
१२ वैशाख, हेटौंडा । सत्ता गठबन्धनबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा उम्मेदवारी दिएकी लामा २०७४ मा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । उपमेयर रहँदा पार्टीमा आएको फुटपछि उनि एकिकृत समाजवादीमा समाहित भएकी थिइन् । उनले २०७४ को निर्वाचनमा २३ हजार ४३७ मत प्राप्त गरेकी थिइन् ।
हेटौंडा-२ स्थित मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।
गठबन्धनले वडा तहमा पनि तालमेलको प्रयास गरेको छ । केही वडामा तालमेल भएपनि धेरैमा असन्तुष्टि देखिएर स्वतन्त्र उम्मेदवारी परेको छ ।
एमालेबाट मेयरमा अनन्त पौडेलको उम्मेदवारी
हेटौंडा उपमहानगरको मेयरमा नेकपा एमालेका अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गरेका छन् । मेयरमा उम्मेदवारी दर्ता गराएका पौडेल सविधानसभाका सदस्य पनि हुन् ।
एमालेले १९ वटै वडामा अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारी पनि दर्ता गराएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले हेटौंडाको मेयर र उपमेयर जितेको थियो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमहानगरमा मनोनयन दर्ता गराएको छ । विवादका बीच राप्रपाका नेता दीपकबहादुर सिंहले मेयरमा र इन्दीरा न्यौपानेले उपमेयरमा मनोनयन दर्ता गराएका हुन् । २०७४ को स्थानीयतह निर्वाचनमा राप्रपा हेटौंडा उपमहानगरमा तेश्रो शक्ति रहेको थियो ।
प्रतिक्रिया 4