+
+

दाङमा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख १० गते १६:२८
दाङको घोराही बजार । घोराही उपमहानगरपालिकासहित चारवटा स्थानीय तहमा मात्र गठबन्धनका दलहरुबीच भागवण्डा मिलेको छ ।

१० वैशाख, दाङ । दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच दैनिक दुई पटकसम्म बैठक बस्दा पनि भागवण्डामा सहमति नजुटेपछि जिल्लाका अधिकांश पालिका र वडाहरुमा चुनावी तालमेलको सम्भावना टरेको छ ।

दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् ।

उम्मेदवारी मनोनयन हुन एक दिन मात्र बाँकी रहँदा घोराही, तुलसीपुर र बंगाचुली गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुबीच भागवण्डा मिलेको छ ।

बाँकी ६ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद टुंग्याउनेबारे सहमति नजुट्दा गठबन्धनका दलहरुबीच नै मित्रवत प्रतिस्पर्धा हुने अवस्था आएको उनले बताए । जिल्लामा दश स्थानीय तह छन् ।

दलहरुले आआफ्ना अडान जारी राखेपछि विकल्प सोचेर अघि बढ्ने  तयारी भएको माओवादी केन्द्रका नेता निर्मल आचार्यले बताए । ‘दलहरुबीच निरन्तर बैठक भइरहेको छ’ आचार्यले भने, ‘दलहरुको अडान लिएपछि सहमति जुट्न सकेको छैन ।’

यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताले घोराही र तुलसीपुर उपमहानगरको भागवण्डा गरिसकेको छ । घोराहीको मेयरमा माओवादी केन्द्र, उपमेयरमा कांग्रेस, तुलसीपुरको मेयरमा कांग्रेस र उपप्रमुखमा नेकपा एसको भागमा परेको छ ।

त्यस्तै बंगाचुली गाउँपालिकामा पनि गठबन्धन गर्ने सहमति बनेको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसलाई दिने सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको छ ।

लमही नगरपालिकोको टुंगो लगाउने जिम्मा भने प्रदेश कमिटीलाई छ । लमहीमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीनवटै प्रमुख दलले दाबी गर्दै आएका छन् ।

त्यस्तै राप्ती, गढवा, राजपुरमा दलहरुले चुनावी तालमेलको सम्भावना टरिसकेको छ । शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा भने सहमतिको प्रयास भइरहेको गठबन्धन दलका एक नेताले बताए ।

यता, जिल्लाका वडामा पनि दलहरुबीच भागबण्डामा सहमति जुटेको छैन । घोराही उपमहानगरपालिका बाहेक अन्य पालिकाका वडामा दलहरुबीच चुनावी तालमेलको सम्भावना नहुने देखिएको छ । जिल्लामा १०० वटा वडा छन् ।

जिल्लामा गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन नसकेपछि मित्रवत प्रतिस्पर्धाबाट अघि बढ्ने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेले बताए । यद्यपि उनले शनिबार बेलुकासम्म पनि सहमति जुटाउने प्रयास भने भइरहेको बताए ।

‘हरेक तहबाट प्रयास गर्दा सहमति जुट्न नसके गठबन्धन दलहरुबीच मित्रवत प्रतिस्पर्धा गरेर अघि बढ्छौं’ उनले भने ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?