+
+
घर-बगैंचा :

लाहुरे फूल : कस्तो मलमाटोमा राम्ररी फुल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १२:२९

काठमाडौं । वसन्त याम छ । यतिबेला धेरैको घर-बगैंचा ढकमक्क बनाएको छ, लाहुरे फूलले । यसको खास नाम डेलिया भएपनि नेपाली समाजमा ‘लाहुरे फूल’ भनेर चिनिन्छ ।

यो फूलको उत्पत्ति मध्यअमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । विदेशबाट आयातित यो फूल नेपालमा पनि धेरै प्रचलित छ । लाहुरे फूल अर्थात् डेलियाका विषयमा द स्ट्यान्डर्ड नर्सरीका सञ्चालक सुरेशभक्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

डेलिया फूल फुल्ने मुख्य सिजन कुन हो ?

डेलिया फुल्ने मुख्य सिजन गर्मीयाम नै हो । मुख्यतया चैत-वैशाख यो फूल फुल्छ ।

यो कस्तो हावापानी वा माटोमा बढी सप्रिन्छ ?

यो फूल धेरै चिसो हावापानीमा सप्रिन सक्दैन । यसलाई घाम चाहिन्छ त्यसैले गर्मी ठाउँमा वा धेरै गर्मी पनि नभएको र धेरै जाडो पनि नभएको ठिक्कको हावापानीमा यो फूल बढी फैलिन्छ । माटोको कुरा गर्दा मलिलो माटोमा यो फूल बढी सप्रिन्छ ।

डेलिया फूललाई कस्तो मल माटो आवश्यक हुन्छ ?

बलौटे माटो यो फूलको लागि उपयुक्त हुन्छ । त्यस्तै मलको कुरा गर्दा कम्पोस्ट मल, गाईवस्तुको मल पनि हाल्न सकिन्छ । तर कम्पोस्ट मल भने यो फूलमा हाल्नु हुँदैन । कम्पोस्ट मलको मात्रा मिलेन भने फूल नै क्षति हुन्छ ।

कति दिनमा सिंचाइ गर्नुपर्छ ?

यो फूललाई दिनदिनै पानी हाल्नु भन्दा माटो छामेर सुख्खा हुन आटेको छ भने मात्र पानी  हाल्दा राम्रो हुन्छ । गोडमेल चाहिं एक महिनामा गर्नु उपयुक्त हुन्छ ।

यसको कति भेराइटी हुन्छ ? गमलामा रोप्ने र बगैंचामा रोप्ने जात फरक-फरक हो ?

डेलिया फूलको भेराइटीको कुरा गर्दा यसको कलरमा जान सकिन्छ । रातो, पहेंलो, बैजनी, सुन्तला, सेतो र गुलाबी रंगमा यो पाउन सकिन्छ । यो फूल गमलामा रोप्ने र बगैंचामा रोप्ने एउटै जात हुँदैन । सबै जातलाई दुवै ठाउँमा रोप्न सकिन्छ ।

कति किसिमको फूल फुल्छन् ? 

यो फूल मुख्यतया दुई किसिमको हुन्छ । एउटा ४-५ फिट अग्लो हुने ठूलो थुङ्गा फुल्ने हुन्छ । अहिले बजारमा चलेको चाहिं हाइब्रिड सानो ८ देखि १० इन्चको सानो थुङ्गा फुल्ने हुन्छ ।

यसको फूल कति अवधिसम्म टिक्छ ?

यसको फूल चारदेखि पाँच महिनासम्म टिक्छ ।

यसको बिरुवा कुन सिजनमा राख्ने र सार्ने हो ?

अहिले नर्सरीहरूमा यसको बिरुवा तयारी नै हुन्छ । बीउबाट र कलबीबाट यो बिरुवा तयार हुन्छ । यसलाई तयार पार्न एक महिना लाग्छ । डेलिया जाडो माहिनामा भन्दा गर्मी महिना यहि चैत-वैशाखमा सार्न सकिन्छ ।

यसलाई गोडमेल गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

यसलाई गोडमेल गर्दा ध्यान दिनुपर्ने कुरा भनेको बिस्तारै गोडमेल गर्नुपर्छ । यो फूलको गानो हुन्छ, गोडमेल गर्दा त्यसलाई धक्का पुर्‍याउनु हुँदैन ।

डेलिया फूलको थुँगा के प्रयोजनका लागि उपयोग हुनसक्छ ?

बगैंचा तथा गमलामा सजाउन यो एकदमै आकर्षक हुन्छ । पूजाआजामा पनि यो फूलको राम्रो प्रयोग हुने गरेको छ । सजावटमा पनि यो फूल बढी प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?