+
+

गण्डकीका पालिकामा अधिकांश पुरानै अनुहार, दोहोर्‍याउनेमा एमाले धेरै

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख १४ गते ७:३१
नेकपा एमालेकी मञ्जुदेवी गुरुङ, नेपाली कांग्रेसका रामचन्द्र जोशी र नेकपा माओवादी केन्द्रका प्रकाश घर्ती

१४ वैशाख, पोखरा । सत्ता गठबन्धनले बागलुङको ताराखोला गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट धनबहादुर विक ‘हिमाल’लाई उठाउने निर्णय गर्‍यो । तर, गठबन्धनको उक्त निर्णयबाट पालिका प्रमुखसमेत रहेका प्रकाश घर्ती सन्तुष्ट भएनन् । अघिल्लो पटक उनले माओवादी केन्द्रबाटै अध्यक्ष जितेका थिए ।

पालिका प्रमुखमा दोहोरिन राजीनामा दिइसकेको अवस्थामा पनि पार्टीले टिकट नदिएपछि घर्तीले सोमबार बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गरे । पालिका कमिटीले आफूलाई नै टिकट दिने गरी सिफारिस गरेपनि माथिल्लो तहले नदिएको भन्दै उनले पुनः उम्मेदवारी दिएको बताएका छन् ।

गण्डकीमा पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन इच्छा राख्ने र उम्मेदवारी दिने घर्तीमात्रै होइनन् । भौगोलिक रुपमा देशकै ठूलो महानगर पोखराको उपप्रमुखमा पनि मञ्जुदेवीलाई दोहोर्‍याउने गरी नेकपा एमालेले मनोनित गरेको हो । तर, यसबाट गुरुङ भने सन्तुष्ट भएकी छैनन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि गुरुङले असन्तुष्टि पोखिन् । ‘दोहोरिन मन भए पहिल्यै लिस्टमा नाम दिन्थें । ठीक छ, पार्टीको निर्णय मान्नुपर्छ । तर, एक पटक सोध्नुपर्थ्यो,’ मिडियालाई प्रतिक्रिया दिँदै उनले भनेकी छन् । शनिबार एमालेको केन्द्रीय सचिवालय बैठकले उनलाई उपप्रमुखमा दोहोर्‍याउने निर्णय गरेपछि अस्वीकार गरेकी पनि थिइन् । तर, सचिवालय बैठकले प्रमुखको नाम फेर्‍यो, उनको नाम फेरेन ।

कास्कीकै रुपा गाउँपालिकामा पनि निवर्तमान पालिका अध्यक्ष र उपाध्यक्षले जनप्रतिनिधिका रुपमा दोहोरिन उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङले पुनः दोहोरिन उम्मेदवारी दिएका हुन् ।

कास्कीकै अन्नपूर्ण गाउँपालिकाका युवराज कुँवरले पुनः पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । पोखरामा ५ पालिकामध्ये नेपाली कांग्रेसले अन्नपूर्ण गाउँपालिका प्रमुखमा मात्रै जितेको थियो । उनै कुँवरले पुनः पालिका प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

हिमाली जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पनि पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । ०७४ सालमा स्वतन्त्रबाट पालिका प्रमुखमा विजयी भएका विष्ट पनि नेकपा एमाले प्रवेश गरेका थिए । यसपटक उनी नेकपा एमालेबाटै पालिका प्रमुखमा भिड्न लागेका हुन् । मनाङको डिस्याङ गाउँपालिका प्रमुखमा कान्छा घलेलाई नै नेकपा एमालेले दोहोर्‍याएको छ ।

बागलुङको बागलुङ नगरपालिकाका निवर्तमान प्रमुख जनकराज शर्माले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट उनी पालिकामा दोहोरिन पुनः उम्मेदवारी दिएका हुन् । उनको प्रतिद्वन्द्वीमा अघिल्लो चुनावमा उनीसँगै पराजित सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ छन् ।

त्यस्तै, पर्वतबाट पनि पालिका प्रमुख तथा उपप्रमुखमा दोहोरिन ३ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये फलेवासमा हालकै प्रमुख र उपप्रमुख दोहोरिने गरी नेकपा एमालेले सिफारिस गरेको थियो ।

पर्वतमा पालिका प्रमुखमा दोहोरिन उम्मेदवारी दिनेमा कुश्मा नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका रामचन्द्र जोशी, फलेवास नगरपालिका निवर्तमान मेयर एमालेका पदमपाणि शर्मा, उपप्रमुख एमालेकै मञ्जुदेवी अधिकारी छिन् ।

स्याङ्जाका विभिन्न पालिकाका ६ जना पालिका प्रमुख/उपप्रमुख दोहोरिन उम्मेदवारी दिएका छन् । स्याङ्जाको पुतलीबजारमा प्रमुख र उपप्रमुख दुवै दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट विजयी भएका नगरप्रमुख सीमा क्षेत्री र उपप्रमुख महेश पुरीलाई नै एमालेले दोहोर्‍याएको छ ।

त्यस्तै, स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका हालकी उपप्रमुख प्रमुखमा दोहोरिन मनोनयन दर्ता गरेकी छन् । नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी चिनमाया गुरुङले पालिका प्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

कालीगण्डकी गाउँपालिकाका निवर्तमान प्रमुख खिमबहादुर थापा पनि जनप्रतिनिधिमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट प्रमुख पद जितेका थापालाई सोही पदमा दोहोर्‍याउने पार्टीले निर्णय गरेको हो ।

स्याङ्जाकै हरिनाश गाउँपालिका प्रमुखमा अघिल्लो चुनावमा नेकपा एमालेबाट विजयी भएका खिमनारायण मानन्धर यसपटक पनि दोहोरिन उम्मेदवारी दिएका छन् । त्यस्तै, फेदीखोला गाउँपालिकाका घनश्याम सुवेदीले पनि पुनः दोहोरिन उम्मेदवारी दिएका छन् ।

तनहुँमा पनि पालिका प्रमुखमा दोहोरिनेको लर्को छ । तनहुँको देवघाट गाउँपालिकामा प्रमुखमा दोहोर्‍याउन नेकपा एमालेबाट दुर्गाबहादुर थापाले उम्मेदवारी दिएका छन् । आँबुखैरेनी गाउँपालिकामा दोहोरिन कांग्रेसका गिरबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै बन्दीपुर गाउँपालिकाको हालकै अध्यक्ष र उपाध्यक्षमा दोहोरिन उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णसिंह थापा र उपाध्यक्षमा करुणा गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । म्याग्दे गाउँपालिकामा कांग्रेसका माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे दोहोरिन उम्मेदवारी दिएका छन् ।

भिमाद नगरपालिका उपप्रमुखमा दोहोरिन एमालेकी शारदा खनालले उम्मेदवारी दिएकी छन् । ऋषिङ गाउँपालिकामा दोहोरिन नेपाली कांग्रेसले हालकै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापाको उम्मेदवारी दर्ता गराएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?