीका नेता मदन चुडाल पनि जनताका अपेक्षा पूरा नभएको बताउँछन् । ‘इटहरीमा नयाँ मेघा प्रोजेक्ट आउँछ भन्ने आस थियो, तर जनप्रतिनिधिले नियमित काम गरेर पाँच वर्ष बिताए,’ चुडाल भन्छन्, ‘जनताको अपेक्षा अनुसार केही काम भएनन् ।’

उपमहानगरको व्यवस्थित योजना पनि बन्न नसकेको उनको तर्क छ । ‘व्यवस्थित इटहरीको योजना नै बनेन,’ उनले भने, ‘जनप्रतिनिधिले सामान्य बाटो-घाटो बनाए, नेतृत्व सफल हुन सकेन ।’

पछिल्लो पाँच वर्षमा जनप्रतिनिधि ‘पोलिटिकल माइन्ड म्यापिङ’मा अलमलिएको कवि तथा विश्लेषक मनु मञ्जिल बताउँछन् । ‘ग्रेटर इटहरी भन्ने कुरा त गर्नुभयो तर कस्तो हुन्छ भन्ने माइन्ड म्यापिङ नै देखिएन,’ उनी भन्छन्, ‘जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख गरेका १० प्रतिशत प्रतिवद्धता पनि पूरा गरेको देखिंदैन ।’

पछिल्लो समय चुनाव जितेकै पार्टीका कार्यकर्ता पनि निराश देखिएको बताउँदै उनले भने, ‘निर्वाचनमा धमिलो पानीमा पौडी खेल्न जान्नेले पार गर्ने हो ।’ अहिले देखिएको राजनीतिक संस्कार तत्काल सुधार हुनसक्ने अवस्था पनि नरहेको उनी बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?