+
+

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १६:२२

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ ।

स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ ।

‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल पूरा गर्ने राजनीतिक सुनिश्चितता छ’, घोषणापत्रमा भनिएको छ ।

अन्य प्रदेश सरकार पूरा कार्यकाल टिक्न नसके पनि जसपाले आफ्नो नेतृत्वको जोगाउन सफल भएको दावी गरेको छ ।

३ फागुन २०७४ मा गठित मधेश सरकार पाँचै वर्ष टिक्नुले राजनीतिक स्थायित्वको सन्देश समेत गएको जसपाले जनाएको छ ।

‘७ मध्ये ५ प्रदेशका प्रादेशिक सरकारको नेतृत्व यस बीच परिवर्तन भयो । कतिपय प्रदेशमा बारम्बार नेतृत्व परिवर्तन भयो । तर, पार्टीको एकल बहुमत नहुँदा नहुँदै पनि जसपाले मधेश सरकारलाई स्थायीत्व (राजनीतिक स्थायीत्व) को पक्षमा उल्लेखनीय योगदान गर्‍यो’, घोषणापत्रमा लेखिएको छ ।

प्रदेशको नाम पनि पहिचानको आधारमा राख्न सफल भएको जसपाले दावी गरेको छ । ‘मधेश नामांकनसँगै देशले पहिचान आधारित नामांकन प्राप्त गर्न सफलता पाएको छ । देशमा पहिचानमा आधारित संघीयताको आन्दोलन अघि बढाउन, संघीयताको मर्म अनुरूपका प्रदेश रचना, सिमांकन र नामांकन गर्न यसले प्रेरणाको काम गर्ने छ’, घोषणापत्रमा छ ।

गएको ३ मााघमा प्रदेशको नाम ‘मधेश’ राखिएको थियो । प्रदेशसभाका १०४ मध्ये ९९ सदस्य उपस्थित रहेको बैठकमा ८० जनाले पक्षमा मतदान गरेपछि मधेश नाम रहन गएको छ । प्रदेशको नाम पहिचानमा राखेर पार्टीले आफ्नो दायित्व पूरा गरेको घोषणापत्रमा उल्लेख छ ।

जसपाले मधेश सरकारले लोकप्रिय, जनमुखी र परिणामदायी काम गरेको दाबी गरेको छ । विशेषतः बेटी पढाउ, बेटी बचाउ अभियान, शहीद सम्मान कार्यक्रम, किसानहरूको ऋणको ब्याज भुक्तानी प्रयोजनका लागि विशेष अनुदान लगायत सफल काम मधेश सरकारले गरेको घोषणापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?