+
+

विदेशी फिल्मलाई कर बढाउने सरकारको संकेत, डब फिल्मबारे तत्काल निर्णय नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:१६
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय । फाइल तस्वीर

काठमाडौं । सरकारले विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएको छ । तालुक निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमार्फत विदेशी फिल्मको प्रदर्शनमा केही कडाइ गर्ने तयारी गरेको हो ।

यसबारे मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले अनलाइनखबरसँग भने, ‘नेपाली सिनेमालाई प्रवद्र्धन गर्न पनि आगामी बजेटमा यसबारे केही न केही गर्नैपर्ने देखियो । यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’

विदेशी फिल्मलाई कर वृद्धि र स्वदेशी फिल्मलाई कर छुटमार्फत सम्बोधन गर्न सरकारले तयारी गरिरहेको जनाएको हो । ‘विदेशीलाई कर बढाएर हुन्छ वा नेपालीलाई घटाएर हुन्छ । यसबारे हामी काम गरिरहेका छौं,’ प्रवक्ता सिंहले भने ।

पछिल्लो समय नेपाली फिल्म बजारमा दक्षिण भारतीय फिल्मको दबदबा बढेको र प्रदर्शक तथा वितरकको पेलानमा परेको भन्दै गुनासो आएपछि मन्त्रालयले सक्रियता देखाएको हो । गत साता चलचित्र विकास बोर्डले विदेशी फिल्मलाई कडाइ गर्नेबारे केही सुझाव मन्त्रालयलाई दिएको थियो ।

आइतबार पनि बोर्ड अध्यक्ष दयाराम दाहाल मन्त्रालयका अधिकारीहरुसँग यिनै विषयमा छलफल गर्न व्यस्त थिए । साथै, बोर्डले डब फिल्मको रिलिज रोक्न मन्त्रालयलाई आग्रह पनि गरिसकेको छ । तर प्रवक्ता सिंहले भने डब फिल्मलाई रोक्नेबारे तत्काल कुनै निर्णय नहुने बताए ।

‘केलाई डब मान्ने र केलाई ओरिजिनल मान्ने ? समस्या डबबाट आएको हो कि अन्य पक्षबाट ? यसबारे अध्ययन नभइकन निर्णय हुँदैन,’ सिंहले अनलाइनखबरलाई भने, ‘तर आगामी बजेटमा विदेशी र नेपाली फिल्मका केही प्रावधानबारे निर्णय हुनसक्छ । कर पुनरावलोकन सम्भावना हो ।’

केजीएफ-२, आरआरआर, पुष्पा, स्पाइडरम्यानजस्ता विदेशी फिल्मले नेपाली फिल्म बजारमा कब्जा जमाएको र प्रदर्शकले नेपाली फिल्मलाई बेवास्ता गरेको गुनासो फिल्मवृत्तबाट आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?