विश्वमा सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा महिलाहरूको न्यून उपस्थिति भैरहेको तीतो यथार्थलाई हामीले स्वीकार्नैपर्छ। यस क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेख्य रूपमा वृद्धि गर्न विश्वव्यापी पहल भइरहेको छ।
यसकै नयाँ पहलकदमीका रूपमा सन् २०१०, २०१४ तथा २०१८ मा सम्पन्न आईटीयू प्लेनिपोटेन्सियरी कन्फरेन्सहरूमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन- आईटीयू) का सदस्य राष्ट्रहरूले केही प्रतिबद्धता गरे।
त्यसैको फलस्वरूप सन् २०११ देखि विश्वव्यापी रूपमा हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार अन्तर्राष्ट्रिय सूचना तथा सञ्चारप्रविधिमा महिला दिवस (इन्टरनेशनल गर्ल्स इन आईसीटी डे) मनाउन थालिएको हो। सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा महिलाहरूलाई जागरुक बनाउन विभिन्न कार्यक्रमका साथ अभियानको रूपमा सञ्चालन गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सबै सदस्य राष्ट्रहरूलाई आह्वान गर्दै आएको छ।
नेपालमा सन् २०१२ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस नेपाल दूरसञ्चार प्राधिकरणले ओमिन्स एण्ड गर्ल्स इन आईसीटीका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भयो। लगत्तै औपचारिक रूपमा सन् २०१३ देखि इन्टरनेशनल गर्ल्स इन आईसीटी डे मनाउन थालिएको हो।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले गरेको आह्वान अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसको परिप्रेक्ष्यमा विभिन्न संघ संस्थासँग सहकार्य गरी सन् २०१३ देखि २०१९ सम्म कार्यशाला गोष्ठी, सेमिनार, तालिम, प्रकाशन, छात्राहरू बीच प्रतियोगिता, ह्याकाथोन, प्रभातफेरी, सूचना तथा सञ्चारप्रविधिमा उत्कृष्ट योगदान पुर्याउने महिलाहरूको सम्मान, सूचना तथा सञ्चारप्रविधिमा महिलाहरूलाई प्रेरित गर्न उत्कृष्ट क्षमता प्रदान गर्ने संघसंस्थाहरूको सम्मान आदि जस्ता कार्यक्रमहरू सञ्चालन गरी यसलाई मनाइन्छ। साथै, महिलाहरूलाई यस क्षेत्रमा सक्रिय सहभागिताको लागि अभियान सञ्चालन गरिंदै आइएको छ।
कोभिड-१९ ले विश्वव्यापी असर गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आफ्ना सदस्य राष्ट्रहरूलाई सन् २०२० देखि भर्चुअल रूपमा समेत गर्ल्स इन आईसीटी सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको थियो। प्राधिकरणले सञ्चालन गरेका गर्ल्स इन आईसीटी डे सम्बन्धी कार्यक्रमहरूको अनुसरण गर्दै विभिन्न संघसंस्थाले भौतिक तथा भर्चुअल कार्यक्रमहरू नेपालका विभिन्न स्थानमा सञ्चालन भैरहेका छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सुरुवाती अवस्थामा ‘एक्सपाण्ड होरिजन्स, चेञ्ज एटिच्यूड्स’ भन्ने नाराका साथ सूचना तथा सञ्चारप्रविधिमा महिलाहरूको सहभागिताको लागि कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गर्दै आएको छ।
यसै सन्दर्भमा यस दिवसमा मात्रै अभियानको रूपमा सीमित नभई हरेक दिन नै यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि सन् २०१८ को इन्टरनेशनल गर्ल्स इन आईसीटी डेदेखि “एभ्री डे इज गर्ल्स इन आईसीटी डे” भन्ने नाराका साथ विश्वव्यापी अभियान सञ्चालन हुँदै आएको छ।
महिला तथा किशोरीहरू इन्टरनेटको जोखिमको कारण इन्टरनेटको पहुँचमा कमी भैरहेको महसुस भई यस वर्ष अन्तर्राष्ट्रिय दूरसञ्चार संघले सुरक्षित इन्टरनेट पहुँचमा महिलाको लागि “एक्सेस एण्ड सेफ्टी” को अवधारणामा कार्यक्रमहरू सञ्चालन गर्न आह्वान भई विश्वव्यापी कार्यक्रमहरू सञ्चालन गर्ने काम भैरहेको छ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सन् २०२१ को विवरण अनुसार विश्वमा ५७ प्रतिशत महिला मात्रै इन्टरनेटको पहुँचमा छन् भने विज्ञान तथा प्रविधिको क्षेत्रमा ३० प्रतिशत मात्रै महिला छन्। महिलाहरूलाई इन्टरनेटको पहुँचमा पुर्याउन तथा सुरक्षित इन्टरनेटको अनुभूति गराउन सके मात्रै डिजिटल क्षमता अभिवृद्धि गरी विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिंग विषयमा आधारित सूचना तथा सञ्चारप्रविधिमैत्री पेशामा महिलाहरूको उल्लेख्य वृद्धि गर्न सकिनेछ।
सूचना तथा सञ्चारप्रविधिको क्षेत्र हरेक अन्य क्षेत्रको सहजीकरणमा हातेमालो गर्दै अघि बढ्न सकिने क्षेत्र हो। महिलालाई यस क्षेत्रमा सक्रिय सहभागिता गराएमा संयुक्त राष्ट्रसंघले अगाडि सारेको लैंगिक समानता, गरिबी निवारण तथा भोकमरी नियन्त्रण जस्ता दिगो विकासका लक्ष्य पूर्तिमा सहयोग पुग्ने देखिन्छ।
ब्रोडव्याण्ड नीति, २०७१ को बुँदा ११.३.११ मा लैंगिक विभेद मुक्त सूचना तथा सञ्चारप्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख छ। त्यस्तै, सूचना तथा सञ्चारप्रविधि नीति, २०७२ मा लैंगिक असमानता कम गर्नुका साथै लैंगिक हिंसा रोकथाम गर्ने र लैंगिक हिंसा सम्बन्धी उजुरी प्रक्रिया सहज बनाउन तथा त्यसप्रकारका घटनाहरू सम्बोधनमा समन्वय प्रवर्धन गर्न सूचना तथा सञ्चारप्रविधिको प्रयोगलाई बढाइने उल्लेख छ। साथै, ग्रामीण क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरू मार्फत युवा तथा महिलालाई सूचना तथा सञ्चारप्रविधि सम्बन्धी तालिम सञ्चालन गरिने भनिएको छ।
त्यसमा, सूचना तथा सञ्चारप्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरूलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायत प्रक्रियाहरूमा सहभागी गराइने र सुरुवाती (स्टार्ट अफ) लगायत इन्क्युबेटर परियोजनाहरूको प्रवर्धन मार्फत युवा तथा महिलाहरूमा सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा उद्यमशीलता विकास गर्न नीतिगत व्यवस्था गरिने उल्लेख छ।
यसैबमोजिम सरकारको ठोस नीति तथा कार्यक्रममा उपरोक्त व्यवस्था झल्किने सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्न जरुरी देखिएको छ। यसो भएमा मात्रै नेपाल सरकारले अवलम्बन गरेको डिजिटल नेपाल निर्माणमा महिलाहरूले समान सहभागिता जनाई पूर्ण योगदान पुर्याउन सक्ने अवस्था रहन्छ। सूचना तथा सञ्चारप्रविधिमा महिलाहरूको उपस्थितिलाई मापन गर्न सरकारी तथ्यांक निर्माण गर्नु पर्ने आवश्यकता समेत भैसकेको छ।
प्रतिक्रिया 4