+
+

भरतपुर र माडीमा एमाले-राप्रपा तालमेल प्रयास

विक्रम पाण्डे भन्छन्– आज फाइनल हुन्छ

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख ११ गते १०:१७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

११ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

जिल्लाका यी दुई पालिकामा राप्रपाको मत राम्रो रहेकाले राप्रपालाई दुबै पालिकामा उपमेयरसहित केही वडाध्यक्ष दिएर तालमेल गर्ने सहमतिको नजिक पुगिएको एमाले नेताहरुले बताएका छन् ।

राप्रपाको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राप्रपाका नेता जीवलाल पुरीले एमालेसँग सकारात्मक कुराकानी भइरहेको बताए ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपाको बलियो उपस्थिति छ । एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गर्ने भनेर उपमेयरको टुंगो लगाएको छैन । शनिबार राति सकिएको एमाले सचिवालय बैठकले पनि भरतपुर महानगरपालिकाको उपमेयरमा सकेसम्म तालमेल गर्ने नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदी र माडीको मेयरमा ताराकाजी महतोलाई मेयरको उम्मेदवार बनाएको छ । एमाले चितवन जिल्ला इञ्चार्जसमेत रहेका पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीले राप्रपासँग चुनावी तालमेलमा सहमतिको नजिक पुगेको बताए । ‘आज साँझसम्म एउटा कुरा आउँछ,’ नेता ज्ञवालीले भने, ‘एमाले र राप्रपासँगै मिलेर जानेमा एकमत छौं ।’

विक्रम पाण्डे

भरतपुर महानगरका अधिकांशका वडा र माडी नगरपालिका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र (चितवन ३) मा पर्दछ । राप्रपाका उपाध्यक्ष पाण्डेले एमालेसँग सहमति गरेर चुनावमा जानेबारे सकारात्मक कुराकानी भएको अनलाइनखबरसँग बताए । ‘मिलेर जानुको विकल्प छैन, आज फाइनल हुन्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘यसपटक भरतपुर जित्नुपर्छ भन्ने हो ।’ एमालेले भरतपुरको उपमेयरमा प्रदेश सांसदसमेत रहेकी रिना गुरूङलाई उम्मेदवार बन्न अनुरोध गरेको छ ।

एमाले र राप्रपा मिल्दा भरतपुरमा के हुन्छ ?

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर बनेका देवी ज्ञवाली २०३ मतले कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालसँग पराजित भए । एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याउँदा रेनुले गठबन्धनबाट ४३ हजार १२७ मत ल्याएकी थिइन् ।

राप्रपाबाट मेयर उम्मेदवार बनेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए । तिमिल्सिना अहिले माओवादी केन्द्रमा छन् । राप्रपाबाटै उपमेयरको उम्मेदवार बनेकी रिना गुरूङले ७ हजार २५२ मत ल्याएकी थिइन् ।

अघिल्लो चुनावमा काठमाडौं लगायतका पालिकामा राप्रपासँग तालमेल गरेको एमालेले भरतपुरमा तालमेल नगर्दा चुनाव हार्न परेको एमालेकै जिल्ला नेताहरु बताउँछन् । ‘हामी जम्मा २०३ मतले मेयरमा हार्यौं, त्यतिबेला राप्रपासँग तालमेल भएको भए कांग्रेस–माओवादी गठबन्धन पराजित हुन्थ्यो, राप्रपाको ६ हजार मत आउँदा माओवादीले मतपत्र च्यात्ने आँट पनि गर्दैनथ्यो,’ एमाले जिल्ला सदस्य राजु पौडेलले भने, ‘यसपटक मिलेर जानुपर्दछ, थोरै मतको हार–जित हैन, ठूलो अन्तरले जित्नुपर्छ ।’

भरतपुरमा कांग्रेस र माओवादी तथा एकीकृत समाजवादीको तर्फबाट रेनु दाहाल दोस्रोपटक मेयरको उम्मेदवार बनेकी छन् । कांग्रेस भित्र गठबन्धनका विषयलाई लिएर चरम असन्तुष्टि बढिरहेको बेला एमाले र राप्रपा तालमेल हुँदा त्यसले सत्ता गठबन्धन उम्मेदवार माथि थप दबाव सिर्जना हुने विश्लेषण गरिएको छ ।

यसपटक राप्रपाले १० हजार बढी मतदाता आफ्नो रहेको दावी गर्दै आएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २५, २६, २७ र २८ मा राप्रपाको जनमत राम्रो छ । यस्तै माडी नगरपालिकामासमेत राप्रपाको बलियो उपस्थितिछ । माडी नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा मेयर जितेका ठाकुर ढकालले  ३ हजार ८७३ मत ल्याउँदा राप्रपाका मेयर उम्मेदवार मदन पौडेलले ३ हजार ७३ मत ल्याएका थिए । एमालेका उम्मेदवार नारदमणी पौडेलले ३ हजार ८२६ मत ल्याएका थिए । राप्रपाको माडीको वडा नं. १, २ र ३ मा बलियो जनमत छ । एमाले र राप्रपा बीच तालमेल हुँदा माडी र भरतपुरको नतिजामा फरक पार्ने अवस्था आउने अनुमान छ ।

आगामी मंसिरमा हुने संघीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. ३ बाट राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई सहयोग गरेर जाने विषयलाई समेत पृष्ठभूमिमा राखेर छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?