+
+

काठमाडौं-जापान रुटमा अब साताको तीन उडान हुने, भाडा दर कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:३९

१२ वैशाख, काठमाडौं । काठमाडौं-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमले अहिले काठमाडौं-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने उनले जानकारी गराइन् । यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकोका कारण उडान संख्या थप्न लागिएको उनको भनाइ छ ।

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं-नारिता यात्रु बोक्न परेको हुनाले भाडादर समेत मंहगो भएको नेपाल एयरलाइन्सको भनाइ छ ।

काठमाडौैं-नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको भन्दै खड्काले कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत चेतावनी दिएको छ ।

कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावहरुलाई प्रमाणसहित निगममा उजुरी गर्न समेत अनुरोध गरेको छ । काठमाडौं-नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जनाएको छ । नारिताबाट काठमाडौं उड्ने समयमा भने जहाज पूर्ण क्षमतामा उड्ने गरेको छ । जसले गर्दा नेपाल आउने यात्रुलाई भाडा समेत केही कम पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?