+
+

फिल्मकर्मीले भेटे गृहमन्त्री, एक साताभित्रै बक्स अफिस जडान गर्न बोर्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ११:५९

काठमाडौं । नयाँ वर्षमा सरकारबाट विभूषण र पदक पाएका फिल्मकर्मीलाई बोलाएर गृहमन्त्री बालकृष्ण खाँणले बधाई दिएका छन् । मन्त्रीले बोलाएपछि अभिनेता भुवन केसी, अनमोल केसी, निर्देशक नवल खड्का, मिलन चाम्स, दीपाश्री निरौला बुधबार गृह मन्त्रालय पुगेका थिए ।

मन्त्रीले विभूषण र अवार्डलाई लिएर सुधार गर्न सकिनेबारे सुझाव मागेको जानकारी भेटमा सहभागी निर्देशक खड्काले अनलाइनखबरलाई जानकारी दिए । सो अवसरमा नेपाली फिल्मको पछिल्लो परिस्थितिबारे मन्त्री र फिल्मकर्मीबीच छलफल भएको थियो ।

पछिल्लो समय नेपाली फिल्ममाथि विदेशी फिल्मको प्रभुत्व बढेको भन्दै यसलाई न्यूनीकरण गर्न राष्ट्रिय चलचित्र नीतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव आफूहरुले दिएको खड्काले बताए ।

विदेशी फिल्मलाई कोटा लगाउनुपर्ने सुझाव पनि फिल्मकर्मीले सो अवसरमा दिएका थिए । ‘नेपाली फिल्म रक्षात्मक स्थितिमा पुगेका कारण हामीले राष्ट्रिय चलचित्र नीतिमा उल्लेख भएअनुसार सकारात्मक विभेदको बुँदा टेकेर अघि बढ्न सरकारलाई सुझाव दियौं,’ खड्काले भने ।

साथै, फिल्मको छायांकनमा प्रयोग गरिने नक्कली हतियारको प्रबन्ध गर्दा प्रहरी प्रशासनबाट हैरानी खेप्नुपरेको र यसमा सहजीकरण गरिदिन फिल्मकर्मीले आग्रह गरेका थिए । फिल्मकर्मीको यस्तो गुनासोपछि मन्त्री खाँणले गृहसचिवलाई यसबारे निर्देशन दिएको जनाइएको छ ।

एक साताभित्रै बक्स अफिस जडान गर्न निर्देशन

यसैबीच, शुक्रबार बसेको चलचित्र विकास बोर्डको बैठकले एक साताभित्रै मुलुकभरका हललाई राष्ट्रिय बक्स अफिस प्रणालीमा आबद्ध हुन निर्देशन दिने निर्णय गरेको छ । ‘बक्स अफिस जडान गर्न एक साताको म्याद दिने निर्णय भएको छ,’ बोर्ड सदस्य राज कटुवालले अनलाइनखबरलाई भने, ‘सार्वजनिक सूचना नै जारी हुन्छ ।’

नवीकरण नभएका हललाई पनि तत्काल नवीकरण गर्न निर्देशन दिने निर्णय पनि भएको छ । आगामी सोमबारदेखि मुलुकभरका हलमा अनुगमन गर्ने निर्णय पनि बैठकमा भएको जानकारी सदस्य कटुवालले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?