+
+

माओवादीले वास्ता नगरेपछि काठमाडौं पुगेका रुकुम पश्चिमका कांग्रेस नेता निराश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:१८

७ वैशाख, सुर्खेत । पश्चिम रुकुममा गठबन्धनका लागि नेकपा माओवादी केन्द्रले वास्ता नगरेपछि कांग्रेसका जिल्ला नेताहरु काठमाडौं हानिएका छन् ।

तर काठमाडौंमा पनि केन्द्रीय नेताहरुले आफूहरुको मागमा चासो नदिएपछि उनी निराश भएका छन् ।

माओवादीको आधार इलाका मानिएको रुकुममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सम्मानजक भाग पाउनु पर्ने अडान राख्दै आएका थिए । तर माओवादीले पेलेरै जान खोजेपछि सहमति जुट्न सकेको छैन ।

गठबन्धनका साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति नजुटेपछि रुकुम पश्चिममा माओवादी केन्द्र एक्लैले जिल्लाका सबै पालिकामा आफना उम्मेद्वार टुंगो लगाएको छ ।

त्यसपछि रुकुम पश्चिमका कांग्रेस सभापति प्रेमप्रकाश वलीसहितका नेता सम्मानजनक भाग पाउनु पर्ने माग लिएर काठमाडौं पुगेका थिए । तर काठमाडौंमा पनि पार्टीका केन्द्रीय नेताले आफहरुको मागबारे कुनै चासो नदिएको उनीहरुले बताएका छन् ।

‘जिल्लामा सहमति जुट्न सकेन, कि भाग चाहियो, कि त कांग्रेसलाई एक्लै लड्न दिनुपर्‍यो भनेर म काठमाडौं आएको छु’ सभापति वलीले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘काठमाडौंमा पनि नेताहरुले खासै वास्ता गर्नुभएन । जिल्ला फर्किदैछु, अब जे हुन्छ जिल्लामै हुन्छ ।’

सत्ता गठबन्धनको मर्म विपरीत माओवादी गएकाले जिल्लामा कांग्रेस-एमाले गठबन्धन गरेर पनि चुनावमा जानसक्ने सभापति वली बताउँछन् । ‘एमालेसँग गठबन्धन गर्नेबारे जिल्ला स्तरीय छलफल चलिरहेको छ,’ उनले भने ‘यो हाम्रो इच्छा हैन्, बाध्यता हो ।’

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा ०७४ को चुनावमा ६ वटै पालिका प्रमुख र उपप्रमुख माओवादीले जितेको थियो । कांग्रेस, एमाले, एकीकृत समाजवादीलगायतका सबै दल मिले पनि आफूले एक्लै चुनाव जित्ने माओवादी नेताहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?