+
+
उम्मेद‍्वार हुन जनप्रतिनिधिको राजीनामा :

कार्यवाहक नहुँदा रोकियो सिफारिस

अमृत चिमरिया अमृत चिमरिया
२०७९ वैशाख १३ गते १६:५७

१३ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयरसहित ९ जना जनप्रतिनिधिले ९ वैशाखमा राजीनामा दिए ।

३० वैशाखमा हुने स्थानीय तह चुनावमा उठ्नका लागि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ र वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति र वडा सदस्यहरू रामकेशरी श्रेष्ठ, मन्दिरा थापा नेपालीलगायतले राजीनामा दिए । तर उनीहरुले राजीनामा दिएपछि खाली भएका वडामा कसैलाई पनि कार्यवाहक दिएनन् ।

त्यसैले जनप्रतिनिधिहरुले राजीनामा दिएपछि वडाबाट गर्नुपर्ने कतिपय सिफारिसहरु रोकिएको छ । मध्यपुर ठिमीका वडाहरुमा जनप्रतिनिधिहरु नहुँदा वडासचिवहरुले सिफारिस गर्न नसकेको कारण सेवाग्राहीहरु वञ्चित बन्न थालेका छन् । मध्यपुर ठिमी जस्तै वडाध्यक्ष, वडा सदस्य सबैले राजीनामा दिएको धेरै स्थानीय तहका वडाहरुमा सिफारिस रोकिएको गुनासो बढ्न थालेको छ ।

धेरैजसो स्थानीय तहमा वडाध्यक्षले राजीनामा दिएको तर कसैलाई पनि कार्यावाहक नतोकिंदा सिफारिसमा समस्या देखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखा अनुसार स्थानीय तहका वडामा सिफारिस रोकिँदा कर्मचारीहरुले जिज्ञासा राख्ने क्रम बढ्न थालेको छ ।

‘वडा सचिवहरुलाई सिफारिस गर्ने अधिकार छैन, सेवाग्राहीहरु कर्मचारीहरुसँगै रिसाउन थालिसकेका छन् । जिम्मेवारी नहुँदा उनीहरुले मन्त्रालयमा के गर्ने भन्दै बारम्बार गुनासो गर्न सुरु गरेका छन्’, मन्त्रालयका एक कर्मचारीले भने ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहिताको दफा ३६ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा प्राप्त गर्नेगरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान छ ।

फेरि चुनावमा उम्मेद्वार भएका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । कुनै कुनै स्थानीय तहमा भने कार्यपालिकाले वडाका कर्मचारीहरुलाई कार्यवाहक दिएता पनि अधिकांश स्थानीय तहमा चुपचाप राजीनामा बुझाएर जनप्रतिनिधि हिँडेपछि भद्रगोल बनेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ को १ उपदफामा लेखिएको प्रावधान अनुसार वडाध्यक्ष नभएको खण्डमा वडा सदस्यहरु मध्ये एकजनाले कार्यवाहक भई काम गर्न सक्ने छ । उपदफा २ मा वडाको निर्वाचन नभएसम्मको लागि कार्यपालिकाले कुनै कर्मचारीलाई वडाध्यक्षको कार्य गर्नेगरी तोक्न सक्ने उल्लेख गरेको छ । तर कार्यापालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले राजीनामा दिँदा कर्मचारीलाई कुनै अधिकार नदिई जाँदा वडा वडामा समस्या देखिएको हो ।

जनप्रतिनिधिले दायित्वबोध नगरेको आरोप

सामान्य प्रशासन मन्त्रालयले भने जनप्रतिनिधिहरुले राजीनामा दिँदा स्थानीय तहप्रति दायित्वबोध महशुस गर्न नसकेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने ‘५ वर्ष जनताको बीचमा काम गर्दा दैनिक कस्ता कस्ता सेवामा प्रभाव पर्छ भन्ने पालिकाका प्रमुखदेखि वडासदस्यसम्मलाई हेक्का हुनुपर्ने हो । तर राजीनामा दिँदा कर्मचारीलाई अधिकार नदिई स्थानीयबासीलाई सेवाबाट बञ्चित गरिनु भनेको दायित्वबोध नहुनु हो ।’

उनले देशैभरी यस्ता समस्याहरु धेरै देखिरहेको भन्दै मन्त्रालयले केहि दिनमा कति स्थानमा सिफारिसलगायतको समस्या सिर्जना भएको भन्ने तथ्यांक निकालेपछि मात्रै अरु कदम चाल्न सक्ने बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?