+
+

भरतपुरमा बागी मनाउन दौडधुप

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १४ गते २२:५५

१४ वैशाख, चितवन । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार दिउँसो बुटवल जाने तयारीमा थिए । तर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर भने, ‘तपाईं भरतपुर जानुस् र पार्टीका साथीहरुसँग बसेर कुराकानी गर्नुस् ।’

देउवाको निर्देशनपछि खाँण चितवन आएका छन् ।

अघिल्लो दिन मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुर आएर फर्किएका थिए । बुधबार विहान सत्तारुढ दलहरुको बैठक बस्यो र बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित दलले पहल गर्ने निर्णय लियो ।

किनकी स्थानीय चुनावमा तालमेल गरेका सत्तारुढ गठबन्धनलाई बागी टाउको दुखाइ बनेको छ । भरतपुर महानगरपालिकामा पनि कांग्रेस नेताले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनको शीर्ष तहमा भएको भागवण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने उपमेयर कांग्रेसले लिएको छ । तर मेयर आफ्नो दलले पाउनुपर्ने अडानमा रहेका कांग्रेस नेताहरुले पूर्व सांसद जगन्नाथ पौडेलले मेयरको उम्मेदवार बनाए ।

यदि उनको उम्मेदवारी कायमै रहे भरतपुरमा सत्ता गठबन्धनलाई समस्या पार्ने आकंलन गरिएको छ । किनकी एमाले आफैंमा बलियो प्रतिस्पर्धी हो, उसले राप्रपासँग तालमेल गरेर शक्ति बढाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा समेत जम्मा २०३ मतले एमाले उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए । त्यसबेला एमाले एक्लै चुनावमा होमिएको थियो ।

यो पटक उसले राप्रपाको साथ पाएको छ । सत्तारुढ गठबन्धनमा भने किन विवाद झन् बढेको छ । यसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मात्र होइन, सत्ता गठबन्धनलाई दबावमा राखेको छ ।

त्यही कारण खाँण चितवन आएका हुन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै खाँणले पौडेलप्रति संकेत गर्दै पार्टीको निर्णयलाई सहजतापूर्वक लिन आग्रह गरेका छन् । भने, ‘कांग्रेसका नेता कार्यकर्ताले दिनुभएको उम्मेदवारी फिर्ता लिनु हुनेछ भन्ने मलाई विश्वास छ ।’

लगत्तै जिल्ला पार्टी कार्यालय, नारायणगढ पुगेका उनले जिल्लाका नेताहरुसँग छलफल गरेका छन् ।

भरतपुरलाई रूकुम-रोल्पा बनाउन खोजेको ?

खाँण आएपछि जिल्ला सभापति राजेश्वर खनालले केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र पूर्वसभापति जीतनारायण श्रेष्ठलाई खबर गरे । भेटमा खाँणले विवाद छिटो समाधान गर्न आग्रह गरेका थिए ।

नेताहरुले भने भरतपुरको मेयर माओवादीलाई दिने निर्णय आम कार्यकर्ताको भावनाभन्दा बाहिर भएकाले असहज अवस्था आएको बताएका छन् ।

केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गृहमन्त्री खाँणलाई भरतपुरलाई रुकुम रोल्पा बनाउन खोजेको भनेर प्रश्न गरे । ‘भरतपुरको कांग्रेसले लिनुपर्छ, माओवादीलाई दिनहुन्न भनेर हामीले समयमै भनेको होइन ? किन दिनुभो ?,’ केन्द्रीय सदस्य गुरूङले खाँणलाई प्रश्न गरेका छन् । खाँणले पार्टीको निर्णयअनुसार नै गठबन्धन गरिएको भन्दै सम्झाउन खोजेका थिए ।

तर केन्द्रीय सदस्य गुरूङले भनेका छन्, ‘हामीले निम्त्याएको समस्या होइन, तपाईंहरुकै कारण आएको हो, तपाई मिलाएर जानुस् ।’ आफूहरुले विद्रोहलाई बल दिएको भन्ने नेतृत्वको बुझाइ गलत भएको भन्दै उनले सोच बदल्न आग्रह गरे ।

पूर्व सभापति श्रेष्ठले पनि आम कार्यकर्ताको भावना नेतृत्वले नबुझेको गुनासो गरे । ‘अघिल्लोपटक पनि सहयोग गरियो । यसपटक हामीलाई सहयोग गर्नुस् भनेको हो,’ उनले खाँणलाई प्रश्न गरे, ‘सधैं माओवादीलाई बोक्दा जिल्लामा कांग्रेस कसरी बलियो हुन्छ ?’

खाँणसँग भएको भेटमा केन्द्रीय सदस्य दिनेश कोइराला भने सहभागी भएनन् । कोइरालालाई जिल्ला सभापति खनालले फोन गरेका थिए, तर पारिवारिक काममा ब्यस्त रहेको भन्दै नआएको एक नेताले जानकारी दिएका छन् ।

पौडेललाई भेट्दै खाँण

गृहमन्त्री खाँण मेयरमा बागी उम्मेदवारी दिएका पूर्वसांसद पौडेललाई भेट्न उनकै निवासमा जाने तयारी छ । पौडेलले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । साथै उनी उम्मेदवारी फिर्ता नलिने अडानमा छन् । भन्छन्, ‘कांग्रेस बचाउन उम्मेदवारी दिएको हो, किन फिर्ता लिनू ।’

त्यसअघि पौडेललाई भेट्न जिल्ला सभापति राजेश्वर खनालसहितका नेताहरु मंगलबार साँझ उनको निवासमा गएको थियो । तर पौडेलले कांग्रेस बचाउने अभियान छाडेर किन माओवादीलाई बोक्नुभयो भनेर उल्टै प्रश्न गरेको छन् ।

कांग्रेस चितवनमा विभाजन

भरतपुर महानगरको मेयर कुनै हालतमा माओवादी केन्द्रलाई छाड्न नहुनेमा कांग्रेस, चितवन एकढिक्का जस्तै थियो । तर अहिले भरतपुरको मेयर माओवादीलाई छाडिएको मात्र छैन, अरु पालिकामा पनि तालमेल गरिएको छ ।

तर कांग्रेस, चितवनका नेता कार्यकर्ता विभाजित भएका छन् । तालमेलप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका नेता कार्यकर्ताले विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खैरहनी नगर सचिव टीकादत्त इटनीले पदबाट राजीनामा दिएका छन् । इच्छाकामनामा त्यस्तै समस्या छ । राप्ती नगरपालिकामा गठबन्धनसँगै टिकट वितरणलाई लिएर असन्तुष्टि बढेको छ । राप्ती–३ वडा समितिका वडा सभापतिकै नेतृत्वमा नेता कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन्

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?